राष्ट्र बैंकले ३ किसिमका खाता रोक्का र फुकुवा गर्नसक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुनै पनि व्यक्ति वा संस्थाको बैंक खातालाई तीन किसिमले रोक्का गर्न सकिनेगरी पहिलोपटक विनियमावली तयार गरेको छ ।

खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली जारी

बैंक खाता रोक्का तथा फुकुवा गर्ने कार्यलाई व्यवस्थित बनाउन नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली २०८१ जारी गरेको हो ।

बैंक खाता रोक्का राख्न तथा रोक्का रहेका बैंक खाता फुकुवा गर्नेसम्बन्धी व्यवस्थालाई थप स्पष्ट, पारदर्शी र व्यवस्थित बनाउन नियमावली जारी गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

विनियमावलीनुसार कसुर गर्ने व्यक्तिको कसुर हेरी खाता तीन प्रकारले रोक्का हुन सक्नेछ । प्रचलित कानुनबमोजिम नेपाल सरकार वादी हुने फौजदारी कसुर गरेको व्यक्ति वा संस्थाको सम्पूर्ण खाता नै रोक्का गरिने विनियमावलीमा उल्लेख छ । यसैगरी, कसुरनुसार निश्चित खाता वा खातामा रहेको निश्चित रकम मात्र पनि रोक्का गर्न सकिने स्पष्ट पारिएको छ ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्कालाई सम्पूर्ण खाता रोक्का भनिने बताइएको छ ।

यसैगरी, निश्चित खाता रोक्का भन्नाले बैंक तथा वित्तीय संस्थामा खोलिएका निश्चित खाताबाट रकम झिक्न वा कुनै माध्यमले कोही कसैलाई भुक्तानी दिन नसक्नेगरी गरिएको खाता रोक्का भनेर बुझाइने स्पष्ट पारेको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको रकममध्ये निश्चित रकम मात्र रोक्का रहने र खातावालाले बाँकी रकम यथावत रूपमा प्रयोग गर्न सक्नेगरी गरिएको खाता रोक्का आंशिक खाता रोक्का हो ।

विनियमावलीका अनुसार ग्राहकको सम्पूर्ण खाता रोक्का गर्दा इजाजतप्राप्त संस्थाहरूमा खोलिएका जुनसुकै खाताबाट रकम झिक्न वा कारोबार गर्न नपाइने व्यवस्था छ भने निश्चित खाता रोक्कामा कुनै निश्चित बैंक वा वित्तीय संस्थामा रहेको खाताबाट कारोबार गर्न नपाउने व्यवस्था गरिएको छ ।

यस्तै, आंशिक खाता रोक्काअन्तर्गत भने ग्राहकको खातामा रहेको निश्चित रकम मात्रै रोक्का गरेर राख्न मिल्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले खाता फुकुवा गर्नका लागि पनि राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । तर, अदालतबाट फुकुवा गर्नुपर्ने आदेश आएको खण्डमा भने राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने व्यवस्था गरिएको छ ।

कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै व्यक्ति, फर्म, कम्पनी तथा संस्थाको खाता विवरण माग गर्नुपरेमा राष्ट्र बैंकमार्फत माग गर्नुपर्ने पनि विनियमावलीमा उल्लेख छ ।

विनियमावलीनुसार खाता रोक्का वा फुकुवा गर्ने अधिकार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागलाई हुने उल्लेख गरिएको छ ।

त्यस्तै, विभागका कार्यकारी निर्देशकले तोकेको अधिकारप्राप्त अधिकृत स्तरका कर्मचारीले सोसम्बन्धी निर्देशन दिनसक्ने व्यवस्था गरिएको छ ।

खाता रोक्का गर्न खातावालाको नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारले जारी गरेको स्पष्ट परिचय खुल्ने आधिकारिक विवरण तथा तीनपुस्ते विवरण नेपाल राष्ट्र बैंकमा पेस गर्नुपर्नेछ ।

तर, कानुनी व्यक्तिका हकमा भने खाता रोक्का गर्नुको स्पष्ट कारण, फर्म, कम्पनी तथा संस्थाको खाता रोक्का गर्नुपर्दा खातावालाको आधिकारिक नाम, ठेगाना, दर्ता नम्बर र स्थायी लेखा नम्बर, कुनै निश्चित खाता मात्र रोक्का राख्नुपर्ने अवस्थामा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर र खाता रहेको बैंकको विवरण राष्ट्र बैंकमा लिखित रूपमा पेस गर्नुपर्नेछ ।

आंशिक खाता रोक्का राख्नुपर्ने भएमा रोक्का राख्नुपर्ने खाताको खाता नम्बर, रोक्का राख्नुपर्ने रकम (अक्षर र अंकमा) र खाता रहेको बैंकको विवरण पेस गर्नुपर्नेछ । खाता रोक्काको पत्र इमेलमार्फत समेत पठाउन सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यता, फुकुवाका लागि भने खाता रोक्का राख्न अनुरोध गर्ने निकायको अधिकारप्राप्त अधिकारीले आंशिक रोक्का रहेको खाता फुकुवा, निश्चित रोक्का रहेको खाता फुकुवा वा सम्पूर्ण रोक्का रहेको खाता फुकुवा गर्न अनुरोध गरेबमोजिम रोक्का रहेका खाता फुकुवा गर्न राष्ट्र बैंकले इजाजतपत्रप्राप्त संस्थालाई निर्देशन दिनेछ ।

इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवं खाता फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशनबमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्ने विनियमावलीमा उल्लेख छ ।

इजाजतपत्रप्राप्त संस्थाले सम्पूर्ण खाता रोक्का, निश्चित खाता रोक्का, आंशिक खाता रोक्का एवं खाता फुकुवा गर्न राष्ट्र बैंकले दिएको निर्देशनबमोजिम अविलम्ब खाता रोक्का वा फुकुवा गरी खाता रोक्का वा फुकुवा भएको जानकारी तत्काल राष्ट्र बैंक र सम्बन्धित अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीलाई गराउनुपर्ने बताइएको छ ।

भुक्तानी सेवाप्रदायक संस्थाको सेटलमेन्ट प्रयोजनका लागि इजाजतपत्रप्राप्त संस्थामा रहेको खाता रोक्का नहुने विनियमावलीले स्पष्ट पारेको छ । तर, अल्पकालीन वा दीर्घकालीन रूपमा संस्था सञ्चालनमा नरही बन्द हुने अवस्था आएमा वा राष्ट्र बैंकले कारबाही गरी खाता रोक्का गर्नुपर्ने अवस्था देखिएमा वा अनुसन्धान गर्ने अधिकारीले कारणसहित राष्ट्र बैंकसमक्ष अनुरोध गरेको अवस्थामा सोको औचित्य विश्लेषण गरी खाता रोक्का गर्न भने बाधा नहुने बताइएको छ ।

कुनै कर्मचारीसँग सम्बन्धित विषयका कारण सम्बन्धित संस्थाको सम्पूर्ण खाता रोक्का गर्नेगरी अनुरोध गर्नुपर्ने भएमा खाता रोक्का गर्नुअघि निश्चित वा आंशिक खाता रोक्का गर्न मिल्ने वा नमिल्ने यकिन गरी सम्पूर्ण खाता रोक्का गर्दा संस्थाको व्यावसायिक निरन्तरतामा पर्ने प्रभाव, अन्य कर्मचारी तथा सरोकारवालालाई पर्ने प्रभाव र सम्बन्धित संस्थाको सो कर्मचारीप्रतिको दायित्व रकमसमेत खुलाई विवरण पेस गर्नुपर्नेछ ।

इजाजतपत्रप्राप्त संस्थामा खाता रोक्का रहेका ग्राहकले आफ्नो खाता रोक्का रहेको कारण सम्बन्धमा सूचना माग गरेमा इजाजतपत्रप्राप्त संस्थाले त्यस्तो सूचना उपलब्ध गराउनुपर्ने बताइएको छ ।

कुनै कसुरको अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारीले कुनै ग्राहकको इजाजतपत्रप्राप्त संस्थामा रहेको सेफ डिपोजिट भल्ट÷लकर रोक्का राख्नुपर्ने भएमा राष्ट्र बैंकसमक्ष अनुरोध गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
तीन तन्नेरी, जसलाई चुनाब जित्न दलको सहारा लिनु परेन