सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको दुरुपयोग पनि हुँदै गएको छ । ह्वाट्सपमा आएको कागज बिनाप्रमाणित सार्वजनिक गर्दा गल्ती भएकाले दुर्गा प्रसाईंले माफी मागेको समाचार आएका छन्
केही साताअघि विवादास्पद मेडिकल व्यवसायी दुुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा नेपाली ३२ अर्ब रुपैयाँ लगानी गरेको कागज सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरे । नेपाली राजनीतिमा यसले एकछिन तरंग नै ल्याइदियो । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीले आयोजना गरेको एक सार्वजनिक कार्यक्रममार्फत् सो कार्यको निन्दा गर्दै नेपालमा असामाजिक गतिविधि बढ्दै गएकामा चिन्ता प्रकट गरे ।
प्रसाईं विद्युुत्तीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा गत ४ मंसिरमा पक्राउ परेका छन् । यसअघि, उनले माओवादी अध्यक्ष प्रचण्डसमेतको रकम विदेशमा रहेको अप्रमाणित र गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिँदै आएका थिए । देश बिगार्ने ओली, प्रचण्ड र देउवा हुन् भन्दै उनी जनमानसमा भाषण गर्दै हिँड्थे । उनी यसअघि २०८१ असोजमा पनि सोही कसुरमा प्रहरी हिरासतमा बसी ९ दिनपछि १ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
प्रधानमन्त्री ओलीलक्षित आफूले लगाएको पछिल्लो आरोप महिनादिन पनि टिकेन । केही दिनअघि उनले आफूले लगाएको आरोप गलत भएकाले जेलबाटै माफी मागेको समाचार बाहिरिएको छ । ह्वाट्सपमा आएको कागज प्रमाणित नगरी सार्वजनिक गर्दा यसप्रकारको गल्ती भएकाले उनले माफी मागेको समाचार आएका छन् । तर, राजनीतिक विश्लेषक निमकान्त पाण्डेले दुर्गा प्रसाईंले आफूले देखाएको प्रमाण किर्ते भएको नभनेको बताएका छन् । विश्लेषक पाण्डे आफूले हालै अस्पतालमा प्रसाईंलाई भेटेको र उक्त कुरा उनले नभनेकोमा आफू विश्वस्त रहेको बताउँछन् ।
दुुर्गा प्रसाई यसपटक मात्र होइन, पटकपटक गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने र जिम्मेवार पदाधिकारीविरुद्ध गलत आरोप लगाउँदै आएका छन् । उनको बोली अनियन्त्रित मात्र होइन, असभ्य र अमर्यादितसमेत थियो । उनले प्रलोभन देखाएर व्यवसायीबाट रकम असुलेको समेत आरोप छ । सीआईबीले उनले अनुचित लाभका लागि गरेको फोन डिटेल फेला परेको समाचार बाहिरिएको छ ।
देशको प्रधानमन्त्री, विभिन्न दलका नेतामाथि एउटा व्यक्तिले अप्रमाणित आरोप लगाउने, उत्तेजक अभिव्यक्ति दिँदै हिँड्ने र वित्तीय संस्थाको ऋण तिर्न हुँदैन भनी जनमानस भड्काउने काम कुनै पनि सभ्य समाजका लागि ग्राह्य हुँदैन । यी गतिविधि हेर्दा सामाजिक सञ्जाल भ्रम सिर्जनाकै लागि प्रयोग भएको देखिन्छ । यसकारण पनि अराजकविरुद्ध कानुनी कारबाही जरुरी थियो र छ पनि ।
सञ्चार र सञ्जाल दुरुपयोग
सञ्चार आजको युुगको शक्तिशाली माध्यम हो । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले ‘एडासिटी अफ द होप’ नामक पुस्तकमा ‘म त्यो मानिस हँुजस्तो सञ्चारले सम्प्रेषण गर्छ, मैले त्यो गर्छु, सञ्चारले जे गरेको भनिदिन्छ’ भनेका छन् । सम्पत्ति विवरण किन ढाँटेको ? भनी प्रश्न गर्दा टेलिभिजनकर्मी राजु थापाको जागिर खाइदिने नेपालका जस्ता सञ्चारमन्त्रीहरू संसारका अन्य देशमा विरलै पाइन्छन् । मतलब, सञ्चार सबैको प्रिय विधा नै हो । संसारका कैयन् मानिसले समाचार र सञ्चारमा आएका खबरकै आधारमा आफ्नो धारणा र दृष्टिकोण बनाएका हुन्छन् ।
आजकल सञ्चारका लागि सामाजिक सञ्जाल निकै लोकप्रिय बनेर आएको छ । सामाजिक सञ्चालका दुईवटा विधा यतिबेला निकै चर्चित रहेका छन् । सर्वसाधारणदेखि विशिष्ट व्यक्तिहरूसमेत सामाजिक सञ्जालका यी दुुई विधा फेसबुक र ट्वीटरमा निकै रमाएको पाइन्छ । सामाजिक सञ्जालमा भारतमा प्रधानमन्त्री मोदीलाई ४० करोड नागरिकले पछ्याउँदै उनको समर्थन तथा प्रभाव वृद्धि गर्न विभिन्न सुझाव दिएको पाइन्छ ।
अघिल्लो कार्यकालका अमेरिकाका राष्ट्रपति ट्रम्प यस्ता समर्थन पाउनेहरूको अग्रसूचीमा थिए । हाम्रा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई पनि सामाजिक सञ्जालमा समकालीन नेताभन्दा माथि देखिन्छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन शाह र प्रधानमन्त्री ओलीबीच फेसबुकमा समर्थक बढ्ने र घट्ने प्रतिस्पर्धाले राम्रै स्थान लिएको थियो । यसलाई सामाजिक सञ्जालप्रतिको सकारात्मक दृष्टिकोण मान्न सकिन्छ ।
सरकारले पनि हरेक सरकारी कार्यालयको आधिकारिक फेसबुक पेज खोल्न प्रेरित गरेको देखिन्छ । कार्यालयको आधिकारिक साइटमा आवश्यक जानकारीहरू राख्न र त्यहाँबाट सूचना प्राप्त गर्न सबैलाई सहज पहुँच पुुगेको पनि छ । यसबाट पनि दिनानुदिन सामाजिक सञ्जालप्रति जनचाहना बढ्दो देखिन्छ । तर, सामाजिक सञ्जाल सधैं सबैले असल नियतले नै प्रयोग गरेका छन् भन्न सकिने अवस्था भने छैन । सञ्जालमार्फत् व्यक्ति, संस्था र समूहलाई गाली गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका विषय, व्यक्ति र समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्नेहरूको जमात पनि उत्तिकै सक्रिय छ । खासगरी राजनीतिक हिसाबले बदख्वाइँ गर्ने, व्यक्तिगत आकांक्षा पूरा हुन नसक्दा कसैको चरित्रहत्या गर्ने तथा विभिन्न रूप र स्वरूपमा आकृति बिगार्दै प्रस्तुत गर्ने काम हिजोआज बढी मात्रामा हुने गरेको पाइन्छ । कतिले सञ्जालमार्फत् तनाव नै दिएर आत्महत्यासम्म गर्न पु¥याएका घटनाहरू पनि हामीकहाँ देख्न, सुन्न सकिन्छ । यो निर्लज्जताको पराकाष्ठा हो ।
नियमन जरुरी
नेपालमा फेसबुक र ट्वीटरकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन् । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । ‘घरघरमा इन्टरनेट, हातहातमा मोबाइल’ तत्कालीन सञ्चारमन्त्री कृष्णबहादुर महराले अघि सारेको सञ्चार नीति थियो । दुुर्भाग्य, हिजो तिनै महराले सामाजिक सञ्जालमा व्यापक विरोध र आलोचना सहनुप¥यो । न्यायालयको क्षेत्राधिकारभित्र प्रवेश गरिसकेको विषयलाई न्यायालयले दिने अन्तिम फैसला नआउँदासम्म क्रिया, प्रतिक्रिया दिनु अदालतकै मानहानि हो भन्ने सामान्य कुरा पनि हाम्रा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले बुुझ्न सकेका थिएनन् ।
सामाजिक सञ्जालमा सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् । यो सकारात्मक पक्ष हो । तर, यसको गलत प्रयोग र यसैलाई अभीष्ट पूर्तिको साधन बनाउँदा समस्या आएको छ । यसलाई नियमन गरेर बेलैमा नरोक्ने हो भने थप विकृति र विसंगति आउन सक्छ । यसतर्फ नियामक निकायको ध्यानाकर्षण बेलैमा हुन जरुरी छ ।
आज कैयों मानिसहरू सामाजिक सञ्जालबाट रोमाञ्चित मात्र होइन त्रसित पनि छन् । आधारहीन कुराहरूलाई ठीक बनाउन खोजेको पनि देखिन्छ । फरक समय, सन्दर्भ र स्थानका फोटो र भिडियोहरू अर्कै सन्दर्भमा प्रकाशित र प्रसारित गराएर विषयान्तर गराउन खोजेको पनि पाइन्छ ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो सञ्जाललाई सन्देशमूलक बनाउन जरुरी छ । कुनै पनि हालतमा मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम यी सञ्जालहरू हुनै सक्दैनन् । नेताहरूलाई नंग्याएर, नेतृत्वको चरित्रहत्या गराएर हामीले सामाजिक सञ्जालमार्फत् कसलाई गुन लगाउन खोज्दै छौं ? विचार गर्नैपर्ने हुन्छ । विगतमा कुनै व्यक्तिले शीर्षनेतालाई लिंग परिवर्तन गरेको फोटो पोस्ट गरेको थियो । केही समयअघि परराष्ट्रमन्त्रीविरुद्ध व्यंग्य पोस्ट गरिएको थियो ।
कतिले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई जुत्ता पोलिस गर्दैै गरेको चित्र पोस्ट गरेको पनि देखियो । मधेसवादी दलका नेताका हकमा पनि राट्रवादविरोधी क्रियाकलाप झल्किने गरी सामग्रीसहित आकृति पोस्ट गरिएको पाइन्छ । कतिपय पोस्ट त घरका परिवारसँगै बसेर हेर्नै नसक्ने खालका पनि पाइन्छन् ।
यी कुनै पनि क्रियाकलाप उपयुक्त छैनन् । यसले गर्दा हामीले कसलाई फाइदा गराउन खोजेका छौं ? हाम्रा नेताको चरित्रहत्या गराएर हामीले के विकल्प दिन खोजेका हौं ? राजनीतिको विकल्प राजनीति नै हो । दलको विकल्प अझै राम्रो दल हो । नेताको विकल्प नेतै हो । यसर्थ सुधारात्मक टिप्पणी दिन सकिएला तर नङ्ग्याउने प्रयास सबैतर्फ हानिकारक छ । अझ चरित्रहत्या गर्नेजस्ता निकृष्ट काम त निन्दनीय नै ठहर्छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघसंस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ ।
सदुपयोग गर्न सिकौं
आज मानवता, सहिष्णुता, ज्ञान, विज्ञान पूर्वाधार विकासका कुराहरू आवश्यक छ । यसका लागि सामाजिक सञ्जालबाट विज्ञान र प्रविधिको उपयोगिता बाँड्न सकिन्छ । प्रयोगकर्ताहरूको ध्यान त्यता जानुपर्छ । गरिबहरूको उपचारका लागि, आकस्मिक सहयोगका लागि, ज्ञानगुनका नवीनतम भण्डारको खोजका लागि पर्याप्त मात्रामा यी सञ्जालहरू उपयोगी हुन सक्छन् । समाजमा भए, गरेका असल अभ्यास, उल्लेख्य सकारात्मक घटनालाई पनि सञ्जालमार्फत् सेयर गरेर लाभान्वित हुन सकिन्छ । त्यतातर्फ पनि यसका प्रयोकर्ताहरूले ध्यान दिने हो भने २१ औं शताब्दीमा सुचना र सञ्चारले ल्याएको क्रान्तिको सही सदुपयोग हुन सक्छ ।
बढ्दो साइबर अपराध
विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ । यसको प्रभाव शक्तिशाली र सर्वत्र देखिन्छ । विद्युतीय प्रविधिको गलत प्रयोगले निम्त्याउने यो अपराध अन्य अपराधभन्दा भिन्न शैलीको छ । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पु¥याइने क्षतिलगायत अवैधानिक कार्यलाई पनि विश्वका अधिकांश मुलुकका कानुनले साइबर अपराध मानेको छ ।
हामीकहाँ साइबर अपराध गर्नेहरू अधिक छन् । कानुन फितलो हुनु वा भैरहेको कानुनको कडाइका साथ कार्यान्वयन नहुनुले गर्दा अपराध बढ्दै छ । अपराध नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कारबाही हुने गरेको छ । सो ऐनले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । यो ऐन मात्र पर्याप्त नभएको भन्दै साइबर अपराध रोक्ने छुट्टै कानुन निर्माण गर्नुपर्ने माग पनि बढिरहेको छ । पछिल्लो समयमा खासगरी फेसबुक प्रयोगले साइबर अपराध बढाएको स्पष्ट देख्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै प्रयोगकर्ता भएको सामाजिक माध्यम फेसबुक हो । जसको एन्ड्रोइड मोबाइल छ, उसले फेसबुक अनिवार्य प्रयोग गरेको पाइन्छ ।
एक तथ्यांकअनुसार नेपालमा ६० लाखभन्दा बढी जनसंख्याले इन्टरनेटको प्रयोग गर्छन् र यीमध्ये ४१ लाखभन्दा बढीले सामाजिक सञ्जाल फेसबुकमा पहुँच राख्छन् । जति बढी सामाजिक सञ्जालका प्रयोगकर्ताको संख्या बढ्यो उति नै बढी यसको दुरुपयोग हुने गरेको छ । डाक्टरको हातमा परेको कैंचीले मात्र बिरामीको शल्यक्रिया गर्न सक्छ । मखन्नीको हातमा परेको कैंचीले मान्छे नै मारिदिन्छ । सामाजिक सञ्जाल कतै मखन्नीको कैंची त हुन पुगेको छैन ? सोचनीय बनेको छ ।