राजविराज । मागे जतिको चन्दा दिन नसक्दा चालक र सहचालक माथि युवाहरुको एक समूहबाट कुटपिट र लुटपाट भएको भन्दै सोमबार राजविराज–हनुमाननगर सडक खण्डमा माइक्रो बस चालकहरुले चक्का जाम गरेका छन् ।
दिउँसो २ बजे तिर राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र.१–००२–१ज.३८४२ नम्बरको माइक्रो बसलाई तोपा–मंसापुर खण्डमा रोकेर युवाहरुको एक समूहले कुटपिट र लुटपाट गरेको माइक्रो बस चालकहरुले बताएका छन् ।
विश्वकर्मा पुजाको नाममा जबरजस्ती चन्दा वसुल गरिरहेका स्थानीय युवाहरुको एक समूहले मागे जतिको चन्दा नदिदा चालक राम कुमार यादव र सहचालक मो. फिरोजलाई नियन्त्रणमा लिई कुटपिट र उनीहरुका साथमा रहेको नगद रकम समेत लुटपाट गरेको साइबाबा यातायात प्रा.लि. सप्तरीका अध्यक्ष भुपेन्द्र यादवले बताए । सो क्रममा उक्त समूहले चालकबाट गाडीको साँचो समेत खोसेर लगेको उनले बताए ।
जबरजस्ती चन्दा असुल गर्ने र कुटपिट तथा लुटपाट गर्नेहरुलाई पक्राउ गरी कडा कारवाही गर्न माग गर्दै चक्का जाम गरिएको उनको भनाई छ । उनले कुटपिट र लुटपाटमा तिलाठी कोइलाडी गाउँपालिकाका विरेन्द्र साह, नविन सिंह, शिवशंकर यादव लगायत आधा दर्जन व्यक्तिहरु सलंग्न रहेको भन्दै उनीहरु विरुद्ध प्रहरीमा उजुरी समेत दिइएको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले घटनामा सलंग्नहरुको खोजी कार्य भइरहेको जनाएका छन् । उनले दोषिहरुलाई अविलम्ब पक्राउ गरी कानून बमोजिम कारवाही गर्ने प्रहरी प्रतिवद्धता पछि आन्दोलित सवारी चालकहरुले दुई घण्टा पछि चक्का जाम खोलेको र आवागमन सुचारु भएको जानकारी समेत दिए ।