नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १ को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन् । सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथीसहित ३ जनालाई सोमबार साँझ वडा न १ मा रहेको क्वारेन्टाइनमा राखिएकोमा विहान भागेको कावासोती वडा न १ का वडाध्यक्ष नारायण पन्तले जानकारी दिए ।
उनीहरुलाई कावासोती ३ मा रहेको प्रस्तावित कुमारी अस्पतालको क्वारेन्टाइनमा राखिएको थियो । भारतबाट आएका युवकले लागुऔषध (गाँजा) सेवन गर्ने गरेको र उनीसँगैका २ जना साथीले पनि गाँजा लिने गरेकाले ३ जनालाईनै उनीहरुकै र घर परिवारको सल्लाहामा क्वारेन्टाइन राखिएको वडा अध्यक्ष पन्तले बताए ।
क्वारेन्टाइनबाट भागेका मध्ये कावासोती १ निवासी अर्जुन परियार ३ दिन अघि भारतको लुदियानाबाट घर आइपुगेका थिए । कावासोती नगरपालिका भित्र रहेको क्वारेन्टाइनहरुमा अहिले कावासोती नगरपालिकाको नगर प्रहरीले निगरानी गर्ने गरेका छन् । अध्यक्ष पन्तका अनुसार उनीहरुले नगरप्रहरीलाई समेत छलेर भागेका थिए ।
फरार रहेका व्यक्तिको अहिले नगरप्रहरी, वडा प्रतिनिधि र प्रहरीले खोजी गरिराखेको कावासोती नगरपालिका उपप्रमुख तथा कोरना रोकथाम विपत व्यावस्थापन समिति कावासोती नगर संयोजक प्रेमशंकर मर्दनियाले जानकारी दिए ।
कावासोती नगरपालिकामा हालसम्म २० जनालाई क्वारेन्टाइनमा राखिएकोमा ९ जना घर फर्किएका छन् भने ११ जना नगरपालिकाको क्वारेन्टाइनमा रहेको कावासोती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण नागिलाले बताए । ११ मध्ये ३ जना फरार भएपछि अहिले कावासोतीमा ८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् ।
अहिले कावासोती १ र १७ नम्बर वडाको क्वारेन्टाइनमा मात्र मानिसहरु रहेका छन् ।






