प्रजातान्त्रिक परिपाटीबाहिर छ लोसपा

मधेसमा सामन्तवादी सोच र चिन्तन निकै बढी छ । एकले अर्कालाई लोकप्रिय भएको हेर्न पनि सक्दैनन् । लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेशमा बहुमत सांसदले जितेन्द्र सोनललाई संसदीय दलको नेता छानेपछि लोसपामा विवाद चुलिएको छ ।

यस निर्वाचनलाई लोसपाकै अध्यक्ष महन्थ ठाकुरले पार्टी विधानविपरीत दलका नेता छानिएको भनेपछि मधेस प्रदेशका लोसपाका सांसद आश्चर्यमा परेका छन् । किनकि, उनीहरूले भोट हालेर सोनललाई चुनेका थिए ।

तर, उल्टै पार्टी अध्यक्ष ठाकुरले ‘सोनललाई किन कारबाही नगर्ने’ भनेर विधानविपरीतको हर्कत भन्दै स्पष्टीकरण सोधेका छन् । यो मधेस प्रदेशमा आठौं आश्चर्य हो । तर पनि यस्ता विषय मधेस प्रदेशमा नियमित आइरहेका हुन्छन् भने पार्टी पनि फुटिरहेका हुन्छन् ।

१ सय ७ सदस्यीय मधेस प्रदेशसभाको संसदीय दलमा लोसपाका ९ सांसद छन् । संसदीय दलका नेता अभिराम शर्मा अहिले निलम्बनमा परेका कारण संसदीय दलको नेता खाली हुन गएको हो । निर्वाचनमा लोसपाका संसदीय दल उपनेता रहेका उपेन्द्र महतो उपस्थित थिएनन् ।

सोनललाई दलको नेता चयन भएको भनी प्रदेशसभा सचिवालय र सभामुखलाई जानकारी गराएपछि मात्र उपनेता महतो र पार्टी अध्यक्ष ठाकुर उनका विरुद्धमा उत्रिएका छन् ।

लोसपामा प्रजातन्त्र र प्रजातान्त्रिक परिपाटी छैन । अरू राजनीतिक दलमा झैं यसमा पनि टिके प्रथा कायम छ । दलका नेता राजाजस्ता हुन्छन् । उनीहरूको आशीर्वादले अरूको पुर्पुरोमा आलु फल्छ । मत, जनमत र अभिमत केहीको पनि कदर हुँदैन ।

पार्टी यसरी नै अघि बढ्ने हो भने अबका दिनमा यी पार्टीको दशा घर्किदै जाने र प्रजातान्त्रिक नयाँ पुस्ता आउने वातावरण सिर्जना गर्नेछ । त्यसका लागि नयाँ पुस्ता तयार पनि छ । यो एक देशव्यापी अभियान बनेर आउने देखिन्छ ।

पार्टी र राजनीतिक शक्ति कसैको पेवा होइन । यो कसैको सेवा गरेबापत मेवा पनि होइन । यो क्षमता र दक्षताको कुरा हो । पार्टीमा रहेका दक्ष मानिस अघि आउन दिनुपर्छ । यसले मात्र पार्टीलाई गति दिनसक्छ । तर, वृद्ध नेताहरू यस कुरालाई मान्ने पक्षमा छैनन् । उनीहरू सामन्ती विरासतको सहारामा छन् । त्यसैको आड भरोसामा जिइरहेका र शासन गरिरहेका छन् ।
संस्कृतिदेवी झा, वीरगन्ज हाल भक्तपुर

तपाइको प्रतिक्रिया
(Visited 70 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सञ्जाल नियमन गर्न कानुन बनाउन माग