सूर्य उपासनाको महापर्व छठ

महान् पर्व दसैं, तिहार सकिएलगत्तै तराई छठमय बनेको छ । विशेषतः मिथिला क्षेत्रमा छठ पर्वको रौनकले सबैलाई मोहित बनाएको छ । यस पर्वमा सूर्यको उपासना गरिन्छ । महापर्व छठको तयारी र उत्सवमा मिथिलावासी रमाइरहेका छन् । विधिवत रूपमा छठको व्रत बस्नुपर्ने हुन्छ । यस जीवनमा निरोगिता र आहार विहारको सौम्य र सम्यकताको विधान पनि हो ।

कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गर्छन् । ‘अरबा–अरबाइन’ विधि सुरुमा गरिन्छ । त्यसपछि निरामिष अर्थात् सात्विक भोजन तृतीयाकै दिन गरिन्छ । यी सबै सूर्यदेवको पूजा आराधनासँग सम्बन्धित छन् । तराईमा यसबेलामा जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमामा गीत गाउँदै गरिरहेको पाइन्छ ।

छठ पर्वको प्रारम्भसँगै तराईवासी ताल, तलाउ, नदी, झरना र पोखरीमा रहेको पानीसँग संगत गर्न थाल्छन् । तराईका धार्मिक महत्वका तलाउ र नदीको ’round निकै नै सिँगारपटार गरिन्छ । नदी र तलाउ परिसर बेहुलीझैं सिँगारिन्छन् । यो यस्तो पर्व हो, जसमा महिला र पुरुष दुवैले व्रत गर्ने गर्छन् । धर्मशास्त्रमा यही कुरा छ । तर, परम्परागत मान्यतामा घरपरिवारका मुख्य महिलाले नै व्रत आराधना गर्ने चलन छ ।

श्रद्धा, निष्ठा र आत्मिक शुद्धी व्रतको सिद्धि हो । त्यसैले चोखोनिधोलाई निकै मान्यता दिइन्छ । पूजा प्रसाद सामग्री बनाउँदा घिउ, तेल सक्खर आदिको प्रयोग गरिन्छ । ठेकुवा, भुसुवा र अन्य मिष्ठान्न परिकार यस पर्वका मुख्य परिकार हुन् । परिकार निर्माणका लागि मिल र मेसिनभन्दा घरको ढिकी, जाँतो बढी प्रयोग गरिन्छ । यस्ता परिकार बनाउने र पकाउने चुलो पनि नयाँ बनाइएको हुन्छ । पर्वमा सूर्यलाई अघ्र्य दिने र हात उठाउने समयमा ज्यामिर, बिमिरो, बोटसहित उखेलिएको अदुवा, बेसार र फुर्को (पातगुवो)सहितको उखु आवश्यक मानिन्छ ।

व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख घाट तथा जलाशयमा पुगी कम्मरसम्म पानीमा उभिएर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि ‘सँझियाघाट’को कार्य समापन हुन्छ । सँझियाघाटमा देखाइएको प्रसादसामग्रीको डाली सप्तमीका दिन बिहानै उदाउँदो सूर्यलाई अघ्र्य दिएर देखाइएपछि छठ सम्पन्न हुन्छ । यस वर्षको छठ शुक्रबार बिहान सूर्योदयसँगै सम्पन्न गरिनेछ ।

छठका लागि तयार पारिएका मनोरम घाटमा सँझियाघाट कार्य सम्पन्न गरिएसँगै घाटमा गीत, संगीत, नाटक र मनोरञ्जनका विभिन्न कार्यक्रम गरेर रातभरि जाग्राम बस्ने चलन छ ।
(पत्रपत्रिकाको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

epaper

ताजा समाचार

पूर्वअर्थमन्त्री पाण्डेको निधन