राजेन्द्र महतोले घोषणा गरे नयाँ दल

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) परित्याग गरी नयाँ अभियान गरिरहेका राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महतोले ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक दलको घोषणा गरेका हुन् । उनले सोही नामबाट अभियान सञ्चालन गर्दै आएका थिए ।

राजधानीमा मंगलबार आयोजित कार्यक्रमबीच उनले नयाँ दलको घोषणा गरेका हुन् । राष्ट्रिय मुक्ति क्रान्तिको मंगलबारदेखि बानेश्वरमा राष्ट्रिय समितिको बैठक सुरु भएको छ । बैठक तीन दिनसम्म चल्ने र विभिन्न विषयमा छलफल हुने एजेन्डा रहेको अभियानका नेता केशव झाले जनाएका छन् । बैठकमार्फत दल घोषणा गर्नुका साथै अध्यक्षमा महतो रहने समेत घोषणा गरिएको छ । केन्द्रीय पदाधिकारी र सदस्यहरूको नामावली घोषणा गरिएको छैन ।

पार्टी घोषणा गर्दै महतोले मुलुकको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट मुलुकलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय, धर्म, जात–जाति, क्षेत्र, लिंगका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, समृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाका लागि हिमाल, पहाड, तराई मधेसका जनता अब सँगै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको जनाएका छन् ।

नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइने पनि जानकारी दिएका छन् । लोसपा परित्याग गरेका महतोले गत १४ फागुनदेखि अभियान सञ्चालन गर्दै पूर्वदेखि पश्चिमसम्म पुगेर विभिन्न विषयमा छलफल गर्दै रायसल्लाह संकलन गरेका थिए ।

‘विगत ६ महिनादेखि राष्ट्रिय मुक्ति क्रान्तिले नेपाली इतिहासमा पहिलोपटक एकल राष्ट्रिय राज्य नेपाललाई बहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्ने लक्ष्य औपचारिकरूपमा नै प्राप्तिका लागि अग्रसर रहेको छ,’ महतोले राजनीतिक दलको घोषणा गर्दै भनेका छन् ।

स्वदेशवाद, बहुलराष्ट्रवाद, सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्तमार्फत नेपाललाई बहुलराष्ट्रिय राज्यका रूपमा रुपान्तरणका लागि राष्ट्रिय मुक्ति क्रान्तिले अभियानमा निरन्तरता, संघर्षमा जोड र विद्रोहको तयारी गर्ने उनले जनाएका छन् ।

‘अभियान–संघर्ष–विद्रोहको त्रियाङ्गी कार्यदिशाले नेपाली जीवन जगतको मुख्य तीन सामाजिक–सांस्कृतिक, राजनीतिक र आर्थिक पक्षहरूमा अन्तर्निहित ज्ञान, समाज व्यवस्था र अर्थतन्त्रको पुनर्मूल्यांकन, पुनर्संरचना र पुनस्र्थापना गर्दै मुलुकलाई छद्मभेषी आधुनिकीकरणमार्फत विस्तार गरिएको विध्वंसकारी पश्चिमीकरण र औपनिवेशिकताको शक्ति संरचना ध्वंस गर्दै राज्यको नयाँ स्वदेशीकरणमार्फत वास्तविक ‘राज्य एकीकरण’ सम्पन्न गराउँदै शान्ति र समृद्धिको यात्राको नेतृत्व गर्ने लक्ष्यका साथ कार्य गर्दै आइरहेको छ,’ राजनीतिक दल घोषणा कार्यक्रममा भनिएको छ ।

को–को छन् राजेन्द्र महतोसँग ?
‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ नामक दलसँगै अध्यक्षमा राजेन्द्र महतो रहने घोषणा गरिएको छ । तर, पदाधिकारी र सदस्यहरूमा को–को हुने गोप्य राखिएको छ ।

नेपाल सद्भावना पार्टीका संस्थापक एवं मधेसवादका संरक्षक नेता गजेन्द्रनारायण सिंहको विचारबाट प्रभावित भएर राजनीतिमा लागेका महतो एक चिरपरिचत नेता हुन् । पटक–पटक मन्त्रीका साथै थोरै समयका लागि उपप्रधानमन्त्रीसमेत भएका महतोलाई पुराना नेताहरूभन्दा नयाँ नेताले साथ दिएका छन् ।

सद्भावना पार्टीका अध्यक्ष हँुदै राष्ट्रिय जनता पार्टी (राजपा), जनता समाजवादी पार्टी (जसपा) हुँदै पछिल्लो समय उनी लोसपाको वरिष्ठ नेता थिए । तर, लोसपा अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीप्रति विरोध जनाउँदै उनले लोसपा परित्याग गरेर नयाँ अभियानमा जुटेका थिए ।

अहिले थोरै पुराना, बढी नयाँ युवाहरूलाई समेटेर नयाँ दलको घोषणा गरेका छन् । कतिपय उनका विश्वास पात्रहरूले उनको साथ छोड्दै गइरहेका बेला केही आशलाग्दा नयाँ युवाहरू भने साथ दिँदै उनीसँग जोडिएका छन् ।

महतो एक्लै लोसपाबाट निस्केपछि उनको पार्टीमा को–को जोडिएलान् भन्ने चासोको विषय बनेको छ । लोसपाका नेताहरूले अहिले महतोलाई साथ दिइसकेका छैनन् । लोसपाको महामन्त्री रहेका केशव झाबाहेक उपल्लो तहका नेता लोसपाबाट निस्केका छैनन् । तर, फरक धारमा काम गरिरहेका अभियन्ता बाबुछिरिङ लामा र सुमन सायमीले भने साथ दिएका छन् ।

मधेसी, जनजाति र दलित समुदायलाई एकसाथ आन्दोलनमा जोड्ने महतोको रणनीति बनेपछि लामा र सायमी जोडिएका हुन् । महतोको राजनीतिक लाइनमा लामाले साथ दिएका छन् । राजनीतिक दस्तावेज तयार गर्नेमा लामा, झासहितका नेताहरू सक्रिय छन् ।

काठमाडौंका नेवार समुदायलाई एकीकृत गर्ने र महतोलाई नेवार समुदायमा प्रवेश गराउने भूमिका भने सायमीले खेलिरहेका छन् । बालेन शाहसँगै सायमीले काठमाडौं महानगरको नगरप्रमुखको निर्वाचनमा उमेदवारी थिए । बालेनसँग पराजित सायमी केही समय बालेनकै निकट भएर काम गरेका थिए । सायमी बालेनको विजय ¥यालीमा समेत सहभागी भएका थिए । तर, बालेनसँग दूरी बढेपछि सायमीले महतोलाई साथ दिँदै नयाँ पार्टी गठन गर्ने अभियानमा लागेका थिए ।

पूर्वमन्त्री राजलाल यादव, पूर्वराज्यमन्त्री ओमप्रकाश यादव गुल्जारी, पूर्वसंघीय सांसद तथा मधेस प्रदेशका पूर्वमन्त्री रामनरेश राय, पूर्वराज्यमन्त्री गोविन्द चौधरी, पूर्वसंघीय सांसदहरू ओमप्रकाश यादव, रामानन्द मण्डल, शैलकुमारी देवी, पूर्वप्रदेश सांसद गौरीनारायण साहसहितका नेताहरू अहिले महतोलाई साथ दिइरहेका छन् ।

यसैगरी, केशव झा, राजीव झा, कमला गुरुङ, सुमन सायमी, बुद्ध छिरिङ मोक्तान, सन्तोष मेहता, अनिल महासेठ, कौशल सिंह, जुनतारा पुनमगर, रवीन्द्र श्रेष्ठ, कृष्णा थापामगर, चूडामणि श्रेष्ठ, रामबहादुर बुढा मगर, कुवेर शाही, विद्या श्रेष्ठ, केवल राई, सीएन थारू, धनबहादुर कुसुन्डा, भीम रुम्बा, रविदत्त मिश्र, विजय अग्रहरी, प्रशान्त गुप्ता, प्रभा चौधरी, आशिष गुप्ता, रामकुमार चौधरी, फोनिराम थारू, प्रेमवती राना, चन्द्रप्रसाद राजवंशी, रमेश योङहाङ, विश्वनाथसिंह राजवंशी, रमण पाण्डेय, सञ्जय सिंह, सञ्जय चौधरी, राजु चौधरी, अनिल सिंह, गजेन्द्र मण्डल, दीपेन्द्र चौधरी, अनिल सिंह, रामकिशोर सिंह, नेजामुदिन समानी, रामबाबु साह कलवार, दीपक यादव, सत्यनारायण साहसहितका नेताहरूले महतोलाई साथ दिइरहेका छन् । यी नेतालाई राखेर केन्द्रीय कमिटी विस्तार गर्ने योजनामा महतो रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 265 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धार्मिक पर्यटन प्रर्वद्धनमा शक्तिपीठका सर्किट ‘कोशेढुंगा’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोहोरिदा जनमत पाएनन्, चार पालिका निर्वतमान अध्यक्षले