मुम्बई । बलिउडमा सिनेमामा कार्यरत २५ हजार सिने प्राविधिकलाई एक महिनाको खाना खुवाउन जिम्मा लिएका अभिनेता शाहरुख खानले अन्य सामाजिक कार्य पनि गरिरहेका छन् । यसै क्रममा यी अभिनेताले अहिले सडकमा आश्रित कुकुर, गाईलगायतका जनावरलाई जोगाउन आह्वान गरेका छन् ।
कोरोना संक्रमणका कारण सडकमा आश्रित जनावर भोकै छट्पटिन थालेपछि अभिनेता शाहरुखले यस्ता जनावरलाई जोगाउन आह्वान गरेका छन् । उनले ट्विट गर्दै सडकमा आश्रित जनावरलाई यस्तो बेलामा जोगाउन आह्वान गरेका हुन् ।
सडकमा आश्रित कुकुरलगायतका जनावरलाई खुवाउन चाहनेलाई आफूले आर्थिक सहयोग गर्ने यी अभिनेताले घोषणा गरेका छन् । सडकमा भोकले कुकुर रोएको भिडियो समाचारमा आएपछि उनले यस्तो घोषणा गरेका हुन् । चाँडोभन्दा चाँडो यो अभियानमा जुट्न उनको आग्रह छ । त्यसका लागि आवश्यक आर्थिक सहयोग आफूले गर्ने अभिनेता शाहरुख खानले बताएका छन् ।
यी अभिनेताले यो क्रममा जनावर मानिसको सम्पर्कबाट टाढा रहँदा अझ धेरै बिरामी भएकाले उनलाई रेस्क्यु गरेर उपचार गर्न पनि आह्वान गरेका छन् ।






