मकवानपुर । दुग्ध उत्पादक किसानहरुमा निराशा बढ्दै गएपछि स्थानीय सरकारले किसानलाई आफ्नो व्यवसायमा टिकीरहनको लागि पहल गरेको छ । दुध विक्री गरिएको भुक्तानी समयमा नपाएपछि आजित किसानहरु व्यवसायबाट पलायन हुने संभावनालाई मध्यनजर गर्दै मकवानपुरको मनहरी गाउँपालिकाले आफ्नो पालिका भित्रको किसानहरुको दुधको पैसा समयमै भुक्तानी गर्ने प्रवन्ध मिलाएको हो ।
पछिल्लो समय दुग्ध उत्पादक कृषकहरु आफुले बिक्री गरेको दुधको रकम समयमै नपाएर प्रताडित भएपछि प्रदेशको कृषि सहकारी मन्त्रालयदेखि विभिन्न निकाय गुहारीरहेका छन् । प्रदेश सरकारले दुध किसानहरुलाई भुक्तानी गर्नुपर्ने पर्याप्त बजेटको व्यवस्थापन गर्न नसक्दा गत आर्थिक वर्षमा भुक्तानी गर्न नसकेको बक्यौता अझै बाँकी नै छ ।
तर, मनहरी गाउँपालिकाले कृषकको दुधको भुक्तानीको सुनिश्चिततासँगै पालिकाले नै सहकारी मार्फत दूध खरिद गरी उद्योगसँग बजारीकरणको व्यवस्था मिलाएको छ । विगत २ महिनादेखी कार्यविधी निर्माण तथा उद्योग र सहकारीसँगको छलफलपछि गाउँपालिकाले हेटौडा डेरी इन्डष्ट्रिजसँग सम्झौता गरेको हो ।
सम्झौता अनुरुप गाउँपालिकाले कृषकहरुले उत्पादन गरेको दुध संकलन तथा बिक्री केन्द्र स्थापना गरी सहकारीसँग दुध खरीद गर्ने र उद्योगलाई बिक्री गर्ने सम्झौता गरेको छ । सझौता पत्रमा उल्लेख भए अनुसार इन्डष्ट्रिजले मनहरी गाउँपालिकाका किसान उत्पादन गरेको दुध संकलन तथा विक्री गर्ने छ । जसको पैसा १५–१५ दिनमा किसानलाई भुक्तानी गर्नुपर्ने छ ।
हाल मनहरी गाउँपालिकामा कृयाशिल ६ वटा सहकारीमार्फत दैनिक ७ हजार लिटर दूध संकलन भईरहेको छ । संकलित दूध मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ मार्फत विभिन्न उद्योगहरुमा विक्री वितरण भईरहेको छ । तर विविध कारणले कृषकहरुले ३ महिनासम्मको भुक्तानी पाएका छैनन् ।
पशुलाई आहारसँगै जिविकोपार्जनमा समेत सहयोग पुग्ने यो व्यवसाय समयमा दुधको भुक्तानी नपाएकै कारण धेरै कृषकहरु पलायन हुन थालेपछि गाउँपालिकाले नै यस्तो पहल कदमी उठाएको हो ।
यो सम्झौता मार्फत कृषकहरुले सहकारीमार्फत् विक्री गरेको दुधको रकम भुक्तानीको सुनिश्चितता गाउँपालिकाले नै गर्नेछ । आगामि कात्तिक १ गतेदेखि लागू हुनेछ । सम्झौता अनुरुप गाउँपालिकाले पाक्षिकरुपमा सहकारीमार्फत् कृषकलाई दुधको रकम भुक्तानी दिनेछ । यसरी समयमै रकम भुक्तानी पाउँदा कृषकहरुलाई राहत मिल्ने गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । “जसको जिविकोपार्जनको स्रोत नै दूध विक्री हो, उनीहरुलाई ३–४ महिनासम्म संघले भुक्तानी नदिँदा अप्ठ्यारो हुन्छ” अध्यक्ष कालाखेतिले भने । अब सम्झौता अनुरुप कात्तिकदेखि डेरीले दूध खरिद गर्छ र मंसिरदेखि पाक्षिक रुपमा गाउँपालिकाबाट भुक्तानी दिने व्यवस्था मिलाइएको छ ।
देशका ८०% भन्दा बढी कृषक पशुपालन र दुग्ध उत्पादन तथा बिक्रीवितरण व्यवसाय गर्दै आए पनि राज्यले व्यवस्थित गर्न नसक्दा अझैपनि कृषकहरु यो व्यवसायमा आत्मनिर्भर बन्न सकेका छैनन् । कृषकहरुले उत्पादन गरेको दुध कतिपय समयमा “मिल्क होलिडे” भन्दै विक्री वितरणमा समस्या आएको छ भने कहिले विक्री भएका दुधको पनि समयमै भुक्तानी नपाउँदा पशुलाई चाहिने आहार खरिद गर्न नसकी यो व्यवसायनै धरासायी बनेको छ ।
अघिल्लो आर्थिक वर्षमा ३ महिनासम्म रोकिएको भुक्तानी अहिले पनि बक्यौता रहेको छ । दशैंको लागि दुग्ध सहकारीहरुले असार महिनाको दुधको पैसा असोज १ गते वितरण गरेको किसान सिताकुमारी घिमिरेले बताइन् । “उबेला बाँकी रहेको पैसा कहिले सबै पाइने हो थाहा छैन, असारको पैसा असोज १ गते पायौ, अब साउन भदौको बाँकी नै छ, असोज पनि सकिन लाग्यो” घिमिरेले भनिन् ।
आंशिक अपाङ्गता भएका व्यक्तिलाई दशैँ खर्च
मनहरी गाउँपालिकाले आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई दशैँको अवसरमा पर्व सहायता रकम प्रदान गरेको छ । दशैंको पुर्व सन्ध्यामा गाउँपालिकाले सहायता रकम वितरण गरेको हो । पुर्ण अपङ्गता भएकालाई सरकारले मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिए पनि आंशिकको हकमा स्थानीय सरकारले अभिभावकत्व गर्दै रकम प्रदान गरिएको हो ।
गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतिका अनुसार आंशिक अपाङगता भएका तर कुनै पेशा÷व्यवसाय गर्न असक्षम भएकाहरुलाई चाडपर्वमा राहत मिलोस् भनेर रकम प्रदान गरिएको हो । “हामीले अघिल्लो साल पनि यो कार्यक्रम गरेका थियौ” कालाखेतीले भने ।
गाउँपालिकाले ७८ जना पहेलो कार्ड प्राप्त आंशिक अपाङ्गता भएका व्यक्तिहरुलाई प्रतिव्यक्ति ५ हजार ३ सयको दरले सहायता रकम वितरण गरेको हो । अघिल्लो वर्ष पनि ७८ जनालाई दशैं खर्च प्रदान गरिएको थियो । गाउँपालिकाको आन्तरीक राजस्व स्रोतबाट बजेट व्यवस्थापन गरिएको बताइएको छ ।