काठमाडौं । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण धमाधम सार्वजनिक गर्न थालेका छन् । नेप्सेमा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २० वटा बैंकले दोस्रो त्रैमासिक (पुससम्म)को वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण सार्वजनिक गर्ने अधिकांश बैंकको प्रगति सन्तोषजनक पाइएको छ । यस वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ५ वटा बैंकको चुक्ता पुँजी १० अर्बमाथि पुगिसकेको छ ।
वित्तीय विवरणअनुसार जनता बैंकलाई मर्जमा ल्याएको ग्लोबल आईएमइ बैंकको चुक्ता पुँजी सर्वाधिक १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजार रहेको छ ।
त्यस्तै, कृषि विकास बैंकको १४ अर्ब ९८ करोड ९१ लाख ७२ हजार, नेपाल इन्भेस्टमेन्ट बैंकको १४ अर्ब २२ करोड १० लाख ७३ हजार, एनएमबी बैंकको ११ अर्ब ५२ करोड ९७ लाख ४२ हजार र प्रभु बैंकको १० अर्ब ३१ करोड ५५ लाख ७ हजार रहेको बैंकले प्रकाशित गरेको विवरणमा उल्लेख छ । तर, अधिकांश बैंकले आफ्नो चुक्ता पुँजी बढाए पनि नेपाल बैंक, नेपाल बंलादेश बैंक, एसबीआई बैंक र हिमालयन बैंकको स्थिर रहेको छ ।
गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशन गर्ने २० बैंकमध्ये १५ को नाफा बढेको छ भने पाँचवटा बैंकको नाफा घटेको छ । यस अवधिमा सबैभन्दा धेरै नाफा कमाउने एनएमबी बैंक रहेको छ ।

यो बैंकको नाफ ४७ दशमलव ४० प्रतिशतले बढेको हो । ग्लोबल आईएमई बैंकको ३७ दशमलव ३ प्रतिशत र एनआईसी एसियाको ३३ दशमलव ३९ प्रतिशतले
बढेको छ । रकमका आधारमा एनआईसी एसिया बैंकले २ अर्ब १ करोड ६२ लाख २५ हजार रुपैयाँ पुगेको छ । यो नै सबैभन्दा धेरै नाफा कमाउने बैंक हो ।
यता १ अर्बभन्दा बढी नाफा कमाउनेमा कृषि, सिद्धार्थ, एभरेस्ट, सानिमा, नेपाल, प्रभु, प्राइम, हिमालयन, नेपाल इन्भेस्टमेन्ट, एनएमबी, ग्लोबल र एनसीसी बैंक रहेका छन् । दोस्रो त्रैमासको विवरण प्रकाशन गर्ने २० बैंकमध्ये ९ वटा बैंकको प्रतिसेयर आम्दानी घटेको छ । यीमध्ये सबैभन्दा बढी नेपाल इन्भेस्टमेन्ट बैंकको १० रुपैयाँ ५६ पैसाले घटेर २३ रुपैयाँ ४३ पैसा कायम भएको छ ।
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी बढाउनेमा हिमालयन बैंक रहेको छ । यसको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसाले बढेर ४० रुपैयाँ ९० पैसा पुगेको छ । दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्नेमध्ये ११ बैंकको प्रतिसेयर आम्दानी बढेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भने एनआईसी एसिया बैंकको रहेको छ । यसको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ६१ पैसा छ ।