पर्दामा किन बिक्छ गरिबीको कथा ?

काठमाडौं । ग्रामीण समाजका गरिब दुःखीहरुको कथा समेटिएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारंगी’ सुपरडुपर हिट भयो । यस चलचित्रले नेपालमा मात्र करिब ५० करोड रुपैयाँको व्यापार ग-यो ।

तीन दर्जन चलचित्रघरमा सफल प्रदर्शनको ५१औं दिन मनाएको चलचित्र अझै प्रदर्शन भइरहेको छ । ग्रामीण कथा पर्दामा ल्याएर अहिलेसम्मकै सर्वाधिक सफलता हासिल गरेपछि निर्देशक सरोज पौडेलले अर्को चलचित्र ग्रामीण क्षेत्रकै विपन्न कथामा निर्माण गर्दै छन् ।

छायांकन तयारी गरिरहेको ‘कोसेढुंगा’मा पनि गरिबी र विपन्नताका कथा उठान गरिएको उनी बताउँछन् । कुनै एक समय थियो, जतिबेला ग्रामीण क्षेत्रका विपन्नताका कथा बुनेर पर्दामा प्रस्तुत गरिन्थ्यो । एक दशकअघिबाट विपन्नभन्दा सुकिला कथा पर्दामा प्रस्तुत गर्ने क्रम मौलायो ।

सम्पन्न कथा पर्दामा ल्याउँदा ठुलै बजेट लाग्ने नै भयो, तिनका दर्शकसमेत सीमित भए । सोही कारण पछिल्लो समय विपन्नका कथा पर्दामा देखाउने क्रम बढेको छ । यही क्रममा चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले सबैभन्दा ठूलो बाजी मा-यो । यही शुक्रबारबाट रिलिज शेर्पा संस्कृतिमा आधारित ‘कार्साङ’ पनि विपन्नताकेन्द्रित छ ।

चरम गरिबीका कारण आफन्तसँग समेत हेपिएको दुई परिवारको कथामा केन्द्रित चलचित्रले राम्रो व्यापार गरिरहेको छ । रिलिजको पाँचौं दिनसम्म आइपुग्दा लगानी सुरक्षित भएको ‘कार्साङ’का निर्देशक यम शेर्पाले बताए । आफू ग्रामीण क्षेत्रमा विपन्न र गरिब परिवारमा हुर्किएका कारण ‘कार्साङ’मार्फत ती परिवेश पर्दामा ल्याएको उनले प्रस्ट पारे ।

पछिल्लो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ले विपन्नताका कथा बेचेर करोडौं कमाएपछि यस्तै कथाका चलचित्र निर्माणक्रम बढेको छ । विपन्न र गरिबीको कथा बोकेका थुप्रै चलचित्र दर्शकमाझ आउँदै छन् । जीवन सेन्चुरीको निर्देशनमा आगामी २५ माघमा रिलिज हुन लागेको ‘जुना’को मंगलबार टिजर रिलिज गरियो । सो चलचित्रमा पनि विपन्नताकै कथा समावेश गरिएको छ ।

‘पूर्णबहादुरको सारंगी’को सफलताले हौसिएका निर्देशक सेन्चुरी आफ्नो ‘जुना’को कथाले दर्शकको मन छुने दाबी गर्छन् । अस्मीता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहरा, अस्मीता बस्नेतलगायतको अभिनय रहेको चलचित्रमा गरिबी र विपन्नतासँगै बालविवाह, छाउपडी समस्या उठान गरिएको सेन्चुरीको कथन छ ।

त्यस्तै, आगामी १४ फागुनबाट रिलिज हुन लागेको ‘फेरि रेशम फिलिली’ पनि ग्रामीण क्षेत्रको कथामा प्रस्तुत गर्न लागेको निर्माता रौनकविक्रम कँडेल बताउँछन् । नेपालमा बहुसंख्यक दर्शक विपन्न परिवारबाट भएका कारण नियमित चलचित्रमा विपन्न परिवारकै कथा उठाउँदै आएको कँडेल सुनाउँछन् । २०८१ सालको आँकडा हेर्दा सम्पन्न र सुकिला कथाभन्दा विपन्न कथाले दर्शकको मन बढी जितिरहेको छ ।

गत वैशाखमा रिलिज दयाहाङ राईको ‘डिग्री माइला’ र ‘मनसरा’मा पनि गरिबीकै कथा थियो । यी चलचित्रमा गाउँदेखि सहरसम्म संघर्ष गरेकाको कथा थियो । दुवै चलचित्रले बक्सअफिसमा राम्रै मुनाफा कमाए । गत जेठमा रिलिज दुई चलचित्र ‘पुजार सार्की’ र ‘गाउँ आएको बाटो’ पनि व्यावसायिक रूपमा सफल साबित भए ।

यी दुवै चलचित्रमा ग्रामीण क्षेत्रका विपन्नता र पात्रले गरिबीविरुद्ध गर्नुपरेको संघर्ष देखाइएका छन् । गत असारमा रिलिज ‘घरज्वाइँ’ र भदौमा रिलिज ‘खुस्मा’मा पनि ग्रामीण क्षेत्रका गरिब पात्रको संघर्षको कथा केन्द्रित थियो । यी चलचित्र व्यावसायिक रूपमा सफल पनि भए । अझ आर्थिक रूपमा ‘घरज्वाइँ’भन्दा ‘खुस्मा’ले बढी मुनाफा कमायो ।

दुवै चलचित्र छायांकन रुकुममा गरिएका थिए । दुवै चलचित्रलाई दर्शकले रुचाए । आफू ग्रामीण क्षेत्रमा हुर्किएको र विपन्नतामा निरन्तर संघर्षपछिको कथा देखेको ‘खुस्मा’का निर्देशक अशोक थापामगरको कथन छ । सोही कारण आफूले ग्रामीण क्षेत्रको विपन्नता उठान गरेको उनले बताए ।

नेपालको वर्तमान अवस्थामा पनि विपन्न वर्ग नै ठूलो संख्यामा रहेकाले अझै केही समय उनीहरूकै कथा पर्दामा बढी रुचाइने थापामगरको आँकलन छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चितवनमा बस दुर्घटना, २५ बढी घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर महानगर प्रमुखमा कांग्रेसका २५ जनाकाे दावी, उपप्रमुखमा २४ जनाकाे नाम दर्ता