काठमाडौं । नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नलाई गीतसंगीत औधी मनपर्छ । उनी विभिन्न बाजाका सौखिन पनि हुन् । यिनै राजदुत काठमाडौंमा एक समारोहबीच नेपाली कलाकारसँग शुक्रबार बाँसुरीको धुन प्रस्तुत गर्न तल्लिन देखिए ।
संगीत अनुसन्धान तथा बिकाश मञ्च नेपाल (एमआरडिएफ नेपाल)ले काठमाडौंमा आयोजना गरेको नेपाल तथा थाईल्यान्ड लोक संगीत प्रस्तुति कार्यक्रममा नेपाली र थाइल्यान्डको लोकभाका एवम् धुनहरु सुनाइयो । करिब ढेड घन्टा चलेको सो कार्यक्रममा नेपाली कलाकारहरुसँग सहकार्य गर्दै थाइल्यान्डका राजदूत सिरिसोर्नले एउटा थाईल्यान्डको लोक गीत र एउटा नेपाली लोकगीतको धुनलाई आफ्नो बाँसुरी मार्फत प्रस्तुत गरेका हुन् । उनले बाँसुरीमा नेपाली र थाईल्यान्डको लोकगीत बजाउँदा मञ्चका पदाधिकारी एवम् संगीतकर्मीहरुले मादल, सारँगी, गितार, टेम्पोसहितका लागि बाजा बजाउँदै उनलाई धुनमा साथ दिए ।
सुरुमा एउटा गीतमा बाँसुरीको धुन प्रस्तुत गरेका राजदुत सिरिसोर्नले नेपाली कलाकारबाट बाद्यबादनमा साथ पाएपछि नेपाली गीतमा पनि बाँसुरीको धुन सुनाए । कार्यक्रममा गीतकार तथा बाद्यबादक राजेश कुमार श्रेष्ठले गितारमा, गायिका गीता पाण्डेले सारँगी, सरद राईले बाँसुरी, केसी राजनले टेम्को र सुक्रिमायाँ मोक्तान (निमा)ले मादलमा साथ दिएका थिए ।
सो कार्यक्रममा थाईल्यान्डको राजदुतको प्रस्तुति अघि नेपाली कलाकारहरुले केही नेपाली तथा थाईल्यान्डका गीत र धुनहरु प्रस्तुत गरे । सो क्रममा उनीहरुले प्रत्यक्ष बादबादनसहित नेपाली गीत कालै कुर्ताले, रेसम फिरिरी, बाबरी फुलको बोटसहितका गीतहरु सुनाए । यसरी प्रत्यक्ष गायनका क्रममा मञ्चका अरु कलाकारहरु ती गीतमा रमाउँदै नाचेका थिए । यतिबेला थाई राजदुतले भने तालीले साथ दिएका थिए ।
सोही क्रममा नेपाली कलाकारले दुई वटा थाइल्यान्डको गीत र एउटा नेपाली गीतमा सांगीतिक धुन प्रस्तुत गरे । नेपाली कलाकारको प्रस्तुत सकिएपछि आफ्नो प्रिय बाँसुरी लिएर थाई राजदुत नेपाली कलाकारमाझ प्रस्तुत भएका हुन् ।
संगीत अनुसन्धान तथा बिकाश मंच नेपालका अध्यक्ष एवम् गायक÷संगीतकार ओम सुनारको सभापतित्वमा भएको सो सांगीतिक कार्यक्रममा राजदुतको जिज्ञासामा नेपाली लोक संगीत’bout मंचका राजेश कुमार श्रेष्ठ, एलिश कार्कीलगायतले जानकारी गराए । कार्यक्रममा संगीत अनुसन्धान तथा बिकाश मंच नेपालका अध्यक्ष ओम सुनार, संगीतकर्मी सोभन सैंजु, अञ्जना शाह, लेजेन्ड इभेष्टमेन्ट प्रा.लि.का सिईओ रविन चाम्लिङ राईलगायतले राजदुतलाई नेपाली लोकसंगीत’bout जानकारी गराउँदै आउँदा दिनमा यो सहकार्यलाई निरन्तर अघि बढाउने बताए ।
समारोहमा राजदुत सुवापोङ सिरिसोर्नले आफुले विधालय अध्ययनकै क्रममा संगीत र वाद्यबादन सिकेको जानकारी गराए,‘स्कुलमा संगीत पढ्दा सिकेको त्यही धुन आज बाँसुरीमार्फत यहाँ प्रस्तुत गरेँ । यहाँ बस्दा सिकेको नेपाली धुनपनि प्रस्तुत गरेको हुँ ।’ उनले भने ।
नेपालमा जस्तै थाईल्यान्डमा पनि बौद्ध र हिन्दु धर्मावलम्बी भएकाले यहाँ र त्यहाँ लोक भाकाहरु उस्तै उस्तै लाग्ने पनि उनले बताए । नेपाल र थाईल्यान्डको बासुरीको लय पनि उस्तै हुने गरेको पनि उनले बताए,‘नेपालको यत्तिधेरै लोक गीत संगीत सुन्न पाउँदा मलाई साह्रै खुसी लाग्छ ।’ थाईल्यान्डको सरकारले लोक संगीतको प्रवर्धनको लागि स्कुल देखिनै संगीत विषय राखेको र त्यहाँका युवा पुस्ताहरु अहिले लोकसंगीत तर्फ आकर्षित भएको पनि राजदुत सिरिसोर्नले कार्यक्रममा जानकारी गराए । आफ्नो छोरा पनि गायनमा लागेको जानकारी गराउँदा आउँदा दिनमा पनि यसरी नेपाली र थाई गीत र बाजाका धुनहरु सुन्ने सुनाउने कार्यक्रम आयोजना गर्न उनले अनुरोध गरे ।
थाई राजदूत सुवापोङ सिरिसोर्नले आगामी डिसेम्बरमा थाईल्यान्डमा हुने साँगीतिक कार्यक्रममा आफ्नो संगीत प्रस्तुतिका लागि संगीत अनुसन्धान तथा बिकाश मंच नेपालका कलाकारहरुलाई निमन्त्रणा समेत गरेका छन् ।






