मातातीर्थ : ज्ञानको पुस्तान्तरण

हरेक चाडपर्वको आआफ्नै मौलिक विशेषता र महत्व हुन्छ । आफ्नो समुदायको संस्कार र समाजको मौलिक चेतनासँग गाँसिएको चाडपर्वले मानिसमा उमंग, उत्साह ल्याउँछन् । कतिपय चाडपर्वले पारिवारिक तथा सामाजिक समीपता, मेलमिलापको संस्कृतिलाई आत्मसात् गरेका हुन्छन् । जसले मानवजीवनलाई उल्लासमय बनाउँछ र जिजीविषामा ताजगी थप्दछ । अर्थात् म बाँच्नु नै उल्लास हो भन्ने मानसिक सामथ्र्य भरिदिन्छ । कतिपय चाडपर्वको भने सामाजिक र पारिवारिक आयामभन्दा पनि माथिल्लो स्तरको वैयक्तिक आयाम हुन्छ । मातातीर्थ औंसीलाई हामी यस्तो चाडका रूपमा लिन सक्छौं । संसारमा आफ्नो जैविक अस्तित्व पैदा गर्ने आमा शब्दसँग जोडिएकाले यसप्रति मान्छेको वैयक्तिक संवेदना गाँसिएको हुन्छ । संसारमा आमासँग संवेदना नगाँसिएको कोही पनि हुँदैन । त्यही संवेदनाले यस पर्वको महत्वलाई मानिसको अन्तर हृदयसम्म तरंगित गर्छ । आमासँगको सामीप्यमा रहँदाको हर्ष होस् या वियोगमा रहँदाको पीडादायी आँसु, मानिसको अन्तर्हृदयलाई तरंगित पार्नुका परिणाम हुन् ।

त्यसैले, मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन आफूलाई जन्मदिने आमाप्रति श्रद्धा भक्ति, सम्मान, आदर र खुसी व्यक्त गर्दै मनाइने पर्व हो । विशेषगरी हिन्दू संस्कृतिमा आमा जीवित भएकाले आमालाई मनपर्ने मीठा खानेकुरा र वस्त्रहरू दिएर दीर्घायुको कामना गर्दै मनाइन्छ भने आमा नभएकाले श्रद्धापूर्वक ब्राह्मण तथा कन्यालाई दानदक्षिणासहित भोजन गराई मनाउने प्रचलन छ । यस पर्वका दिन काठमाडौंमा रहेको मातातीर्थको पोखरीमा गई स्वर्गवासी आमाको प्रतिबिम्ब पानीमा हेर्ने प्रचलन छ । भौतिक रूपमा आमा साथै नरहे पनि आमा आफूसँगै रहेको महसुस गर्ने र आफूमा जन्मशक्ति सञ्चित गर्ने मनोयोगद्वारा यो विधिनिर्देशित छ ।

जीवित आमालाई मनपर्ने मीठा खानेकुरा र वस्त्रहरू दिएर दीर्घायुको कामना गरिन्छ भने आमा नभएकाले श्रद्धापूर्वक ब्राह्मण तथा कन्यालाई दानदक्षिणासहित भोजन गराइ मनाउने प्रचलन छ

आमाले नौ महिनासम्म गर्भमा राखेर सन्तानलाई जन्म दिन्छिन् । सन्तान आमाको खुसीको प्रतिबिम्ब हो । त्यसैले, आफू कष्टमय प्रसव वेदनामा रहँदा पनि आमा खुसी हुन्छिन् । अरू सबै समयमा सन्तान हाँस्दा मात्रै खुसी हुने आमा त्यसबेला सन्तान रुँदा खुसी हुन्छिन् । संसारमा कुनै यस्तो संवेदना छैन, जो आफ्नो दुःखमा खुसी होओस् । तर, आमा त्यस्तो संवेदना हो, आफ्नो पीडामा खुसी हुन्छिन् जतिबेला सन्तान पैदा हुन्छ । सन्तानको जन्मपछि जीवनमा आइपर्ने हरेक हन्डरठक्कर उनी सहर्ष स्वीकार गर्छिन्, सन्तानकै खुसीका लागि ।

नवजातको लागि पहिलो पाठशाला आमा हुन् । एउटी नारी शिक्षित भइन् भने परिवार शिक्षित बनाउँछिन् । तर, एउटा पुरुष शिक्षित भएमा आफू मात्र शिक्षित हुन्छन् भन्ने भनाइ प्रचलनमा छ । सायद पुरुषभन्दा महिला आफ्ना सन्तानसँग बढी समयसँगै रहने भएकाले पनि यस्तो भनाइ प्रचलनमा रहेको होला । बच्चाले सुरुमा आमा, त्यसपछि घरपरिवारको शिक्षाबाट उसले असल संस्कार, नैतिक शिक्षा र सही मार्गदर्शन पाउने गर्दछ । अनि मात्र औपचारिक शिक्षा लिन थाल्दछ ।

विवेक पुस्तान्तरणका लागि आमाबुबा, हजुरबा हजुरआमा वा अभिभावकसँग धेरै समय व्यतित गर्ने संस्कार बसाल्नुपर्छ

यस प्रसंगमा बाल्यकालको एउटा घटना उल्लेख गर्दछु । एकपटक म साथीको लहैहलैमा लागेर छिमेकीको बारीमा काँक्रा चोर्न गएँ । आमाले देख्नुभएछ । आमा कराउन थाल्नुभयो । साथीहरू सबै घरतिर भागे । म एक्लै आमाको गाली सुन्न थालें । आमाको त्यस गालीबाट मैले पाएको नैतिक शिक्षा कहिल्यै पनि अरूको चोरेर खानुहुँदैन भन्ने थियो । झुठो बोल्नु हुन्न, अरूको मन दुःखाउनुहुन्न आदि नैतिक ज्ञान आमाको गालीबाट मैले प्राप्त गरें । त्यसलाई गाली भन्न किमार्थ सकिँदैन, जीवनलाई सत्मार्गमा हिँडाउने गोरेटो निर्माण हो त्यो । आमाले दिने स्नेहका कारण आमासँग डर कम हुन्छ । आमाले भन्नुभयो, ‘नराम्रो काम गरेको अरूले नदेखे पनि भगवान्ले माथिबाट हेरिरहेका हुन्छन्, । एउटा अप्रकट अस्तित्वको डर देखाएर भए पनि आफ्नो सन्तानलाई सत्मार्गमा हिँडाउने त्यस्तो उपाय आमासँग मात्रै हुन्छ । त्यसपछि नै हो मैले झुठो बोल्ने आँट कहिलै गरिनँ । एक दिनको कुरा हो, स्कुलबाट घर फर्केर लुगा फेर्दै थिएँ । एउटी साथी खेल्न बोलाउन आइन् । म कोठाभित्र ढोका थुनेर, तौलियाले बेरेर लुगा फेरिरहेकी थिएँ । मैले यस्तो गरेको देखेर साथी छक्क परिन् । उनले सोधिन्, ‘किन ढोका थुन्दा पनि तौलिया बेरेको ?’ मैले भनें, ‘आमाले भन्नुभएको भित्ताको पनि आँखा हुन्छ रे, कान हुन्छ रे, भित्ताले पनि सुन्छ रे, देख्छ रे ।’ मैले यसो भनेपछि मेरी साथी भित्तातिर नियालेर हेर्न थालिन् । आमाले बाल्यकालमा पिलाएका यस्ता ज्ञानवद्र्धक औषधि अहिले सम्झनामा आउँछन् । यस्तो सम्झनाले म घरीघरी रोमाञ्चित हुन्छु ।

यति उल्लेख गर्दा महिला मात्र सन्तानप्रति जिम्मेवार छन् भन्न खोजेको कदापि होइन । तर, आमासँगको आत्मीय संसर्गको अवसर बुबासँग हुँदैन । आफूलाई कतै पनि नछोपी, कतै पनि नअड्काइ हामी आफ्नो भावना आमासँग मात्रै व्यक्त गर्न सक्छौं । चाडपर्वमा बुबाले आफुले पुरानो कपडामा रहेर पनि छोराछोरीको इच्छामा रमाउनुभएको दिन अनि गाँस, बास र कपासका लागि बुबाले गर्नुहुने परिश्रमको महत्व पनि कम छैन । ठूलो मान्छेलाई आदर गर्नुपर्छ, सानालाई माया गर्नुपर्छ भन्ने कुरा पनि हामीले अभिभावकबाट सिकेको हौं । आमाबुबाका हरेक गालीले हामीलाई आफ्नो बाटो पहिल्याउन सघाएको हुन्छ । आमाबुबाको गालीमा जीवनलाई मार्गदर्शन गर्ने औषधि मिसिएको हुन्छ ।

त्यसैले त सन्तानलाई सही मार्गदिशामा लैजान अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । मायाममताको साथै अभिभावकले निर्वाह गनुपर्ने भूमिकामा कमी महसुस भएमा पनि सन्तानमा नकारात्मक असर पर्न सक्छ । हामी किताबका पानाहरू पढ्छौं । किताबमा अरूले अनुभव गरेर उनीहरूको जीवनमा अपनाएका ज्ञान हुन्छन् । तर, हरेकको जिन्दगी र जिन्दगीका बाटाहरू अलग हुन्छन् । पुस्तकका ज्ञान हुबहु लागू नहुन सक्छन् । हामी पुस्तकका पात्रलाई पछ्याएर बाँच्न सक्दैनौं । तर, आफ्नो जीवनको भोगाइले दिने ज्ञान आफ्नो ज्ञान हो । आफू हुर्किंदा आमाबुबा वा अभिभावकले दिने ज्ञान मौलिक ज्ञान हो । जुन व्यावहारिक हुन्छ र त्यस्तो मार्गमा हिँड्दा ठेस लाग्दैन ।

यस्तो ज्ञानको वजन किताबी ज्ञानको तुलनामा बढी हुन्छ । सैद्धान्तिक शिक्षा र व्यावहारिक ज्ञानका बीचमा भेद हुन्छ । देखेर, सुनेर पनि शिक्षा लिन सक्छौं तर ज्ञान भोगेर प्राप्त हुन्छ । त्यसैले, हामीले विद्यालयबाट पाउने शिक्षाभन्दा परिवारबाट पाउने संस्कार जीवनका लागि महत्वपूर्ण हुन्छ । आमाबुवा, हजुरबुबा, हजुआमाका काखमा हुर्केको पुस्ता शिक्षासँगै विवेकले पनि भरिएको हुन्छ । त्यसैले, आजको समय विवेक पुस्तान्तरण गर्नुपर्ने समय हो । विवेक पुस्तान्तरणका लागि आमाबुवा, हजुरबा हजुरआमा वा अभिभावकसँग धेरै समय व्यतित गर्ने संस्कार बसाल्नुपर्छ । सायद, परिस्थितिले हामीलाई यो लकडाउनको समय यसैको लागि जुराएको अवसरका रूपमा लिन सक्छौं । सम्भव भएमा यो समयमा बालबालिकालाई व्यावहारिक ज्ञान, धर्म, संस्कृति, परम्परा तथा रीतिरिवाजको ज्ञान लिनेदिने वातावरण बनाउनु उपयुक्त हुन्छ ।

बालबालिकामा रहेको सिर्जनात्मक क्षमताको प्रस्फुटन हुने अवसरका रूपमा यस समयलाई लिन सकिन्छ । खेलौना नपाएमा कुनै बच्चा केही समय रुन सक्छ तर संस्कार नपाएमा जीवनभर रुनेछ । त्यसैले, पनि हाल जेजस्तो अवस्थामा छौं, त्यही रहेर सकारात्मक सोचाइ राख्दै छोराछोरीलाई सही मार्गमा दिशानिर्देशको अवसरका रूपमा लिन सान्दर्भिक देखिन्छ । मातातीर्थ औंसीको सबै आमामा शुभकामना । मातृ देवो भवः ।
(लेखक नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्य हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 627 times, 1 visits today)

epaper

ताजा समाचार

क्यासिनोबाट गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षक पक्राउ