काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन अन्तर्गत स्कूल काउन्सेलिङ्ग तथा वेलविङ्ग सपोर्ट सेन्टरले परामर्श सेवा सञ्चलनमा ल्याउने भएको छ । उक्त सेवाबाट विद्यालय, कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरु, अभिभावकहरु, शिक्षकहरु तथा कर्मचारीहरु लाभान्वित हुने सेन्टरका संयोजक डा श्रीकृष्ण वाग्ले बताए ।
परामर्श सेवाहरुमा विद्यालय परामर्श, व्यक्ति तथा समूहलाई मनोपरामर्श, अभिभावक परामर्श, पारिवारिक परामर्श, विद्यालय तथा कलेजलाई संकट प्रतिकार्य सेवा तथा विद्यार्थीहरुको मनोसामाजिक सवलिकरण सम्बन्धि पाठ्यक्रम निर्माण लगायत हुनेछन् ।
विद्यालय परामर्शकर्ता रोशनी सिलवालका अनुसार सेवाहरु भौतिक तथा अनलाईन गरि दुई माध्यमबाट उपलब्ध हुनेछन् । उक्त परामर्श सेवाहरू यस क्षेत्रका जानकार तथा लामो समयसम्म यसै क्षेत्रमा कार्यरत बिषय विज्ञहरूबाट प्रदान गरिने छ । विश्वविद्यालयका उपप्रध्यापक तथा मनोपरामर्शकर्ता माधव खतिवडाका अनुसार सेन्टरले यसबाहेक परामर्श सम्बन्धि छोटो कोर्षहरु पनि सञ्चालनमा ल्याएको छ ।
उक्त कोर्षहरु अनलाईन मार्फत आफू बसीरहेको स्थान तथा क्षेत्रबाट लिन सकिनेछ । अनलाईन कोर्षहरु सञ्चालनको उद्देश्य भौतिक उपस्थितिमा कक्षा लिन कठिनाई हुने तर आफ्नो सीप तथा दक्षता बढाउनका लागि तत्पर शिक्षक तथा शैक्षिक सरोकारवालाहरूको वृति विकास गर्नु रहेको छ ।