काठमाडौं । यसअघि नेपाली चलचित्र ‘माला’ र ‘रुद्रप्रिया’को निर्देशन गरेका सुदीप भुपाल सिंह ७ वर्षपछि फेरी चलचित्र निर्देशनमा फर्किएका छन् । उनले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘श्री बुकुरो ः द होम कलिङ’को निर्माण गरिरहेका छन् । आफु हल्ला भन्दा काममा विश्वास गर्ने भएकाले यसपटक सुटुक्क चलचित्र निर्माण गरेको उनले बताएका छन् ।
यो चलचित्रको गुपचुप रुपमा छायांकन सम्पन्न गरेपछि बल्ल उनले चलचित्रको औपचारिक घोषणा गरेका हुन् । बुधबार एक विज्ञप्ति मार्फत उनले नयाँ चलचित्र श्री बुकुरोको छायांकन पुरा भएर हाल पोष्ट प्रोडक्सन भईरहेको जानकारी गराएका छन् ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको यो चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्माको मुख्य भूमिका रहेको छ ।
यो चलचित्रको निर्माण टिमले छायाँपोष्टर पनि सार्वजनिक गरेको छ । पोष्टरमा आशीर्वादसहितका कलाकारहरु चित्रित छन् । चित्रमा एउटा घर र मन्दिर पनि देख्न सकिन्छ । यो चलचित्र ग्रामीण परिवेशको कथामा निर्माण गरिएको निर्देशक भुपालले बताएका छन् । यो चलचित्रको यही हप्ता टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिने पनि निर्देशक भूपालले जानकारी गराएका छन् ।
‘बुकुरोको अर्थ झुप्रो घर भन्ने बुझिन्छ । तिनै झुप्रोमा बस्नेहरुको संघर्षको कथा यसमा प्रस्तुत गरिने भएका कारण पनि चलचित्रको नाम श्री बुकुरो राखिएको हो ।’ निर्देशक भुपालले भने । यो चलचित्रको कथा एउटा परिवारमा केन्द्रित रहेको उनले खुलासा गरेका छन् । पारिवारिक कथामा निर्माण भएको श्री बुकुरोले दर्शकलाई पूर्ण मनोरञ्जन दिने विश्वास यी निर्देशकको छ ।
निर्देशक सिंह स्वयंको लेखन तथा रुबी सेन सिंहको निर्माण रहेको यो चलचित्रमा सञ्जय लामा र राजेश श्रेष्ठको छायांकन रहेको छ । मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंमा छायांकन गरिएको यो चलचित्रमा रञ्जीत गजमेर र बसन्त सापकोटाको संगीत रहेको छ ।