हाम्रो देश प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण छ । समग्र नेपालीको जीविकोपार्जन, विकास र प्रगतिमा यहाँ रहेको प्राकृतिक सम्पदाको उचित व्यवस्थापन र दिगो उपयोगको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक सम्पदाहरूमध्ये वनजंगल तथा यहाँभित्र पाइने अलौकिक तथा अद्वितीय जडीबुटी तथा गैरकाष्ठ वन पैदावरको महत्वपूर्ण स्थान रहेको छ । देशभित्र पाइने सूचीकृत करिब ७ सय प्रजातिका गैरकाष्ठ वन पैदावार नेपाल र नेपालीका लागि मात्र होइन, समग्र जीवजन्तु, मानवजाति र विश्व समुदायलाई प्रकृतिको अद्वितीय उपहार हो । गुणस्तर जीवनका लागि जडीबुटीको यस्ता वनस्पतिको महत्वपूर्ण योगदान छ । मानवको स्वास्थ्य ठीक हुन शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रूपमा तन्दुरुस्त हुन आवश्यक छ । स्वस्थ नागरिक र स्वस्थ समाजद्वारा नै देशको विकास सम्भव छ ।
अपार सम्भावना बोकेको महत्वपूर्ण जडीबुटी र गैरकाष्ठ वन पैदावार देशको समग्र र समावेशी विकासका महत्वपूर्ण साधन हुन् । बर्सेनि अर्बौं धनराशिका विभिन्न गैरकाष्ठ वन पैदावारहरू विदेश निकासी भइरहेका छन् । देशका ग्रामीण एवं दुर्गम भेगका असंख्य नेपालीको आम्दानी एवं जीविकोपार्जनको प्रमुख आधार गैरकाष्ठ वन पैदावारको संकलन तथा बिक्री वितरणबाट अर्बौं धनराशि बर्सेनि भित्रिन्छ । कफीलगायत अन्य महत्वपूर्ण जडीबुटीको बिक्री वितरणबाट गुल्मी, पाल्पा, अर्घखाँची, इलामजस्ता जिल्लाहरूमा करोडौं रुपैयाँ भित्रिन्छ ।
कफीको पृष्ठभूमिलाई हेर्दा यसको उत्पत्ति अरब, एवाइसिनियाको पहाडी भागमा भएको मानिन्छ । कफीलाई अरबियनहरूले नै सबैभन्दा पहिला प्रयोगमा ल्याएको पाइन्छ । अरबी प्रजातिको कफी सबैभन्दा पहिला इथियोपियामा काल्दी नाम गरेको गोठालाले पत्ता लगाएको पाइन्छ । कफीका फल खाएका बाख्राले केही असाधारण व्यवहार देखाएकाले त्यसलाई मानिसले खाँदा उत्तेजना र स्फूर्ति आएकाले यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्दै आएको पाइन्छ । कफी उत्पादन गर्ने देशमा ब्राजिल, भियतनाम, कोलम्बिया, इन्डोनेसिया, इथियोपिया, भारत, होन्डुरस, युगान्डा, मेक्सिको र ग्वाटेमाला प्रमुख छन् । नेपालमा सर्वप्रथम सन् १९३८ सालमा गुल्मीको आँपचौरमा खेती गरिएको पाइन्छ । त्यसपछि क्रमिक रूपमा विस्तार भई हाल देशका ५४ जिल्लामा कफी खेती गरिएको छ । जसमध्ये काभ्रे, नुवाकोट, गुल्मी, कास्की, लमजुङ आदि अग्रस्थानमा छन् ।
नेपालमा सर्वप्रथम सन् १९३८ सालमा गुल्मीको आँपचौरमा खेती गरिएको पाइन्छ । त्यसपछि क्रमिक रूपमा विस्तार भई हाल देशका ५४ जिल्लामा कफी खेती गरिएको छ । जसमध्ये काभ्रे, नुवाकोट, गुल्मी, कास्की, लमजुङ आदि अग्रस्थानमा छन् ।
कफीको बीउको कप्टेरालाई भुटी पिसेर धूलो बनाई गरम पानीमा राख्दा विशेष प्रकारको बास्ना आउने गर्छ र एक उत्तेजनात्मक पेयको रूपमा प्रयोग गरिन्छ । कफीका दानाहरूमा १ दशमलव २ देखि २ दशमलव ६ प्रतिशतसम्म र बजारमा पाइने इन्सटेट कफीमा शून्य दशमलव १ देखि शून्य दशमलव ३ प्रतिशतसम्म कफिनको मात्रा हुने गर्छ । कफीलाई यसको विशेष स्वादका लागि चकलेट, क्यान्डी, आइसक्रिम र खाद्यपदार्थमा पनि मिसाउने चलन छ । कफी रुबियसी परिवारअन्तर्गत समूहमा पर्छ । कफीका ६ वटा विभिन्न प्रजाति छन् । तीमध्ये मुख्यतः अरबिका, रोबुस्टा, लाइबेरिका जातका कफीको खेती गरेको पाइन्छ । विश्वमा उत्पादन हुने अधिकांश कफी अरबिका कफी नै हो । नेपालमा पनि यही जातको कफीखेती गरिन्छ ।
अरबिका कफीको बोट वयस्क हुँदा करिब ३ दशमलव ५ मिटर अग्लो हुन्छ । हाँगाहरू साना, मसिना र दुवै साइडमा तेर्सिएर माथिपट्टि बढ्छन् । पात चिल्लो, लाम्चो र टुप्पातिर तिखो हुन्छ । फलहरू झुप्पामा सरदर १५ देखि २० वटा लाग्छन् । पाक्दा फलको रङ कलेजी रातोबाट गाढा कालो रातो हुन्छ । अरबिकाअन्तर्गतका जातमध्ये केन्ट, कुर्ग, चिक्स, ब्ल्यु माउन्टेन, गोल्डेन ड्रप अथवा अमेरिलो मुख्य छन् । कफी रोबुस्टा जातिका पातहरू अरबिकाको भन्दा ठूलो र केही खस्रा हुन्छन् । बोटहरू पनि ठूला हुन्छन् । एउटा झुप्पोमा २५ देखि ५० वटा फल लाग्छन् । पातको रङ तामाजस्तो हुन्छ । यी जातमा अरबिकाको तुलनामा कम रोग लाग्छन् । यो जातलाई गर्मी हावापानीमा पनि बढी उत्पादन गर्न सकिन्छ । त्यस्तै, लाइबेरिका जातका कफीका बोटहरू करिब ७ दशमलव ५ मिटर अग्लो हुन्छ । यो काटछाँट नगरी सिधै बढ्न दिइन्छ । बोटको काण्ड करिब ४० सेमि गोलो हुन्छ । यसको पात १५ सेमि चौडा, छालाजस्ता बाक्ला र लुसो हरियो खालका हुन्छन् । फलहरू गुच्छामा दुई–तीनवटा मात्र हुने गर्छ । बिरुवाहरू कम मलिलो, बलौटे माटामा पनि फस्टाउने गर्छ ।
कफी नेपालको परम्परागत बाली होइन । अरबिका कफीका विभिन्न जातहरू बर्मा, भारत, ब्राजिल, पपुवान्युगिनी, एल साल्भाडोर आदिबाट नेपाल भित्याइएका छन् । तिनीहरू वोर्बाेन, टिपिका, पाकस, काटिसिक, टेकिसिक, कातुरा, सेलेक्सन–१०, काटिमोर, काबेरी आदि हुन् । कफीको उत्पादनका लागि नर्सरी स्थापना तथा व्यवस्थापन महत्वपूर्ण हुन्छ । यसका लागि माउबोट छनोटदेखि रोप्ने, बिरुवा हुर्काउने तथा बिक्री वितरण नभएसम्म गरिने सम्पूर्ण कार्य नै नर्सरी व्यवस्थापन हो । कफीको बीउका दुई स्रोत हुन्छन् जुन प्रमाणित स्रोतबाट खरिद गर्ने तथा माउबोट छनोट गरी बीउ तयार गर्नु हो । व्यावसायिक खेतीका लागि आवश्यक कफीका जातमा हुनुपर्ने गुणहरूमा अनुसन्धान प्राप्त निकायबाट प्रमाणित बीउ, राम्रो बास्ना र मीठो स्वाद भएको, ठूला फल र फलमा दिउलको अनुपात बढी भएको, रोग, कीरा नलाग्ने वा सहन सक्ने, सुक्खापन सहन सक्ने, आँख्लाबीचको दूरी कम भएको, शाखा हाँगा र प्रशाखा हाँगा न धेरै न थोरै पलाउने, विभिन्न हावापानीमा उत्पादन हुन सक्ने, कम छहारीमा पनि राम्रोसँग उत्पादन हुने आदि पर्छन् ।
नेपालमा कफीखेतीलाई योजनाबद्ध तरिकाबाट विकास गर्नलाई राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना भएको छ । नेपालको हावापानी र प्राकृतिक तथा भौगोलिक बनावटको आधारमा कफीखेती हाम्रो देशमा सम्भावना धेरै छ । सोअनुसार अझै कफीखेती उत्पादन गर्न सकिएको छैन । हाम्रो घरमा तथा विभिन्न उत्सवमा आउने पाहुनाहरूलाई आदरका साथ सबैभन्दा पहिले कफी पिऊँ भन्ने प्रचलन रहेको छ । अतः कफीखेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट तीनै तहको सरकारले व्यावसायिक रूपमा विकास गर्न सकेमा वैदेशिक रोजगारीमा विदेश पलायन भएका युवाशक्तिलाई देश, गाउँ तथा घरमै रोजगारी सिर्जना गरी नेपाल कफीमा आत्मनिर्भर भई विदेशमा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । सोबाट नेपाल समृद्धिको यात्रामा अघि बढ्न सक्छ । यसका लागि सम्बन्धित निकायले प्रभावकारी भूमिका खेल्न अति आवश्यक छ ।
(लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।)






