वीरगन्ज । मध्य तराईका किसानको खेतमा राती–राती सकृय भई धानबाली नष्ट गर्ने किराको पहिचान भएको छ । दिनमा सकृय कृषि वैज्ञानिकहरुले राती सकृय भई किसानको धानबाली नष्ट गर्ने किराको पहिचान गरिसकेका हुन् ।
किसान पीडिक किरा पर्सामा योभन्दा पहिले देखा परेको थिएन । यो पटक पर्सामा पनि देखा परेको किसान पीडक किरा आरमी वार्म ( फौजी किरा) भएको मधेश प्रदेश कृषि अनुसन्धान निर्देशनालय (नार्क) का बरिष्ठ वैज्ञानिक डा.विश्वेश्वर प्रसाद (विपी) यादवले बताए । ‘महोत्तरी र धनुषा तर्फ भने यो किरा पहिले देखा परेको थियो ।
कृषि वैज्ञानिकहरुले पत्ता लगाइसकेको यो किराको प्रजाती यो पटक मध्य तराईको पर्सा, बारामा पनि देखा परेको उनको भनाइ छ । मुख्य गरी यी किरा देखा पर्नुको मूल कारण जलवायु परिवर्तन नै भएको वरिष्ठ कृषि वैज्ञानिक यादवको भनाइ छ । सिंचाइमा देखिएको कमी, ठूलो हावाहुरीको कारण जिवाणु फरक ठाउँमा आउनु, मौसम परिवर्तनकै समयमा देखा पर्नु यसका बिशेषता हुन् उनले थपे ।
अतिवृष्टी र अनावृष्टीको विपत्बाट जोगाउँदै किसानले फलाएको धान घर भित्र्याउन नपाई खेतमा नै नष्ट हुन थालेपछि यहाँका किसान चिन्तित थिए । धान नष्ट गर्ने किरा अर्थात रोग पहिचान भए पनि तुरुन्त यसको निधानमा भने प्राविधिक समस्या रहेको नार्कका कृषि वैज्ञानिकहरुले जनाए । धान काटेर पराई (नीन) लगाएको ठाउँमा र सीधा रहेको धानमा रातीको समयमा बाला काटी नष्ट गर्ने किरा फौजी किरा हो । तथापि धान र पराल अलल–अलग पार्ने यो किरा निर्मूल पार्न थोरै विकल्पहरु अपनाउन पर्ने कृषि अनुसन्धान निर्देशनालयको तर्क छ ।
फिल्डमा पुगेका कृषि वैज्ञानिकहरुले पनि डिजेल र मटितेल थोरै मिलाएर खेतमा पानी पटाउँदा पनि यो किराको प्रकोप कम गर्न सकिने सुझाव दिए । किराका लार्भाहरु दिउसो पातपतिंगरमा लुकी बस्ने भएकोले खेतवारी वरिपरि झारपातहरु पनि राख्न नहुने उनीहरुको तर्क छ ।
किराको निदान कसरी गर्ने ?
मुख्य गरी सूर्योदय हुनासाथ जरामा गएर लुकेर बस्ने र राती सकृय हुने किराहरुबाट बाली बचाउन ८० प्रतिशतभन्दा बढि पाकिसकेको धान छ भने काटेर थन्क्याउनु सबैभन्दा उत्तम विकल्प भएको मधेश प्रदेश कृषि अनुसन्धान निर्देशनालयका निर्देशक एवं वरिष्ठ वैज्ञानिक विपी यादवको सुझाव छ । सिंचाइको व्यवस्था गर्न सक्ने अर्थात ठाडो धान छ र पाँच कट्ठाको प्लट छ भने पाँच सय एमएल मटितेल वा डिजेल कुलो वा पैनीको मुहानबाट दारा सो को प्रयोग गरी विस्तारै पानी छोड्नाले पनि यो किरा विस्तारै हराएर जान्छ उनले भने । यसो गर्दा ४८ घण्टासम्म पानी खेतमा राख्न सकियो भने उत्तम विकल्प हुन सक्छ वरिष्ठ वैज्ञानिक यादवले किसानलाई सुझाव दिए ।
धान काटिसकेपछि यस किराको लार्भा र अचल अवस्थालाई नष्ट गर्नको लागि खेतलाई जोती धानका ठुटाहरु पनि नष्ट गर्ने र खेतमा २÷४ दिन पानी जमाई दिने हो भने राम्रो हुने नार्कका कृषि वैज्ञानिकहरु प्रमोद वाग्ले, आनन्द चौधरी लगायतको पनि सुझाव छ । यसो गर्न सके यो वर्ष देखा परेको किरा यसै ठाउँमा रहिरहन्छ भन्ने हुन्न उनीहरुले भने । अर्को विकल्प भनेको सजिलै बजारमा पाइने जैविक बिषादीहरुमध्ये वेसिलस थुरिन्जन्सस (बीटी) जात कुर्सटाकी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने गर्दा पनि यसको निदान गर्न सकिने कृषि वैज्ञानिकहरुको थप सुझाव छ ।
फौजी किराको स्वभाव
किराका लार्भाहरु ठूलो संख्या (फौज) मा एक क्षेत्रबाट अर्को क्षेत्रसम्म जाने, त्यहीवृद्धि हुने र विस्तारै बाली नष्ट गर्ने स्वभावका हुन्छन् । फेरि त्यहाँको बाली नष्ट गरेपछि अर्को जमिनमा जाने गर्छन् । त्यसैले मालाथियन ५ प्रतिशत धुलो वा क्लोरोपाइस्फिस १ दशमलब ५ प्रतिशत धूलो खेतको आलीमा छेकवारको रुपमा प्रयोग गर्ने गर्दा पनि थोरै विकल्प हुन सक्ने नार्कका वैज्ञानिकहरुको सुझाव छ । यो किराको प्रकोपको समयमा इमामेक्टिन बेन्जोएट ५ एस जी ० दशमलब ३ ग्राम प्रति लिटर पानी वा प्रोफेनोफस २ मिलिलिटर प्रति लिटर पानीको दरमा वा साइपरमेथ्रिन २५ इ.सि. १ मिलिलिटर प्रति लिटर पानीमा आवश्यकता अनुसार १÷२ पटक साँझ बिहान वा रातको समय स्प्रे गर्दा पनि यो किराबाट किसानलाई थोरै राहत हुने मधेश प्रदेश कृषि अनुसन्धान निर्देशनालयले जनाएको छ ।
यो वर्ष पर्साको पटेर्वा सुगौली, धोविनी, छिपहरमाई, कालिकामाई लगायत आधा दर्जन गाउँपालिका र पोखरिया नगरपालिकामा फौजी किरा देखा परेको थियो । त्यसै गरी बाराको पनि दक्षिण बेल्ट तर्फ पनि केही देखा परेको कृषि अनुसन्धान निर्देशनालयले जनाएको छ । किसानको समस्याका ’bout आफूहरु खेतसम्म पुगी अनुसन्धान पश्चात फौजी किरा रहेको पुष्टि भएपछि विभिन्न उपायहरु किसानहरुलाई दिइरहेको पनि कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कमलदेव कुशवाहाले पनि बताए । दिनभरी नदेखिने तर रातपरेपछि सकृय हुने यी किरा फौजी किरा रहेको उनको पनि भनाइ छ ।
खास गरी यो समस्या पर्साको गण्डक नहरको दक्षिण तर्फका विन्दवासी, धोविनी, छिपहरमाई, कालिकामाई, जगरनाथपुर गाउँपालिका र पोखरिया तथा बहुदरमाई नगरपालिकाका किसानको खेतमा बढि देखिएको थियो । अनुगमनमा गएर धरातलीय यथार्थ बुझी तत्कालै समाधान कसरी गर्ने भन्ने ठोस निक्र्योल तर्फ कृषि ज्ञान केन्द्रहरु पनि लागि परेका थिए ।
पर्साको गण्डक नहरको उत्तरतर्फ रहेका ठोरी, जीराभवानी, पर्सागढी नगरपालिका लगायत थरुहट क्षेत्रका किसानलाई भने यो किराको आतंकबाट पीडित थिएनन् । मधेस प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानको समस्यालाई तत्काल निदान गर्न परिचालित विज्ञ टोलीले किराको प्रजाती पत्ता लगाई सो फौजी किराहरुबाट बच्न किसानहरुलाई विकल्प दिइरहेको जनाएका छन् ।