काठमाडौं । विज्ञापन बोर्ड र त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबीच शोधवृत्ति प्रदान गर्ने सहमति भएको छ । बिहीबार विज्ञापन बोर्डमा आयोजित कार्यक्रममा सोसम्बन्धी सहमति भएको हो ।
सो सहमति पत्रमा बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईं र विभागका प्रमुख डा. कुन्दन अर्यालले हस्ताक्षर गरेका हुन् । पत्रकारिता तथा आमसञ्चा क्षेत्रमा स्नातकोत्तर, दर्शनाचार्य र विधावारिधि गरिरहेका विद्यार्थीले विज्ञापनको विषयमा शोध गरे त्यस्तो शोधवृत्ति प्राप्त गर्नेछन् ।
विज्ञापन विषयमा अध्ययन अनुसन्धान हुन नसकेकाले विद्यार्थीलाई आकर्षित गर्न यस्तो शोधवृत्तिको व्यवस्था गरिएको विज्ञापन बोर्डले जनाएको छ । शोधवृत्तिले यस क्षेत्रमा अध्ययन र अनुसन्धानमा थप सहयोग पुग्ने अपेक्षा बोर्डले राखेको छ ।
सहमति पत्रमा हस्ताक्षर गर्दै पत्रकारिता तथा आमसञ्चा विभागका विभागीय प्रमुख अर्यालले शोधवृत्तिको व्यवस्थाप्रति विज्ञापन बोर्डलाई धन्यवाद ज्ञापन गरे । उनले यस छात्रवृत्ति विद्यार्थीलाई उपयोगी हुने बताए ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले शोधवृत्तिले विज्ञापनको अध्ययनमा थप सहयोग पुग्ने र विद्यार्थी यसप्रति आकर्षित हुने अपेक्षा गरिएको बताए । सहमतिले त्रिभुवन विश्वविद्यालय र बोर्डबीच समझदारी बढ्नेसमेत उनले विश्वास व्यक्त गरे ।