काठमाडौं । नेपाली चलचित्र अञ्जिला नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ । यो चलचित्र अब २९ फागुनबाट देशव्यापी रिलिज हुने भएको छ ।
यसै क्रममा अञ्जिला ग्रिसको ए डिभिजन क्लब नीस एट्रोमिटोउमा चयन भएकी छिन् । उनी सो क्लबबाट खेल्नको लागि बिहिबार ग्रिसतर्फ उडेकी छिन् । यसैबीच काठमाडौंमा चलचित्र अञ्जिला टिमले पत्रकार सम्मेलन आयोजना गर्दै अञ्जिलालाई सम्मान सहित सो खेलको लागि विदाई गरेको छ ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङ, नेपालकी पहिलो महिला फुटबल टिमकी कप्तान रमा सिंह, राष्ट्रिय पुरुष फुटबल टिमका कप्तान किरण चेम्जोङ, फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामा, अञ्जिला चलचित्रका निर्माता प्रेम श्रेष्ठ, राजेश बगडिया, निर्देशक मिलन चाम्सलगायतले अञ्जिलालाई खादा लगाएर सफलताको शुभकामना सहित बिदाई गरे ।
यो चलचित्र २३ मंसिरमा हङकङमा पहिलो प्रिमियर गर्न लागेको र सो कार्यक्रमको लागि आफुहरु शुक्रबार त्यसतर्फ जाने निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलनमा बताए । प्रिमियरको लागि हङकङमा सबै टिकट बिक्री एक हप्तामै भएको बताउँदै मिलन चाम्सले यो चलचित्रले नेपाली चलचित्र र खेलकुदलाई नयाँ उचाइमा पु¥याउने जिकिर गरे ।
हङकङ पछि चलचित्र अञ्जिलाको १८ जनवरीमा अस्ट्रेलिया, जनवरीको अन्त्यमा जापानमा, १५ फेब्रुअरीमा बेलायतमा, २ मार्चमा कोरियामा प्रिमियर गर्ने पनि निर्देशक चाम्सले जानकारी गराए ।
यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य सुहाङ नेम्बाङले अञ्जिलाको संघर्ष र सफलता नेपाली खेलकुद र चलचित्रको लागि प्रेरणादायी भएको बताए । यो चलचित्रले नेपाली महिला खेलकुदको महत्व र सम्भावनालाई विश्वसामु पु¥याउने विश्वास उनले व्यक्त गरे ।
नेपाली महिला फुटबल टिमकी प्रथम कप्तान रमा सिंहले अञ्जिलालाई सफलताको शुभकामना दिँदै आफ्नो पनि बायोपिक चलचित्र बनाईदिन निर्माण पक्षलाई अनुरोध गरिन् । यस्तै अभिनेत्री तथा खेलाडी अञ्जिलाले युरोपमा खेल्ने अवसर पाएकोमा खुसी व्यक्त गर्दै यो चलिचत्र हेर्नका लागि दर्शकलाई अनुरोध गरिन् ।
चलचित्र अञ्जिलामा कप्तान एञ्जिला सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ र बुद्धि तामाङलगायतको अभिनय छ ।