११ चलचित्र घरमा ताला

काठमाडौं । चलचित्र विकाश बोर्डले नविकरण र बक्स अफिस प्रणाली जडानको लागि पटक पटक गरेको ताकेतालाई अटेरी गरेर चलचित्र देखाउँदै आएका ११ वटा चलचित्र घरमा बोर्डले ताला लगाएको छ ।

थप १० चलचित्र घर कारवाही प्रकृयामा

चलचित्र विकाश बोर्डको अनुमगन टोली मोफसलका विभिन्न चलचित्र घरको अनुमगनमा पाँच दिन अघि निक्लिएको थियो । सोही टोलीले अनुगमनको क्रममा सोमबारसम्म ११ वटा चलचित्र घरमा ताला लगाएको हो । ती चलचित्र घरलाई यस अघि पनि चलचित्र प्रदर्शन गर्न बोर्डले रोक लगाएको थियो । तर अटेरी गरेर नियम विपरित चलचित्र प्रदर्शन गरेका कारण ती चलचित्र घरहरुमा ताला लगाउनु परेको बोर्ड अध्यक्ष दिनेश डिसीले बताए ।

यसरी ताला लगाईएका चलचित्र घरहरुमा मोरङको बिराटचोक स्थित बिराट सिनेमा, मोरङको बिराटनगरमा रहेको हिमालय टाँकिज, सर्लाहीको हरिवनमा रहेको हरिवन सिनेमा, रुपन्देहीको बुटबलमा रहेको द्धारिका उदय सिनेमा प्रा.लि., मकवानपुरको हेटौंडामा रहेको नारायणी मल आचार्य सिने प्लाजा रहेका छन् । यी चलचित्र घरहरुले चलचित्र प्रदर्शनको लागि इजाजत पत्र नलिएको, चलचित्र विकास शुल्क नतिरेको र इजाजतपत्र खारेजी भएर पनि लुकिछिपी चलचित्र चलाएका कारण चलचित्र घरमा ताला लगाउनु परेको पनि बोर्ड अध्यक्ष डिसीले राजधानीलाई बताए ।

यस्तै चलचित्र प्रदर्शनको लागि इजाजत लिएको र इजाजत पत्रको मिति कायम हुँदाहुँदै पनि बक्स अफिस प्रणाली नजोडी आफ्नै मनमानी रुपले कागजी टिकट काटेर चलचित्र देखाएको अन्य ६ वटा चलचित्र प्रदर्शन घरमा पनि ताला लगाईएको छ । यी चलचित्र घरले र निर्मातालाई पुरा व्यापार नदेखाएको आरोप छ । यसरी बक्स अफिस जडान गर्न अटेरी गरेका कारण ताला लगाइएका चलचित्र घरमा धनकुटाको धनकुटा सिनेमा प्रा.लि., सुनसरी स्थित इनरुवाको सिबी सिनेमा प्रा.लि., मोरङको सुशिल चलचित्र मन्दिर, मोरङकै कञ्चन चलचित्र मन्दिर, बाराको गणेश चलचित्र मन्दिर र सुर्खेतको न्यु देवदह चलचित्र मन्दिर रहेका छन् ।

चलचित्र पूर्णबहादुरको सारंगी प्रदर्शन अघि यी मध्य धेरैवटा चलचित्र घरको आफुहरुले चलचित्र प्रदर्शन कार्य बन्द गरेको बताएका थिए । यी चलचित्र घरहरुलाई बक्स अफिस जडानको लागि बारम्बार पत्र पठाउँदा पनि अटेरी गरेर उनीहरुले आफ्नै हिसावले टिकट बनाएर टिकट बेची चलचित्र चलाउँदै आएका थिए । लुकिछिपी रुपमा चलचित्र पूर्णबहादुरको सारंगी प्रदर्शन गरेर हिसाव लुकाएका कारण मुलुकका २१ वटा चलचित्र घरलाई चलचित्र विकाश बोर्डले दुई साता अघि नै कारवाहीको लागि पत्र पठाएको थियो । तर पत्रको अटेरी गरेर अर्को चलचित्र पुष्पा २ पनि लुकिछिपी प्रदर्शन गरेको पाईएपछि यी ११ वटा चलचित्र घरलाई तत्काल बन्द गरेको पनि बोर्ड अध्यक्ष दिनेश डिसीले बताएका छन् ।

‘हामीले त्यहाँको जिल्ला प्रशासन कार्यालय मार्फत पत्र पठाएर बन्द गराएका हौं । यसरी बोर्डले बन्द गरेपछि यी मध्य बुटबलको द्धारिका उदय सिनेमा प्रा.लि., सुनसरीको सिबी सिनेमा प्रा.लि.लगायतका चलचित्र घरका सञ्चालक भने नविकरण प्रकृया अघि बढाउन चलचित्र विकाश बोर्डको सम्पर्कमा आउनु भएको छ ।’ बोर्ड अध्यक्ष डिसीले राजधानीलाई बताए ।

चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ जस्ता संस्थामा यस अघि विभिन्न उच्च पदमा रहेका चलचित्र निर्माताज्यूहरुले नै खोल्नु भएको चलचित्र घरले नै नविकरण नगर्ने, चलचित्र विकाश शुल्क नबुझाउने, बक्स अफिस जडान नगर्ने जस्ता कार्य गरेको पनि बोर्ड अध्यक्ष डिसीले जानकारी गराए ।

सोमबारसम्ममा ११ वटा चलचित्र घरलाई करवाहीको प्रकृयामा ल्याएको बोर्डले बाँकी १० वटा चलचित्र घरलाई पनि यो साता भित्र कारवाही गर्ने बताएको छ । यदि कारवाहीको प्रकृयामा गएर पनि सम्पूर्ण विकाश शुल्क बुझाएर नविनकरण र बक्स अफिस जडानको प्रकृयामा नआएको खण्डमा ती चलचित्र घरहरुलाई खारेजी गर्ने बोर्ड अध्यक्ष डिसीले बताएका छन् । यसरी खरेजी गरिसकेपछि पनि हल सञ्चालनमा आएमा ती हलका सञ्चालकलाई अन्य कानुनी कारवाही पनि हुने बोर्डले जनाएको छ । मोफसलका चलचित्र घरको अनुमगनमा गएको बोर्ड अध्यक्ष काठमाडौं फर्किएका छन् । बोर्डका कर्मचारीले भने अनुमगन कार्यलाई जारी राखेको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 156 times, 1 visits today)

epaper

ताजा समाचार

‘सेकुवा बाई किलो’ को ब्रान्ड एम्बेसडरमा क्रिकेटर लोकेश बम