कोरोना, अमेरिका र डब्लूएचओ

कोरोना महामारीको कारण विश्वमा व्याप्त त्रास कायमै छ । ठूलो मानवीय क्षति गराएको यस महामारीले विश्वको आर्थिक, सामाजिक तथा सबै खालका गतिविधि प्रभावित भएको छ । नेपाल पनि यसको चपेटामा परेको छ । नेपालमा १५ जना भारतीयसमेत हालसम्म कुल ३१ जनामा कोरोना संक्रमण देखिएकोमा चार जना उपचारपछि निको भई घर फर्किकसेका छन् ।

कोरोनाले हाम्रो सामाजिक जीवनमा प्रभाव पारेको छ । हाम्रो दैनिकी प्रभावित भएको छ । रोजीरोटी प्रभावित भएको छ र यसले धेरै कुरालाई प्रभाव पारेको छ । अर्थात् कोरोनाका बहुआयामिक असर परेका छन् । कारोना र यसको असर तत्काल अन्त्य हुने खालको छैन । उपचार पत्ता लागेकै अवस्थामा पनि यसको असर दीर्घकालसम्म रहनेछ । विश्वले कुनकुन क्षेत्रमा कतिकति गुमाउँला भन्नेदेखि अबको सम्भावनाजस्ता विषय पनि यतिखेर चर्चामा छन् हाम्रो सन्दर्भमा कोरोना महामारीको अर्थतन्त्रमा कस्तो असर पर्ला र कस्तो मूल्य चुकाउनुपर्ला सबैतिर चासोको विषय छ । तर, जे परे पनि सहनुको विकल्प नभएकाले सोहीअनुसार आवश्यक नीति, रणनीति’bout छलफल प्रारम्भ गर्नु आवश्यक छ ।

कोरोना महामारीसँग जुध्ने अर्थात् यसको रोकथाम र उपचारका सन्दर्भमा वर्तमान सरकार विभिन्न किसिमका विवादमा परेको छ । एकातिर सरकारको तयारी नै अपुरो रहेको, अर्कोतिर सत्ताबाहिरका कसैको सहयोग लिन नचाहेको र आवश्यक व्यवस्था पनि यथेष्ठ मात्रामा गर्न नसकेको अवस्थाले सरकारको आलोचना भएको हो । यसैगरी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको आशंका, लकडाउन घोषणा गरिए पनि आकस्मिक घोषणा र लम्बिदो अनिश्चयका कारण आफ्नो घरतर्फ जान लागेका श्रमजीवी मजदुरलाई आवश्यक उचित व्यवस्था गरी गन्तव्यसम्म पु¥याउनुको साटो अवरोध उत्पन्न गर्ने कार्य एवं राहतका नाममा भइरहेका खेलाँची आदिका कारण पनि सरकार आलोचित भएको छ । यद्यपि, सरकार आफूले सबै कुरा ठीक ढंगमा गरिरहेको दाबी गर्न चुकेको छैन ।

विश्वको सन्दर्भमा हेर्दा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भइरस ‘कोभिड–१९’ को प्रकोप जारी नै छ । हालसम्म लगभग २५ लाख संक्रमित भएका र झन्डै २ लाखको मृत्यु भएको छ भने झन्डै ६ लाख उपचारपछि स्वस्थ भएका छन् । संयुक्त राज्य अमेरिकामा यसले सबैभन्दा बढी असर गरेको छ । त्यहाँ भाइरस नियन्त्रण र रोकथाममा उचित कदम चाल्न नसकेको भन्दै राष्ट्रपति ट्रम्पको आलोचना भइरहेको छ । उनी अमेरिका छिटोभन्दा छिटो खुल्ने भनिरहेका छन् जबकि संक्रमित र मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ भने निको हुने निकै कम छन् । स्मरणीय छ, ट्रम्पले हालै मात्र कोरोना प्रभावित अमेरिकी किसानका लागि राहतको घोषणा गरेका छन् । अमेरिकामा बेरोजगारका लागि भने यसअघि नै राहतको प्याकेज ल्याइसकिएको थियो ।

कोरोनाले विश्व महामारीको रूप लिएपछि विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ठूलो आलोचनामा परेको छ

कोरोनाले विश्व महामारीको रूप लिएपछि विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ ठूलो आलोचनामा परेको छ । विश्वका कतिपय मुलुकले डब्लूएचओप्रति सअन्तुष्टि व्यक्त गरेका छन् । यस विश्व संस्थामाथि चीनको भनाइमा विश्वास गरी सम्पूर्ण विश्वलाई कोरोनाको संकटप्रति समयमा सही सन्देश दिन र सजग गराउन नसकेको आरोप छ । यसरी आक्रोशित हुनेमा प्रमुख छ अमेरिका । स्मरणीय छ, डब्लूएचओलाई आर्थिक सहयोग गर्ने मुलुकमा अमेरिका सबैभन्दा अगाडि छ । त्यसपछिका प्रमुख दातामा चीन जापान, जर्मनी, बेलायत, फ्रान्स इटाली, ब्राजिल आदि पर्छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प विश्व स्वास्थ्य संगठनप्रति सर्वाधिक आक्रोशित छन् । उनले संगठनलाई दिँदै आएको सहयोग रोक्ने घोषणा गरिसकेका छन् । ट्रम्पले डब्लूएचओमाथि चीनमा कोरोना भाइरस देखापरेपछि त्यसको संक्रमणसम्बन्धी विषयलाई उचित ढंगले व्यवस्थापन गर्न नसकेको र घटनाको ढाकछोप गरेको आरोप लगाउँदै आएका छन् । अमेरिका विश्व स्वास्थ्य संगठन चिनियाँ जालमा फसेका कारण नै कोरोना संक्रमण विश्वभर फैलिएको ठान्दछ । अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप छ कि कोरोनाविरुद्ध लड्न विश्व स्वस्थ्य संगठनले लापर्बाही गरेको छ । साथै, उनले यो पनि आरोप लगाएका छन् कि डब्लूएचओले चीनको पक्ष लिएको र बिनाकुनै सोधखोज वा परीक्षण उसको तथ्यांकमाथि विश्वास गरेको पनि उनको आरोप छ । यस सन्दर्भमा कोरोना भाइरस कसरी जन्मियो, फैलियो र त्यसपछि केके भए भन्ने कुरालाई निम्नानुसार स्मरण गर्न सकिन्छ ।

३१ डिसेम्बर २०१९ त्यो मिति हो, जुन दिन चीनले डब्लूएचओलाई वुहानमा असामान्य निमोनियाको पहिलो सूचना दिएको थियो । त्यसपछि जनवरी ४, २०२० मा डब्लूएचओले ट्वीटमार्फत वुहानमा असामान्य निमोनिया देखापरेको जानकारी गरायो जसमा कुनै मृत्युको उल्लेख थिएन । साथै, मानवबाट मानवमा संक्रमणको प्रमाण पनि थिएन । त्यसको भोलिपल्ट अर्थात ५ जनवरीका दिन डब्लूएचओले अज्ञात कारण उत्पन्न निमोनियापश्चात पहिलो निर्देशन जारी गर्दै कुल ४४ रोगी रहेका र तीमध्ये ११ को अवस्था गम्भीर भएको जानकारी गरायो भने बिरामीको मुख्य लक्षण ज्वरो तथा केही रोगीमा श्वासप्रश्वासमा समस्या रहेको बताइयो । सो जानकारीमा मानिसबाट मानिसमा संक्रमणको कुनै प्रमाण नभएको उल्लेख थियो ।

७ जनवरीका दिन चीनले ‘नोबेल कोरोना भाइरस’लाई निमायेनियाको कारणका रूपमा पहिचान ग¥यो । डब्लूएचओले सुरुमा यसलाई ‘२०१९ एन कोरोना भाइरस’ नाम दियो । छोटो समयमै नयाँ भाइरसको पहिचान गरेको भन्दै डब्लूएचओले चीनको प्रशंसा ग¥यो । यति मात्र होइन, कि उसले यो भाइरस मानवबीच सजिलै सर्न सक्दैन भन्ने कुरा पनि दोहो¥यायो । यसो भन्दै उसले चीनमाथि यात्रा वा व्यापार प्रतिबन्धको आवश्यकता नरहेको धारणा पनि सार्वजनिक ग¥यो ।

एजेन्सीअनुसार १३ जनवरीका दिन थाइल्यान्डमा संक्रमण देखिएपछि मात्र डब्लूएचओले यस भाइरसले मानवबाट मानवमा संक्रमण हुन सक्ने बताएको थियो । १४ जनवरीका दिन डब्लूएचओले ट्वीटमार्फत चीनमा मानवबाट मानवमा संक्रमणको कुनै स्पष्ट प्रमाण नभएको जानकारी गरायो तर पछि भने परिवारका सदस्यबीच संक्रमण हुन सक्ने स्पष्टीकरण दियो । डब्लूएचओले संक्रमणको तीन सातापछि २०–२१ जनवरीमा मात्र वुहानमा स्थलगत अवलोकनका लागि आफ्नो टोली खटायो । यसैबीच जनवरी २१ मा अमेरिकाको वासिङ्टनमा अमेरिकामै पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित व्यक्ति एक साताअघि चीनबाट फर्केका थिए । यसपछि मात्र मानिसलाई ठूलो भीडभाडबाट जोगिन सुझाव जारी गरियो ।

२२ जनवरीमा डब्लूएचओको टोलीले जारी गरेको वुहान प्रतिवेदनमा मानवबाट मानवमा संक्रमण भइरहेको उल्लेख गरियो । यस प्रतिवदेनमा सो टोलीले मानिसलाई भिडभाडबाट जोगिन, संक्रमित मानिसलाई अलग्गै अर्थात् आइसोलेसनमा राख्न तथा हात धुनुलाई यसबाट सुरक्षित हुने सर्वाधिक उपयुक्त उपायसमेत बताइयो । पहिलोपटक डब्लूएचओको ‘इमर्जेन्सी कमिटी’को बैठक बस्यो । डब्लूएचओका महानिर्देशकले चीनका स्वास्थ्यमन्त्रीसँग कुरा गर्द चीनले गरेका प्रयासको प्रशंसा गरे ।

२३ जनवरीका दिन इमर्जेन्सी कमिटीमा नै भतभेद देखियो । डब्लूएचओ प्रमुखले भाइरसलाई अन्तर्राष्ट्रिय चीनताको ‘हेल्थ इमर्जेन्सी’ घोषित नगर्ने निर्णय गरेको बताए । वुहानमा त्यसै दिन घोषित ‘लकडाउन’को उल्लेख गर्दै उनले यसको प्रभाव अल्पकालीन हुने बताए । उनले भाइरससँग जुध्न चीनको सहयोग र पारदर्शिताको प्रशंसा पनि गरे । यस समय विश्वमा ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको थियो भने १७ जनाको मृत्यु भएको थिए । भनिन्छ, उनले विमानस्थलमा स्क्रिनिङ गर्ने व्यवस्था गर्न सल्लाह दिए पनि यात्रा प्रतिबन्धको सिफारिस गर्न भने मानेनन् ।

२८–२९ जनवरीमा विश्व स्वास्थ्य संगठन प्रमुख र उच्च अधिकारीले चीनमा राष्ट्रपति सी जिनफिङसँग कुरा गरे । चीनको शीर्ष नेतृत्वको प्रतिबद्धता र पारदर्शिताको प्रशंसा गरे । २९ जनवरीका दिन फेरि पनि चीनको प्रशंसा गरे । ३० जनवरीका दिन डब्लूएचओ ‘इमर्जेन्सी कमिटी’को बैठक बस्यो र अन्तर्राष्ट्रिय सरोकारको चीनतायुक्त ‘जनस्वास्थ्य संकटकाल’ घोषणा ग¥यो । तर, यो घोषणा जर्मनी, जापान, भियतनाम तथा अमेरिकाले मानवबाट मानवमा संक्रमण हुन सक्ने कुराको पुष्टिपछि भयो । तर, अझै पनि अन्तर्राष्ट्रिय यात्रा या कारोबारमा नियन्त्रणको लागि कुनै सिफारिस गरिएन । ३१ जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आउने मानिसका लागि यात्रा प्रतिबन्धको घोषणा गरे । यसैदिन रोगलाई ‘कोभिड १९’ नाम दिइयो ।

महामारी मानव सभ्यतामाथिकै चुनौती भएकाले पारस्परिक रिस, राग, कलह, प्रतिशोध र द्वन्द्वभन्दा पनि सामूहिक रूपमा सामना गर्नुपर्छ

१० फेब्रुअरीमा चीनको सहयोगका लागि डब्लूएचओको टोली पुग्यो । ११ फेब्रुअरीमा डब्लूएचओले रोगलाई ‘कोभिड–१९’ नाम दियो । १२ फेब्रुअरीमा विश्व स्वस्थ्य संगठन प्रमुखले चीनमा नयाँ संक्रमणमा नियन्त्रण भएको तर यसलाई अत्यन्त होसियारीका साथ हेर्नु जरुरी भएको बताए । १६ देखि २४ फेब्रुअरीका बीच डब्लूएचओका विशेषज्ञ चीनमा काममा लागे र प्रभावित क्षेत्रको भ्रमण गरी संकटसँग जुध्ने तरिका’bout जानकारी गराए । यसैबीच, १७ फेब्रुअरीदेखि कोरोना भाइरस संक्रमितको तथ्यांक सार्वजनिक गर्न थालियो भने विश्व स्वास्थ्य संगठन प्रमुखले विश्वभरका नेतासँग भाइरसको रोकथामका लागि आह्वान गरे र रोगका लक्षण’bout जानकारी गराएका थिए ।

२८ फेब्रुअरीमा डब्लूएचओको टोलीले पहिलो प्रतिवदेन दियो । प्रतिवदेनका प्रमुख निष्कर्षमा यो रोग चमेराबाट आएको आशंका गरिएको तथा हावाबाट नभई संक्रमित मानिससँगको सम्पर्कबाट फैलिन सक्ने उल्लेख थियो । यस रोगको सामान्य लक्षणमा ज्वरो, सुख्खा खोकी तथा थकावट आदि हुन् भन्ने उल्लेख गरिएको सो प्रतिवेदनमा चीनको प्रशंसा गर्दै संक्रमण फैलिन नदिनका लागि त्यहाँ इतिहासकै सर्वाधिक महत्वाकांक्षी, चुस्त र आक्रामक प्रयास गरिएको उल्लेख गरिएको थियो ।

भाइरसको प्रसारलाई दृष्टिगत गर्दै मार्च ९ मा कोरोनालाई महामारी घोषित गर्दै लडकडाउन गर्ने इटाली युरोपको पहिलो मुलुक बन्यो । ११ मार्चमा डब्लूएचओले कोरोना भाइरसलाई महामारी घोषित ग¥यो । यसको अर्थ विश्वमा भाइरसको अनियन्त्रित प्रसार भइरहेको छ भन्ने हो । यस समयसम्म विश्वका १ सयभन्दा बढी मुलुकमा संक्रमण पुष्टि भइसकेको थियो । स्मरणीय छ, ७ फेब्रुअरीमा चीनमा कोरोना भाइरसको जानकारी गराउने प्रथम चिकित्सक ली वेनलियाङको संक्रमणबाट मृत्यु भएको थियो । चीनले ती चिकित्सकलाई यस अघि नै बोल्न रोक लगाएको बताइन्छ ।

१९ मार्चमा चीनले कोरोना भाइरसको कुनै नयाँ संक्रमण नआएको घोषणा ग¥यो । २० र्माचमा विश्व स्वास्थ्य संगठन प्रमुखले युवाहरू पनि यस भाइरसबाट सुरक्षित नभएको बताए । २५ मार्चमा डोनाल्ड ट्रम्पले ‘हाइड्रोक्सिक्लोरोक्विन’लाई कोरोना भाइरसको सम्भावित औषधि हुन सक्ने बताए । डब्लूएचओले चाहिँ सोही दिन हालसम्म कोरोना भाइरसको उपचारका लागि कुनै औषधि स्वीकृत नगरिएको बतायो । यसै दिन संगठनले २ अर्ब डलरको थप कोषको आह्वान ग¥यो । ६ अप्रिलमा डब्लूएचओले मास्कका सम्बन्धमा आफ्नो निर्देशन अद्यावधि गर्दै यो भाइरसको प्रवाह रोक्नमा प्रभावकारी भएको तर यसको प्रयोग अन्य उपायसँगै हुनुपर्ने जानकारी गरायो । अप्रिल ८ का दिन विश्व स्वास्थ्य संगठन प्रमुखले डब्लूएचओको आलोचनालाई दृष्टिगत गर्दै विश्वका नेताहरूलाई महामारीमाथि राजनीति नगर्न अनुरोध गरे ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्व स्वास्थ्य संगठनका बीचको द्वन्द्व बढेको र ट्रम्पले निरन्तर आक्रमण गरिरहेका छन् । उनले संगठनको कार्यशैलीमाथि प्रश्न उठाएका छन् । यति मात्र होइन, उनले विश्व स्वास्थ्य संगठनलाई चीनतर्फ झुकाव राख्ने संस्था भन्दै त्यसलाई आफूले दिने आर्थिक सहयोगसमेत रोक्का गरेका छन् । यस अतिरिक्त उनले संगठनमाथि कोरोनाका विषयमा जानकारी भएका कुरासमेत लुकाएरको आरोप लगाएका छन् । ताइवानको तर्फबाट प्राप्त मानवबाट मानवमा सर्न सक्छ, भन्ने जानकारीको बेवास्ता गर्दै भ्रामक जानकारी सम्प्रेषण गरेको, समयमा उचित निर्णय लिन नसेको साथै चीनलाई जोगाउँदै अमेरिकालाई गलत सल्लाह दिएको पनि संगठनमाथि ट्रम्पको आरोप छ । यसैगरी, चीनले विश्वले यस भाइरस’bout थाहा नपाओस् भन्ने चाहेको र डब्लूएचओ उसको सहयोगी बनेको गम्भीर आरोप पनि ट्रम्पले लगाएका छन् । स्मरणीय छ, ट्रम्पले विश्वका अधिकांश मुलुक र स्वयं अमेरिकामा समेत भाइरसको प्रकोप बढ्दै जाँदा पनि यसलाई ‘चिनियाँ भाइरस’ भन्दै आवश्यक सजगता अपनाएका थिएनन् । सम्भवतः यो उनको विश्व स्वास्थ्य संगठनको सूचना प्रतिको विश्वास थियो ।

अन्त्यमा, यतिखेर अमेरिका विश्वकै सबैभन्दा प्रभावित मुलुक बनेको छ । विश्व स्वाथ्य संगठनको आलोचना गर्दागर्दै पनि ठूलो मानवीय क्षति बेहोर्न पुगेको ऊतर्फ नै सबैका आँखा छन् । विभिन्न मुलुकमा उपचारको खोजी भए पनि अन्ततः अमेरिकाले नै यसको उपचार पत्ता लगाउने आशा धेरैको छ । जेसुकै भए पनि मानवजातिको रक्षा आजको साझा प्राथमिकता हो । चिकित्सा विज्ञानले छिट्टै यसको उपचार पत्ता लगाउने नै छ । यो मानव सभ्यतामाथिकै चुनौती भएकाले पारस्परिक रिस, राग, कलह, प्रतिशोध र द्वन्द्वभन्दा यस चुनौतीको सबैले सामूहिक लडाइँद्वारा सामना गर्नु र यसलाई परास्त गर्नु आजको साझा दायित्व हो । यसलाई सबैले बुझ्नु जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !