नेपालको हस्तकला उद्योगका वस्तुहरू विश्वभर प्रसिद्ध छन् । हाल यहाँबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादनहरू विभिन्न देशहरूमा निर्यात गरिन्छ ।
वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली हस्तकला उद्योगका सामानहरू प्रचुर मात्रामा निर्यात गरिन्थ्यो । परन्तु, सन् २००५ पछि यहाँ भएका महामारी, नाकाबन्दी आदि कारणले यहाँको हस्तकला उद्योग फस्टाउन सकेन ।
जुनसुकै उद्योगको विकासका लागि गुणस्तरीय कच्चा पदार्थले महत्वपूर्ण भूमिका खेल्छ । तर, गुणस्तरयुक्त कच्चा पदार्थको कमीले गर्दा नेपाली हस्तकलाका उत्पादन मागअनुरूप अभिवृद्धि गर्न सकिएको छैन ।
उदाहरणका लागि, विश्व बजारमा नेपाली पश्मिनाको धेरै माग छ । तर, यसका लागि आवश्यक कच्चा पदार्थको बेलाबेलामा अभाव हुनाले मागअनुसार उत्पादन गर्न सकिएको छैन । यति मात्र नभई वनजन्य कच्चा पदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय संकाय, समुदाय, प्रहरी आदिबाट बारम्बार गरिने अवरोधले यहाँको हस्तकला उद्योग प्रवर्धनमा नकारात्मक प्रभाव परेको छ । वास्तवमा यहाँको हस्तकलाका वस्तु उत्पादन बिन्दुबाट सिधै उपभोक्ता विन्दुसम्म पुग्न र उक्त वस्तुहरू उत्पादनका ’boutमा स्पष्ट प्रमाणित लिपिबद्ध लिखतहरू नहुनाले पनि यहाँको हस्तकला उद्योगमा बाधा पुगेको छ ।
नेपालबाट नियात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनको रूपमा दिँदै आएको रकम ज्यादै न्यून छ । तर, यसलाई बढाउन सरकारको ध्यान अझसम्म पनि आकृष्ट हुन सकेको छैन । त्यसैले भविष्यमा यसका लागि सम्बन्धित निकायको थप प्रयासको आवश्यकता छ ।
आज विश्व प्रत्येक व्यापारका लागि ई–कमर्सतर्फ अग्रसर भइरहेको छ । किन्तु, नेपालमा हालसम्म पनि परम्परागत व्यापार गर्ने प्रणाली अपनाउनाले यहाँको हस्तकला उद्योगले खास गति लिन सकेको छैन । अतः भविष्यमा यसतर्फ आबद्ध हुनु जरुरी छ ।
सरकारले मूल्य अभिवृद्धिका ऐन, २०५२ जारी गरेसँगै यहाँ उत्पादित हस्तकलाका वस्तुलाई कर छुट दिने निधो गरेको थियो । यद्यपि, सो निधोलाई आजसम्म पनि पूर्ण रूपमा लागू गर्न नसक्नाले यहाँको हस्तकला प्रवर्धनमा खासै प्रभाव परेको छैन । भविष्यमा सो निधोलाई व्यवहारमा उतार्न आवश्यक छ ।
नेपाली हस्तकला उद्योगको विकासका लागि तालिम प्राप्त कालिगड तथा कामदारहरूको आवश्यकता पर्छ । जुन नेपालमा अभाव भएकाले छिमेकी राष्ट्र भारतबाट बारम्बार झिकाउनुपर्ने अवस्था छ । यहाँको युवाहरूलाई उक्त उद्योगमा आकृष्ट गर्न नसकिएकाले यस्तो अवस्था सिर्जना भएको हो । भविष्यमा उनीहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ ।
वास्तवमा युवाहरूको सहभागिताबिना नेपाली हस्तकला उद्योगको ठोस विकास गर्न सम्भव छैन । उनीहरूलाई सो उद्योगमा आकर्षित गर्न नियमित रूपमा तालिम, गोष्ठी, कार्यशाला र प्रदर्शनीको आयोजना गर्न आवश्यक छ । योबाहेक हस्तकलासम्बन्धी चेतनामूलक वृत्तचित्र एवं श्रव्य–दृश्य सामग्रीहरू उत्पादन गरी व्यापक प्रचार–प्रसार गर्न पनि उत्तिकै जरुरी छ ।
वर्तमान शताब्दी प्रचार–प्रसारको युग हो । जसको माध्यमद्वारा यहाँको हस्तकलाको सामानहरूको बिक्री वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । त्यसैले भविष्यमा प्रचारप्रसारमा विशेष जोड दिनुपर्छ ।
नेपाली हस्तकला उद्योगको प्रवर्धनका लागि आगामी दिनहरूमा यहाँको निर्यात प्रवर्धन गर्न नितान्त आवश्यक छ । यसका लागि विगतमा यहाँको हस्तकला निर्यात गरिएका देशका उपभोक्ताहरूको रोजाइअनुसारका हस्तकलाका वस्तुहरूको उत्पादनमा विशेष जोड दिनुपर्छ । योबाहेक नयाँ मुलुकहरूमा पनि सो वस्तुहरूको निर्यात गर्ने निरन्तर प्रयत्न गर्नुपर्छ ।
नेपाली हस्तकला उद्योगको विकासका लागि सम्बन्धित ऐन–नियमहरूले पनि महत्वपूर्ण भूमिका खेल्छन् । अतएव सो उद्योगसँग सम्बन्धित विद्यमान ऐन–नियम, उद्योग व्यवसायसम्बन्धी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन, प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, आयकर ऐन, कम्पनी ऐन, विद्युतीय कारोबारसम्बन्धी ऐन, भन्सार ऐन, बिमा ऐन, विदेशी विनिमय सम्बन्धी ऐन आदिमा उल्लिखित कारोबारहरूको प्रावधानहरूबाट पर्न सक्ने असरहरूको विश्लेषण गरी संशोधनका लागि नेपाल हस्तकला उद्योग महासंघले सम्बन्धित क्षेत्रमा पहल गर्न अत्यावश्यक छ । जसको फलस्वरूप भविष्यमा सो उद्योगको प्रवर्धनमा ठूलो सघाउ पुग्नेछ ।
नेपालको हस्तकला उद्योगको विकासका लागि विशेषतः नेपाल हस्तकला उद्योग महासंघ जिम्मेवार छ । वास्तवमा कुनै पनि संघसंस्थाको अस्तित्व तब मात्र सार्थक हुन्छ जब त्यसले आफ्नो विकासका लागि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रका सम्बन्धित पक्ष तथा व्यक्तिहरूसँग सम्पर्क गरी आफ्ना काम गर्न गराउन सफल हुन्छ । तर, सो महासंघद्वारा यहाँको समग्र हस्तकला उद्योगको लागि हालसम्म पनि कुनै उल्लेखनीय कार्य हुन सकेको छैन । त्यसैले भविष्यमा यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।
नेपालको हस्तकला उद्योगको विकासका लागि सही तथ्यांकको ज्यादै आवश्यक छ । जसको लागि हस्तकला निर्माता, स्थानीय बिक्रेता र निर्यातकर्ताहरूका बीचमा सक्रिय समन्वयको जरुरी छ । यसका लागि सो महासंघले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।
नेपालमा हस्तकला उद्योगको ठोस विकास गर्न विद्यमान समस्याहरूको पहिचान गरी समाधान गर्न आवश्यक छ । यसका लागि नेपाल हस्तकला उद्योग महासंघ र सम्बन्धित निकायहरूको सक्रिय सहयोगको खाँचो छ ।
वित्तीय पहुँच पुग्न नसकेको हस्तकला उद्योगबाट आर्थिक वर्ष २०७९–८० मा झन्डै २५ अर्ब रुपैयाँको कारोबार भई १२ अर्ब रुपैयाँबराबरको हस्तकलाका सामानहरू निर्यात गरिएको कुरा एक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ । सो तथ्यांकले नेपाली हस्तकलाका वस्तुहरूले यहाँको निर्यात व्यापार वृद्धि गरी व्यापारघाटा कम गर्न सघाउ पु-याउने कुरा इंगित गर्छ ।
नेपालबाट नियात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनको रूपमा दिँदै आएको रकम ज्यादै न्यून छ । तर, यसलाई बढाउन सरकारको ध्यान अझसम्म पनि आकृष्ट हुन सकेको छैन । त्यसैले भविष्यमा यसका लागि सम्बन्धित निकायको थप प्रयासको आवश्यकता छ ।
केही वर्षयता यहाँ हस्तकला उद्योग विस्तारित हुँदै गए पनि यसको समसामयिक प्रवर्धन गर्न नितान्त आवश्यक छ । यसबाहेक भविष्यमा नेपाल सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश गरिएका हस्तकलाका वस्तुहरूको प्रचारप्रसार गरी निर्यात व्यापार प्रवर्धन गर्न जरुरी छ । यसका लागि बेलाबेलामा स्वदेश तथा विदेशमा हस्तकलासम्बन्धी मेला तथा प्रदर्शनी सञ्चालन गर्न जरुरी छ ।
नेपाली हस्तकला उद्योगको प्रवर्धनका लागि हाल वागमती प्रदेशमा मात्र केन्द्रित सो उद्योग आगामी दिनहरूमा अन्य प्रदेशहरूमा पनि स्थापना गर्न आवश्यक छ । जसका लागि उपयुक्त ठाउँहरूको छनोट गर्नुपर्छ ।
नेपालमा बेरोजगारीका समस्या दिन प्रतिदिन तीव्ररूपले बढिरहेको छ । त्यसैले प्रत्येक वर्ष यहाँका युवाहरू रोजगारीका लागि बिदेसिने क्रम निरन्तर रुपले बढिरहेको छ । यदि भविष्यमा यहाँका उपयुक्त ठाउँहरूमा हस्तकला उद्योगहरू स्थापना गर्न सकेमा केही युवाहरूका लागि मात्र भए पनि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने कुरा जगजाहेर छ । जुन कुरा सम्बन्धित पक्षले बुझ्नुपरेको छ ।
नेपाल एक अति कम विकसित देश भएकाले यहाँका केही क्षेत्रमा खासगरी दुर्गम क्षेत्रमा गरिबी व्याप्त छ । यहाँको झन्डै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । जसलाई अरू त के कुरा बिहानबेलुकाको हातमुख जोड्ने समस्या समाधान गर्न पनि धौधौ पर्छ । तसर्थ, भविष्यमा यिनीहरूलाई हस्तकला उद्योगमा संलग्न गराउन सके यहाँ विद्यमान बेरोजगारी तथा गरिबी न्यूनीकरणमा सघाउ पुग्नेछ ।
नेपालको हस्तकला उद्योग धेरै वर्षअघिदेखि प्रचलित भए तापनि सन् १९७५ देखि २००५ सम्मको आँकडा मनन गर्दा नेपाली हस्तकला उद्योगको निर्यात उल्लेख्य हुन थालेको देखिन्छ । सन् २००५ पश्चात् यहाँ विद्यमान विभिन्न परिवर्तन, नाकाबन्दी आदिको कारणले उक्त उद्योग केही खस्केको छ ।
हालसम्म पनि नेपालमा हस्तकला उद्योगको लागि आवश्यक माटोजन्य, वनजन्य र पशुजन्य कच्चा पदार्थहरू आवश्यकतानुसार सहजै प्राप्त गर्न सकिँदैन । अरू त के कुरा विश्व बजारमा प्रसिद्ध पश्मिनाको मागअनुरूप उत्पादन गरी निर्यात गर्न पनि बेलाबेलामा कच्चा पदार्थहरूको अभाव हुन्छ । यही कारणले यहाँको हस्तकला उद्योग हालसम्म पनि राम्ररी फस्टाउन सकेको छैन ।
नेपालबाट विदेशमा निर्यात गरिने हस्तकलाका सामानहरूमा हालसम्म सरकारले दिँदै आएको नगद प्रोत्साहन निकै कम छ जुन हालसम्म पनि नबढाइएकाले उक्त सामानहरूको मागअनुसारको उत्पादन अभिवृद्धि गर्न सकिएको छैन । यसबाट यहाँको निर्यात व्यापारमा नकारात्मक प्रभाव परेको छ ।
नेपालमा वन पैदावारबाट उत्पादन गरिने हस्तकलाका सामानहरू उत्पादनका लागि प्रयोग गरिने वनजन्य कच्चा पदार्थहरूको ओसारपसारको लागि स्थानीय निकाय, समुदाय र प्रहरी प्रशासनद्वारा हस्तकला उद्योगीहरूलाई बेलाबेलामा दुःख दिन्छन् । यस्ता कुकृत्यहरूबाट उनीहरू निरुत्साहित भएका छन् ।
नेपालमा हस्तकलाको प्रमुख समस्याको रूपमा ढुवानी रहँदै अएको छ । एकतर्फ उत्पादन बिन्दुबाट सिधै उपभोक्ताको विन्दुसम्म खसाल्न नसक्नु र अर्कोतर्फ उत्पादनसम्बन्धी प्रमाणित लिपिबद्ध लिखतहरू उपलब्ध गराउन नसक्नाले यस्तो समस्या झेल्नुपरेको छ ।
हस्तकला उद्योगको विकासको लागि तथ्यांक एवं अनुसन्धानको आवश्यकता छ । परन्तु, नेपालमा आजसम्म पनि यस सम्बन्धमा ध्यान नदिनाले यहाँ हस्तकला उद्योग अपेक्षाअनुरूप फस्टाउन सकेको छैन ।
आज विश्व ई–कमर्सतर्फ उन्मुख भइरहेको छ । तर, नेपाल यस सम्बन्धमा निकै पछि परेकाले यहाँको हस्तकला उद्योगको व्यापक प्रचारप्रसारको लागि बाधा पुगेको छ ।
नेपाली हस्तकला उद्योगहरूमा प्यारेन्ट राइटको व्यवस्था छैन । तसर्थ, यहाँ उत्पादित हस्तकलाका सामानहरूको नक्कल एवं चोरीबाट उक्त उद्योगका व्यवसायीहरू मारमा परेका छन् । यसबाहेक यहाँका हस्तकलाका सामानहरूको उचित बजार मूल्यको कमी, हस्तकलाको सामानहरूसम्बन्धी प्रभावकारी ऐन तथा नियमावलीको अभाव आदि कारणहरूले स्थानीय बजारमा नकारात्मक प्रभाव परेको छ ।
सरकारले मूल्य अभिवृद्धि कर जारी गरेपछि यहाँ उत्पादित हस्तकलाका सामानहरूलाई पनि कर छुट प्रदान गरेको छ । तर, यसलाई व्यवहारमा उतार्न सकिएको छैन ।
नेपालको हस्तकला उद्योगको प्रवद्र्धनका लागि एकतर्फ नयाँ देशहरूसँग व्यापार गर्न आवश्यक छ भने अर्कोतर्फ धेरै वर्ष अघिदेखि निर्यात गरिएका देशहरूमा व्यापार बढाउन आवश्यक छ । यसका लागि सम्बन्धित पक्षको ध्यान आकृष्ट हुनुपरेको छ ।
हस्तकला नेपालको प्रमुख निर्यातमूलक वैदेशिक मुद्रा आर्जन गर्ने उद्योगहरूमध्ये एक हो । हाल यहाँबाट वार्षिक अन्दाजी १२ अर्ब रुपैयाँ मूल्यको हस्तकलाको सामान विश्वको ६० भन्दा बढी देशमा निकासी हुन्छ । सोही रकमबराबरका सामान स्वदेशी बजारमा कारोबार भई सो उद्योगले यहाँको अर्थतन्त्रमा वार्षिक २४ अर्ब रुपैयाँको हाराहारीमा योगदान गर्दै आएको छ । यहाँको कुल निर्यातमा सो उद्योगको अंश ६ प्रतिशत छ ।
यहाँ हस्तकला उद्योगका सामान उत्पादनका लागि स्वदेशी कच्चा पदार्थहरूका धेरै प्रयोग हुन्छ । परन्तु, केही हस्तकलाका सामान गुणस्तरीय बनाउन नसक्नाले आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन ।
आजकाल विदेशी लगानीबाट नवीन प्रविधि भित्याई यहाँ हस्तकला उद्योगबाट बढी लाभ लिन सकिने कुरा चर्चामा आएको छ । तर, हस्तकलाका सामान हातबाट बनाइने हुँदा ग्राहकहरू उच्च मूल्य तिर्न पनि तयार हुने कुरा बिर्सन हुँदैन । त्यसैले भविष्यमा यहाँको हस्तकला प्रवर्धनका लागि गहन अध्ययन अनुसन्धान गर्न आवश्यक छ ।