काठमाडौं । चिनियाँ चलचित्रका दर्शकलाई मध्यनजर राख्दै यही २५ पुसमा काठमाडौंमा ‘चाईना फिल्म डे’ मनाईने भएको छ । नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउन काठमाडौंमा पहिलो पटक चाइना चलचित्र दिवस आयोजना गर्न लागिएको काठमाडौं स्थित चिनियाँ दूतावासले जनाएको छ । ठमेल स्थित छायाँ सेन्टरको क्युएफएक्स सिनेमामा विभिन्न चलचित्र प्रदर्शनसँगै यो दिवस मनाउन लागिएको हो ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ, र नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीले संयुक्त रूपमा चाईना चलचित्र दिवस आयोजना गर्दैछ । यो दिवसमा तीनवटा चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिने छ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता, निर्देशक र कलाकारहरुले दर्शकहरुसँग अन्तक्र्रिया समेतगर्ने एक आयोजक केपी पाठकले जानकारी गराएका छन् ।
‘यो चलचित्र दिवसले दुवै देश बीच आगामी दिनमा चलचित्र निर्माण, प्रबर्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्य रहेको छ । यसले सांस्कृतिक आदान प्रदानको अवसर प्राप्त हुने हाम्रो विश्वास छ’, नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले भने ।
यो दिन पहिलो शोको रुपमा चिनियाँ चलचित्र हर स्टोरी प्रदर्शन हुनेछ । यीहुई साओले निर्देशन गरेको यो चलचित्र २ घन्टा ३ मिनटको छ । यस्तै युडी झाङ निर्देशित चलचित्र मिडसमर्स भ्वाइस र फेई लङ निर्देशित चलचित्र जी फर ग्याप पनि सोही दिन क्रमश प्रदर्शन गरिने भएको छ ।
पूर्व अर्थमन्त्री बर्षमान पुनको प्रमुख आतिथि रहने यो कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकार, निर्देशक, प्राविधिकहरू, र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने आयोजक पक्षको कनथ छ । चिनियाँ चलचित्र दिवसमा चिनका १४ जना चलचित्रकर्मी सहभागी हुनेछन् ।