मानव जीवनमा सुन्तलाजात फलफूलको महत्व

फलफूल प्रकृतिको उपहार हो । त्यसमध्ये सुन्तलाजातका फलफूल हाम्रो शरीरलाई उपयोगी हुन्छ । सुन्तलाजातका फलफूलहरूलाई समेट्ने एक अंग्रेजी शब्द सिट्रस हो । सिट्रसअन्तर्गत सुन्तला, मुन्तला, जुनार, कागती, मौसम, निबुवा, ज्यामिर, भोगटे, बिमिरो, ग्रेपफ्रुट, चाक्सी, कमला आदि फलफूल पर्छन् । सिट्रसको फल कलिलोमा प्रायः अमिलो र छिप्पिएपछि अमिलो, गुलियो वा तीतो हुने हुन्छ । फलको भित्री भागमा बियाँ र रसयुक्त केस्रा हुन्छ जसलाई प्रजातिअनुसार बाक्लो वा पातलो बोक्राले बेरिएको हुन्छ । सुन्तलाजातका फलफूलबाट विभिन्न स्वादिष्ट केक, बिस्किट, अचार, अत्तर, धूप, चुक, तेल, प्राकृतिक रंग, रसजस्ता विविध प्रयोगमा आउने भएकाले यो लोकप्रिय तथा अत्यधिक मात्रामा खेती गरिने फलफूलहरूमा पर्छ ।

सुन्तलाजात फलफूलको रूखहरूले आँखालाई शीतलता प्रदान गर्छन् भने हृदयलाई सन्तुष्ट पार्छन् । स्वास्थ्यकर जीवनयापनमा मद्दत गर्छन् । ’cause सिट्रस पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र नियमित सेवनले स्वस्थ, सुन्दर र दीर्घायु जीवन प्रदान गर्छ । सुन्तलाजातको फलफूल बगैंचामा हुँदा बगैंचाको शोभा बढ्नुका साथै अर्थाेपार्जन गर्न पनि मद्दत गर्छ । सुन्तलाजातको फलफूलखेती परापुर्वकालदेखि नै गरिँदै आएको पाइन्छ । यी फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले मानिसले मन पराउने गर्छन् । यी फलफूल हाम्रो गाउँ–सहर, डाँडा–पाखा, लेक–बेंसी, कान्ला–खोंचमा पाइन्छन् । हाम्रोजस्तो जैविक, भौगोलिक र वातावरणीय विविधता भएको देशमा विभिन्न जातका वनस्पतिहरू पाइन्छन् भने सुन्तलाजातअन्तर्गतका धेरै प्रजातिको उत्पत्ति र विविधताको केन्द्र हाम्रो देश पनि पर्छ ।

सुन्तलाजात फलफूल रुटासी परिवारको फूल फुल्ने वनस्पति हो । यसअन्तर्गत धेरै प्रजाति पर्ने भएकाले विभिन्न प्रजातिको उत्पत्ति विभिन्न स्थानमा भएको पाइन्छ । यसका धेरै प्रजातिको उत्पत्ति र विविधीकरण नेपालमा भएको पाइन्छ । संसारमा पाइने सुन्तलाजात फलफूलका प्रमुख जातहरूमा सिट्रस ट्राइफोलिएट, सिट्रस बर्गामिया, सिट्रस साइनेन्सिस, सिट्रस औरान्टियम, सिट्रस नोविसिल, सिट्रस रेटिकुलाटा आदि पर्छन् ।

हाम्रो देशमा पाइने सुन्तला मन्डारिन ओरेन्ज रैथाने जात हो । नेपालमा सयौं वर्ष पुराना सुन्तलाका रूखहरू पाइन्छन् । सुन्तलाजात फलफूल प्रायः उपोष्ण फल भए पनि उष्ण हावापानीमा पनि हुने जातहरू विकास भइसकेका छन् । नेपालमा मध्यवर्ती पहाडी क्षेत्रमा सबै जातका सिट्रस खेती सम्भव छ । साथै तराईमा पनि धेरै जातहरू जस्तै कागती, बिमिरो, भोगटे रोप्ने प्रचलन छ । मध्यपहाडी तथा हिमाली जिल्ला गरी कुल ४२ जिल्लामा सुन्तलाजात फलफूलको व्यावसायिक खेती भएको पाइन्छ । भोगटे र बिमिरो तिहारका लागि विशेष लगाइन्छ र त्यही बेलामा बढी बिक्री हुन्छ भने सुन्तला, कागती र जुनार सदाबहार उपभोग हुने हुनाले बढी व्यावसायिक रूपमा लगाइन्छ ।

नेपालको धेरैजसो भूभाग भिरालो परेको हुनाले यहाँ पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म नै विभिन्न जातका सुन्तलाजात फलफूलको खेती गर्न सकिन्छ । साधारणतया तराई देखिमध्य पहाडको १४ सय मिटर उचाईसम्म सुन्तलाजात फलफूलको राम्रो उत्पादन भएको पाइएको छ । सबै ठाउँमा सबै किसिमको सुन्तलाजात फलफूलको अधिकतम उत्पादन नहुने भएकाले कुन क्षेत्रमा कस्तो सुन्तलाजात फलफूल उपयुक्त हुने हो यकिन गरी सोहीअनुसारको बाली तथा जात छनोट गरी खेती गर्नाले कृषकहरू बढी लाभान्वित हुन सक्छन् । ताजा फलका लागि प्रयोग गरिने सुन्तला, जुनारका लागि ९ सय–१४ सय मिटरसम्मको भौगोलिक क्षेत्र उपयुक्त मानिन्छ । त्यसैगरी, अमिलोको रूपमा प्रयोग गरिने कागती, निबुवा, ३ सय–१२ सय मिटरसम्मको क्षेत्रमा रोपेको पाइन्छ । भोगटेका लागि ४ सय–१२ सय मिटर उपयुक्त मानिन्छ । सात्चुमा सुन्तला (उन्सु) का लागि १५ सय–१७ सय मिटर उत्तम मानिन्छ । साधारणतया सुन्तलाजात फलफूलका लागि घाम लाग्ने पारिलो, पानी नजम्ने जमिन आवश्यक हुन्छ ।

नेपालमा यसको परापूर्वकालदेखि खेती गरिँदै आइएकाले यसको ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पौष्टिक, औषधीय, औद्योगिक, पर्यावरणीय महत्व हुन्छ । बिमिरो, भोगटे तिहारको भाइटीकामा यमराजको रूपमा पूजा गर्ने धार्मिक प्रचलन छ । पूजामा यी फलहरू भगवान्लाई अर्पण गरिन्छ । व्रत बस्नेले व्रत बस्दा वा व्रत तोड्दा फल वा फलको रस सेवन गर्छन् । फलफूल कोसेलीको रूपमा पनि प्रयोग गरिन्छ ।

सुन्तलाजातका फलफूलको उत्पादन लिन सुरु हुन ३ देखि १० वर्ष लाग्छ । सुन्तलाजातका फलफूल खेतीबाट नेपालको पहाडी भेगका कृषकहरूको आर्थिक वृद्धि गर्न सकिन्छ । सुन्तला, जुनार, मौसम, चाक्सी आदि फलहरू ताजै खाइन्छ र प्रशोधन गरेर जुस बनाएर पनि प्रयोग गरिन्छ । यिनीहरूमा प्रशस्त मात्रामा भिटामिन सी, फोलिक एसिड पाइन्छ । कागतीलाई घरायसी औषधिको रूपमा रुघा लागेको बेलामा, बान्ता रोक्न प्रयोग गरिन्छ । सुन्तलाजात फलफूलहरूमा हाम्रो शरीरलाई नभई नहुने पौष्टिक तत्वहरू पाइन्छन् । सुन्तलाजातका फलफूल सेवनबाट धेरै रोगहरूको रोकथाम हुन्छ जस्तै ः क्यान्सर, मुटु रोग, हाइपरटेन्सन, जन्म दोषहरू, क्याटार्याक्ट, छाला चाउरिने, मधुमेह मेलिटास, सीओपीडी, ओस्टियो पोरोसिस, मोटोपना, अल्जाइमर इत्यादि । सुन्तलाजात फलफूलमा पाइने पौष्टिक तत्वमा खनिज, भिटामिन र एन्टिअक्सिडेन्ट मुख्य हुन् ।

अतः नेपाल सुन्तलाजात फलफूल खेतीको लागि उपयुक्त हावापानी भएको देश भएकाले यसको वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी सिर्जना र गरिबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकाय सदा क्रियाशील र समर्पित रहनुपर्छ । सुन्तलाजात फलफूल खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट अध्ययन गरी तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गर्न सके देशैमै रोजगारीको सिर्जना गरी बिदेसिएका तथा विदेश पलायन हुन लागेका युवाहरूलाई देशमै क्रियाशील गराई आर्थिक क्षेत्रलाई चलायमान बनाउन सकिने थियो ।

तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबाट अध्यक्षका उम्मेद्वार विरुद्ध वेरुजु रहेको उजुरी