थिति नहुँदा त्रिविको बेथिति

त्रिभुवन विश्वविद्यालय मुलुकको सबैभन्दा जेठो शिक्षण संस्था हो । २०१६ सालमा स्थिापित यस विश्वविद्यालयले विगतमा स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि मुलुकको शिर ठाडो पार्न सफल भएकोे छ । अहिले मुलुकमा भएको दक्ष जनशक्ति उत्पादन गर्नमा त्रिविको ठूलो भूमिका छ । मेचीदेखि महाकालीसम्म त्रिविअन्तर्गत सञ्चालन हुने हजारौंको संख्यामा उच्च शिक्षा अध्ययन अध्यापन गर्ने गराउने क्याम्पसहरू छन् । त्रिविअन्तर्गत सञ्चालित चिकित्साशास्त्र तथा इन्जिनियरिङ अध्ययन गर्ने क्याम्पसहरूका साथै अन्य संकायका संस्थाहरूले नेपाली विद्यार्थीहरूलाई आकर्षण गरेको छ । तापनि, अहिले उल्लिखित संकायका संस्थाहरू कमजोर हँुदै गएको अवस्था छ ।

त्यसो त त्रिभुवन विश्वविद्यालय स्वदेशमा मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि चर्चा परिचर्चाको विषय बन्ने गर्छ । देशमा डेढ दर्जनको संख्यामा विश्वविद्यालयहरू भएता पनि त्रिविबाट उत्पादित विद्यार्थीहरूको शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले पनि मान्यता दिने गरेका छन् । त्रिविमा अध्ययन गरेका विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययन गर्न, छात्रवृत्ति पाउन, खोज, अनुसन्धानका क्षेत्रमा एमफिल तथा विद्यावारिधि गर्नका लागि विदेशी विश्वविद्यालयहरूमा अवसर पाउने गरेका छन् । यसरी हेर्दा एकातिर त्रिविले देशमा आवश्यक दक्ष तथा उच्चदक्ष जनशक्ति उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको छ भने अर्कोतिर अन्तर्राष्ट्रिय क्षेत्रमा पनि त्रिविको शाख उच्च छ ।

देशका राजनीतिज्ञ, प्रशासक, लेखक, बुद्धिजीवी, पत्रकार, डाक्टर, इन्जिनियर, वकिल, शिक्षक, प्राध्यापक अनुसन्धानकर्तालगायतका विभिन्न क्षेत्रका आवश्यक दक्ष जनशक्ति उत्पादन गरेको छ, त्रिविले । तथापि, वर्तमान अवस्थामा आइपुग्दा त्रिभुवन विश्वविद्यालयभित्रका बेथितिहरू चुलिँदै गरेको देखिन्छ । त्रिविमा बढ्दै गएका व्याप्त बेथितिहरू नजिकबाट नियाल्दा लाग्छ, यो राज्य, विश्वविद्यालयको कुलपति, सहकुलपति, उपकुलपति तथा सम्बन्धित संकायका डीन, रजिस्ट्रारलगायत विभागीय प्रशासकहरू कहाँ छन् ? त्रिविलाई किन तहस नहस बनाइयो ?

यसपटकको विजयादशमीको फुर्सदको समयमा पंक्तिकारले त्रिविका विभागीय संकायहरू, राष्ट्रिय अनुसन्धान केन्द्रलगायत त्रिवि परिसरको दृश्यावलोकन गर्दा मन साह्रै कुँडियो । त्रिविका विषयगत संकायहरूका कक्षाकोठामा माकुराको जालोले ढाकेको छ । ठूलाठूला शिक्षण सिकाइका कक्षाहरूमा राखिएका डेस्क, बेन्चहरूमा धुलोको बाक्लो तह देखिन्छ । कक्षाकोठा बाहिर घाँस र झाडीले ढाकेको छ । त्रिविको किन यस्तो अवस्था भयो त भन्ने जिज्ञासामा त्रिविबाट स्नातकोत्तर गरेर एमफिल गर्दै गरेका विद्यार्थी महेश पोख्रेलसँग विश्वविद्यालयको वर्तमान अवस्थाको तथ्यांक लिँदा मन असाध्यै दुःखी भयो ।

महेश भन्छन्, ‘त्रिविका कतिपय संकायहरूमा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्, कतिपय संकायमा दुई जना विद्यार्थी छन् र उनीहरूलाई पढाउन सम्बन्धित संकायमा १६ जना प्राध्यापक छन् । ५०–६० जना बसेर अध्ययन गर्ने क्षमता भएका कक्षाकोठामा दुई–चार जना विद्यार्थी मेचमा थुप्रिएको धूलो आफैंले पुछेर बस्नुपर्ने अवस्था रहेको महेशले निधार खुम्च्याएर बताए । उनले अगाडि थपे, ‘त्रिविमा अनावश्यक राजनीति हुन्छ, अध्ययन अध्यापनको वातावरण छैन ।’ महेशले यसो भन्दैगर्दा त्रिवि परिसरको निरीक्षण गर्ने क्रममा एउटा भवनको बाहिर जडान गरिएको एसी मेसिन चलिरहेको देखियो । ‘दसैं बिदामा एसीहरू खुलै छोडेर हिँड्ने सम्बन्धित कर्मचारीलाई कसले कारबाही गर्ने ?’ यही प्रसंगमा महेशले निराश हुँदै थपे, ‘त्रिविमा यो त एउटा सामान्य दृष्टान्त हो, यस्ता बेथितिहरू त कति छन् कति ?’

प्राज्ञिक संस्था त्रिविमा उत्कृष्ट व्यवस्थापनका लागि नेतृत्व चयनमा मेरिटोक्रेसीलाई मुख्य आधार मानिनुपर्छ । मुलुकका डेढ दर्जन विश्वविद्यालयमध्ये त्रिवि उत्पादित विद्यार्थीको शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ

त्रिविमा विद्यार्थीहरूको अध्ययन गर्ने रुची घट्दै गएको समाचारहरू आउने गरेका छन् । एक दशक अघिसम्म हरेक संकायमा खचाखच भर्ना हुने विद्यार्थीहरूको संख्या अहिले ह्वात्तै घटेको छ । एकातिर विद्यार्थीहरू घट्दै छन् भने अर्कोतिर त्रिविले शिक्षण सिकाइलाई गुणस्तरीय र अब्बल बनाउनुपर्नेमा ठूलाठूला आधुनिक भवनहरू मात्र बनाएको छ । यति मात्र होइन, त्रिविमा अनावश्यक भवन निर्माण गरिएको छ । यो वास्तविक अवस्थालाई त्रिविको परिसरमा जाने कोही कसैले पनि देख्नसक्छ । त्रिवि परिसरमा रहेको खेतको फाँटको बीचमा भवन बनाइएको छ । भवनलाई निर्माण सम्पन्न नगरीकन अलपत्र पारिएको छ । कतिपय भवनमा पुग्ने बाटो नै नभएको अवस्था छ । त्रिविको भौतिक विकासको विरोध गरिएको होइन, परन्तु आवश्यकता तथा दूरदर्शिताबिना गरिने लगानी बालुवामा पानीजस्तो हुन्छ । किन त्रिवि अभिभावकविहीनताको अवस्थामा पुग्न गयो ?

विश्व विद्यालयहरूको भौतिक विकास एउटा अनिवार्य पाटो हो । भौतिक विकास पनि चाहिन्छ । तर, उपयोगिताका आधारमा बनाउने भन्दा पनि राज्यको ढुकुटीलाई सित्तैको धन फुपूको श्राद्ध भनेझंै जथाभावी दीर्घकालीन योजनाबिना नै बनाएको देखिन्छ । लामो समयसम्म त्रिविको लेखापरीक्षण भएको छैन । कोही कसैलाई वास्ता छैन । यसभन्दा ठूलो बेथिति केही हुन्छ ? विश्वविद्यालयजस्तो प्राज्ञिक ठाउँमा अध्ययन गर्ने विद्यार्थीहरू, अध्यापन गराउने प्राध्यापक, कर्मचारी, प्रशासक सबै शिक्षित एवं दीक्षित जनशक्ति हुन् । यस्तो प्राज्ञिक ठाउँ समस्या नै समस्याले जेलिएको छ । राज्य कहाँ चुक्यो ? विज्ञहरू कहाँ चुके ? सम्बन्धित निकायहरू किन जवाफदेही हुन सकेनन् ?

सिंहदरबार र बालुवाटारबाट करिब ५ किलोमिटरको दूरीमा रहेको त्रिभुवन विश्वविद्यालय बाँदरको हातमा नरिवलको अवस्थामा छ । त्रिभुवन विश्वविद्यालय राजनीतिक हस्तक्षेपले तहस नहस भएको समाचार पटकपटक आउने गर्छन् । राजनीतिक दलहरूले शिक्षा क्षेत्रलाई राजनीतिको उद्गम स्थल बनाएका छन् । एकातिर विश्वविद्यालयहरूका माथिल्ला पदहरूमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति गर्ने संस्कृतिको अन्त्य भएको छैन भने अर्कोतिर दलका भ्रातृ संगठनका रूपमा हरेक दलका विद्यार्थी संघ संगठनहरू राजनीतिक स्कुलिङबाट प्रशिक्षित छन् । विद्यार्थीहरूले पठनपाठनमा अवरोध गर्ने, अमर्यादित नाराबाजी गर्ने, युनिभर्सिटी बन्द गर्ने, उच्च पदस्थ पदाधिकारीहरूलाई थुन्ने, कालो मोसो लगाउने लगायतका अराजक गतिविधिहरू विद्यार्थीबाट हुने गरेको कोही कसैबाट छिपेको छैन । यस्ता गतिविधि विश्वविद्यालयमा सुहाउने कुरा होइनन् । आजका विकसित मुलुकहरू विकासको चरम बिन्दुमा पुग्नुका पछाडि त्यहाँका विश्वविद्यालयहरूको वैज्ञानिक, अनुसन्धानमुखी तथा गुणस्तरीय शिक्षाको ठूलो भूमिका रहेको देखिन्छ ।

विकसित मुलुकले आफ्नो देशमा रहेको प्राकृतिक स्रोत र साधनको उपयोग गरी आप्mनो देशमा चौतर्फी विकास गरेका छन् । समुन्द्रमा पुल बनाएका छन् । मंगल, ग्रहमा घुमेका छन् । चन्द्रमामा बस्ती बसाउने तरखरमा छन् । विभिन्न ग्रहहरूमा मानवबस्तीका लागि खोजी गरिरहेका छन् । कृषि र पशुपालन क्षेत्रको आधुनिकीकरण गरेका छन् । यान्त्रिकीकरण गरेका छन् । उल्लिखित चमत्कारपूर्ण विकासका आधार सम्बन्धित मुलुकको शिक्षा हो, विश्वविद्यालयहरू हुन् । तर, हाम्रा विश्वविद्यालयहरूमा माकुराले जालो लगाएको छ । विद्यार्थीहरू उच्च शिक्षा हासिल गर्न विदेश पलायन भएका छन् । विश्वविद्यालयहरू अस्तव्यस्त छन् । अनि, मुलुकको विकास कसरी हुनसक्छ ? मुलुकका शैक्षिक संस्थाहरू गुणस्तरीय नहुन्जेल देशका हरेक क्षेत्र कमजोर हुन्छन् ।

त्रिभुवन विश्वविद्यालयको शाख मुलुकभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रसम्म फैलाउन आवश्यक छ । विश्वका १० उत्कृष्ट युनिभर्सिटीहरूमध्ये त्रिविलाई एउटा शिक्षण संस्था बनाउन जरुरी छ । त्रिविलाई नयाँ खोज, अनुसन्धान, उत्खनन्, आविष्कार तथा नवनिर्माणको बाटोमा अगाडि बढाउनुपर्छ । यसका लागि त्रिविमा रहेका तमाम बेथितिहरूको निराकरण गरी सुशासन र गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्छ । मुलुकको एक मात्र भरपर्दो विश्वविद्यालयलाई राजनीति हस्तक्षेपबाट मुक्त गराउनुपर्छ ।

अन्त्यमा, त्रिभुवन विश्वविद्यालय आजको २१औं सताब्दीको व्यक्ति, समाज र सिंगो मुलुकको आवश्यकतालाई सम्बोधन गर्नसक्ने उच्च शिक्षा हासिल गर्ने प्राज्ञिक थलो बन्नुपर्छ । यसका लागि राज्यले समय सापेक्ष चेतना र दूरदृष्टिका साथ त्रिविलाई सुधार्ने कार्ययोजना निर्माण गर्नुपर्छ । त्रिविमा सक्षम नेतृत्व र उत्कृष्ट व्यवस्थापनको खाँचो छ । सो पूरा हुन सकोस् । विश्वविद्यालयजस्तो प्राज्ञिक संस्थालाई मेरिटोक्रेसीका आधारमा सञ्चालन गर्नुपर्छ । यसै गरियोस् पनि । समय सापेक्ष पाठ्यक्रम तथा पाठ्यपुस्तक तथा शिक्षण सिकाइ आजको आवश्यकता हो । यसमा सबैको ध्यान जाओस् । चुस्त शैक्षिक प्रशासनिक व्यवस्थापन र गुणस्तरीय शिक्षण सिकाइ त्रिविको आवश्यकता हो । सबैमा जिम्मेवारी बोध हुन सकोस् । त्रिविलाई सबैको शैक्षिक आकर्षणको केन्द्रका रूपमा पुनर्निर्माण गरौं ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कास्की प्याब्सन स्पोर्टस् मिटमा ४५ सय खेलाडी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यस्ताे छ भरतपुरकाे ताजा अपडेट, रेणुकाे अग्रता कायमै