काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को पहिलो महिना अर्थात् साउन महिनामा मुलुकको अर्थतन्त्र बलियो देखिएको छ । सो महिनासम्ममा सरकारको चालू खाता ३० अर्ब ८९ करोड रुपैयाँ बचतमा देखिएको छ ।
चालू खाता र शोधनान्तर अधिक बचतमा
अघिल्लो वर्षको सोही अवधिमा चालू खाता १३ अर्ब ३७ करोड रुपैयाँले मात्र बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १० करोड १३ लाखले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा २३ करोड ४ लाखले बचतमा रहेको छ ।
अर्थशास्त्रीहरूका अनुसार चालू खाता केही न केही बचतमा रहनु राम्रो मानिने भए पनि नेपालजस्तो मुलुकका लागि यति धेरै बचत हुनु नराम्रो मानिन्छ । आयातमा देखिएको गिरावट र रेमिट्यान्समा भइरहेको लगातारको वृद्धिले गर्दा चालू खाता बचत अकासिएको हो । हाम्रोजस्तो अति कम विकसित मुलुक र आयातमा निर्भर अर्थतन्त्रका लागि यो निकै खराब परिस्थिति मानिने गरिन्छ । चालू खातामा भइरहेको यति धेरै वृद्धिले मुलुकमा ‘विकासका गतिविधि रोकिएका’ र ‘उपभोगमा कमी आएको’ संकेत गर्छ । अहिले सरकारलाई राजस्व कम भएर खर्च धान्नै धौधौ पर्नुको मुख्य कारण पनि यही हो ।
शोधनान्तर स्थिति पनि ४० अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ४३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ६३ लाख रुपैयाँले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३० करोड ५१ लाख रुपैयाँले बचतमा रहेको छ । नेपालबाट बाहिरिने मुद्राभन्दा भित्रिने रकम बढी हुँदा शोधनान्तर बचत हुने गर्छ ।
नेपाल राष्ट्र बैंकले साउनमा खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको जनाएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर २७ करोड २६ लाख रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (इक्विटी) २ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
यसबीचमा तरकारीलगायतका खाद्य सामग्रीको मूल्यवृद्धि भएको पाइए पनि समग्रमा साउनमा मूल्यवृद्धि ४ दशमलव १० प्रतिशत मात्र रहेको नेपाल राष्ट्र बैंकले स्पष्ट पारेको छ । एउटा वस्तुको मूल्यवृद्धि हुँदा अर्को वस्तुको मूल्यमा कमी देखिने वा मूल्य नबढ्दा समग्र तथ्यांकमा मूल्यवृद्धि नदेखिने अर्थ मन्त्रालयको भनाइ छ ।
गत आवको साउनमा यस्तो मूल्यवृद्धि औसत ७ दशमलव ५२ प्रतिशत थियो ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारीमा १९ दशमलव शून्य ७ प्रतिशत, दाल तथा गेडागुडीमा १२ दशमलव शून्य ९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थमा ९ दशमलव १५ प्रतिशत र दुग्ध पदार्थ तथा अन्डामा ३ दशमलव ६६ प्रतिशतले मूल्य बढेको छ । मरमसलाको मूल्य २ दशमलव ७५ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवाअन्तर्गत विविध वस्तु तथा सेवामा ७ दशमलव ९४ प्रतिशत, मदिराजन्य पेय पदार्थमा ५ दशमलव ३८ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलमा ४ दशमलव ५८ प्रतिशत र सुर्तीजन्य पदार्थमा ३ दशमलव ५२ प्रतिशतले मूल्य बढेको छ । बिमा तथा वित्तीय सेवामा मूल्य स्थिर छ ।
ग्रामीण क्षेत्रमा मूल्यवृद्धिदर ४ दशमलव २८ प्रतिशत र सहरी क्षेत्रमा ४ दशमलव दशमलव ३ प्रतिशत रहेको पनि नेपाल राष्ट्र बैंकको वित्तीय विवरणमा उल्लेख छ ।
यस्तै, कोशी प्रदेशमा ४ दशमलव ६१ प्रतिशत, मधेसमा ४ दशमलव १७, बाग्मतीमा ३ दशमलव ४९, गण्डकीमा ३ दशमलव ९०, लुम्बिनीमा ३ दशमलव ८१, कर्णालीमा ३ दशमलव ४६ र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव ६९ प्रतिशत महँगी बढेको छ ।
साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोडको रेमिट्यान्स भित्रिँदा विदेश पढ्न जाने विद्यार्थीले एक महिनामा १४ अर्ब ९२ करोड रुपैयाँ लगेका छन् । यद्यपि, नेपालमा पढ्न आउने विदेशी विद्यार्थीले पनि १६ करोड रुपैयाँ भिœयाएको नेपाल राष्ट्र बैंकको तथ्यांक रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार विदेशमा उपचारका लागि १ करोड ६६ लाख रुपैयाँ बाहिरिएको छ । अर्थतन्त्र बलियो हुँदै नेपालमा अहिले कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ र अमेरिकी डलरमा १५ अर्ब ५८ करोड रहेको छ ।
विदेशी विनिमय सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ ।
गत असार मसान्तमा कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर थियो । त्यसमा २ दशमलव ५ प्रतिशतले वृद्धि भई २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँबराबर पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत साउन मसान्तसम्म आइपुग्दा २ प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड रुपैयाँबराबर पुगेको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १८ खर्ब ८३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थामा रहेको विदेशी मुद्राको सञ्चिति २ खर्ब ८ अर्ब ७९ करोड रुपैयाँ छ ।
चालू आवको पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १६ दशमलव ७ महिनाको वस्तु आयात र १३ दशमलव ५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ ।
पहिलो महिनासम्मको अवधिमा नेपाल सरकारको खर्च ४० अर्ब २१ करोड र राजस्व परिचालन ९४ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । विस्तृत मुद्राप्रदाय शून्य दशमलव ७ प्रतिशतले घटेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४ दशमलव ८ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन शून्य दशमलव ७ प्रतिशतले घटेको छ र निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव ३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६ दशमलव २ प्रतिशत रहेको छ ।