काठमाडौं । हास्य अभिनेता सुलेमान शँकर (इकु)लाई प्रहरीले पक्राउ गरेको छ । विभिन्न गौर कलाकारलाई कलाकार भिसामा युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुढानीलकण्ठबाट उनलाई पक्राउ गरेको जनाएको छ ।
सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीका अनुसार इकुले एसएमएस फिल्म प्रालिको ब्यानरबाट कार्यक्रम गर्दै विभिन्न व्यक्तिलाई कलाकारको रुपमा बिदेश लैजाने तयारी गरिरहेका थिए । गैर कालाकारलाई कालाकार बनाएर क्यानडा, अष्ट्रेलिया तथा युरोपका अन्य मुलुकमा लैजान्छु भनेर इकुले उनीहरुसँग ठगी गरेको पनि प्रहरीले जनाएको छ ।
पीडित व्यक्तिहरुलाई नक्कली कागजात बनाएर इकुले उनीहरुसँग प्रतिव्यक्ति १५ देखि २० लाखसम्म लिएको पनि प्रहरीले जनाएको छ । उनलाई अब हिरासतमा राखेर ठगी प्रकरणमा अनुसन्धान गरिने छ ।
चलचित्र इकु र इकुु २ बनाएका यी कलाकारले केही वर्षयताबाट मुलपानीमा बालआश्रम पनि चलाएका थिए । अनाथ बालबालिकाको उनले राम्ररी स्याहार सुसार नगरेको भन्दै इकुको बालआश्रम सरकारले गत वर्ष बन्द गरेको थियो । त्यसपछि उनी चलचित्र, टेली चलचित्रमा व्यस्त रहँदै आएका थिए ।