काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन तथा त्यसको नियन्त्रण एवं रोकथामका लागि लागु गरेको लकडाउ १० दिन थप्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रीपरिषद बैठकले जारी लकडाउनलाई २५ बैशाखसम्म लम्व्याउँने निर्र्णय गरेको हो । यस अघि भएको निर्णय अनुसार सोमबारदेखी लकडाउन सकिदै थियो ।
अर्थ एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले अत्यावश्यक सेवाबाहेक घरबाहिर हिँडडुल र आवातजावतमा लगाइएको प्रतिबन्धलाई २५ वैशाखसम्म थप्ने निर्णय भएको बताए ।
‘कोरोना भाइरसको संक्रमण नियन्त्रण एवं रोकथामका लागि सरकारले जारी लकडाउनको अवधी थप्ने निर्णय गरेको छ’ मन्त्री खतिवडाले भने, ‘१० दिन थपेर २५ बैशाखसम्म कायम गर्ने निर्णय भएको छ ।’
उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले तत्कालै लकडाउन खुकुलो बनाउने परिस्थिति नरहेको निष्कर्ष निकाल्दै लकडाउन थप्न सुझाव मन्त्रीपरिषद बैठकमा प्रस्तुत गरेको थियो ।






