धार्मिक पर्यटनमा शालीनदी क्षेत्र

बाग्मती प्रदेशअन्तर्गत काठमाडौं जिल्लाको पूर्वी क्षेत्रमा रहेको शंखरापुर नगरपालिका २०७३ सालमा भएका स्थानीय तहको पुनःसंरचनापश्चात् साविकको इन्द्रायणी, पुखुलाछी, बज्रयोगिनी, लप्सेफेदी, सुनटोल र नांलेभारे गाविस मिलाएर बनेको हो । हाल कुल ९ वटा वडामा वर्गीकरण गरिएको यस नगरपालिका ऐतिहासिक रूपमा करिब ३३ सय वर्षअगाडि जोगदेव बज्राचार्यले कलिगत संवत् १८०१ मा योजना बनाई शंखको आकारमा साँखु सहरको परिकल्पना गरी बनाएको हुँदा यस नगरको नामकरण शंखरापुर नगरपालिका गरिएको पाइन्छ । कुल ६० दशमलव २१ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस नगपालिका भक्तपुर, सिन्धुपाल्चोक, काभ्रे जिल्लालगायत काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा नगरपालिकासँग जोडिएको छ । यस नगरको मुख्य विशेषताको रूपमा ऐतिहासिक सांखु सहरलगायत बज्रयोगिनी, शालीनदी, माधवनारायण आदि रहेका छन् ।

‘साँदयाँक्वे’ अर्थात् तिब्बतमुनिको देश भनेर पहिले यस नगरपालिकाको साँखु सहरलाई चिनिन्थ्यो । ऐतिहासिक रूपमा यो ठाउँलाई पहिले साँक्व भनिन्थो । पछि बेलायतीहरूले नक्सा बनाउँदा साँखु भनेर बनाए भन्ने मान्यता छ ।

साँखु बजारमा रहेका चार ढोकाको छुट्टै आफ्नै ऐतिहासिक महत्व छ । साँखुमा चार ढोका छन् । हरेक ढोकाको फरक अर्थ र काम छन् । उत्तर पश्चिमको देव ढ्वाखा । यो ढोका देउता ल्याउन र लैजान मात्र प्रयोग हुन्छ । विशेषगरी, जात्राको समयमा देवता हिँडाइन्छ । उत्तरपूर्व सिढ्वाखा । यहाँबाट मुर्दा लैजानेबाहेक अरू काम गर्न वर्जित छ । दक्षिणपश्चिम, भौ ढ्वाखा । यसबाट दुलहीलाई स्वागत गरिन्छ । दक्षिणपूर्व म्हे ढ्वाखा । छोरी अन्माएर पठाइन्छ ।

साँखुलाई स्कन्द पुराणले ‘लावण्य देश’ पनि भनेको छ । साँखुमा आठको संयोग पनि गज्जबको छ । यहाँ आठवटा टोल, आठवटा बाटो, आठवटा कुलो, आठवटा डबली, आठवटा विहार, अष्टभैरव र अष्टविनायक छन् । बज्रयोगिनीका आठ बहिनी थिए । उनीहरूलाई चारैतिर राखेकाले सबै आठ बनाइएको जानकारहरूको भनाइ छ । यसरी बज्रयोगिनीले सबै बन्दोबस्त गरेपछि देशको नाम शंखरापुर र राजाको नाम शंखदेव राखिएको मनिशैलमा लेखिएको छ ।

साँखु बजारबाट एक–डेढ किलोमिटर पूर्वतर्फ शालीनदी छ । यहाँ पौष शुक्लपूर्णिमादेखि माघशुक्लपूर्णिमासम्म श्री स्वस्थानी देविको उपसाना गरिन्छ । यस वर्षको स्वस्थानी आरम्भ २९ पुसदेखि भएको छ । एक महिनासम्म भनिने कथा सत्ययुगिन इतिहास हो । स्कन्दपुराण, केदारखण्डका अनुसार प्रायः हरेक हिन्दू धर्मावलम्बीको घरमा श्री स्वस्थानीे कथा सुन्ने चलन छ । सत्ययुगमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् । माघ स्नानमा शालीनदीमा स्नान गरी नजिकै रहेको हरिहरको पूजाआराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेअनुसारको फल प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

शालीनदी क्षेत्रमा प्रसिद्ध माधवनारायणको मूर्ति, ठूलाठूलापाटी र सत्तलहरू छन् । सुवर्ण त्रिनेत्रधारी प्रसन्न मुद्रामा रहेकी कमलनयनी सिंहासनमा बसेकी चार हात भएकी देवीले सम्पूर्ण भक्तको मनोआकांक्षा पूरा गर्छिन् भन्ने ठूलो जनविश्वास छ ।

नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक तथा ऐतिहासिक पर्यटनलाई नयाँ आयामका साथ वैकल्पिक व्यवसायका रूपमा विकास गर्नु उपयुक्त देखिन्छ ।

काठमाडौं जिल्लामा रहेको शंखरपुरक्षेत्र प्राकृतिक, धार्मिक तथा ऐतिहासिक पर्यटन केन्द्र हो तर सो क्षेत्रको उचित व्यवस्थापन, संरक्षण र प्रवर्धनको अभावमा अपेक्षित सफलता प्राप्त गर्न सकिरहेको छैन ।

शंखरपुर क्षेत्र भू–बनोट प्राकृतिक सुन्दर र ऐतिहासिक, सांस्कृतिक समृद्धिका दृष्टिले अद्वितीय रहेको छ । यस क्षेत्र मनोरम प्राकृतिक सुन्दरता, वातावरणीय एवं जैविक विविधतासहित विभिन्न प्रजातिका जीवजन्तु र वनस्पतिले भरिपूर्ण छ । मनोरम सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वका संगमस्थल हो । शंखरापुर क्षेत्र नेपालको ऐतिहासिक थलोको रूपमा समेत रहेको पाइन्छ । यहाँको परम्परागत जीवनशैली र सभ्यताको प्रतिनिधित्व गर्दै आएको सांस्कृतिक र ऐतिहासिक धरोहर शंखरपुरहो । सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण शंखरापुरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षण गरी भविष्यमा यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । धार्मिक पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र संवर्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्धन गर्नु अहिलेको समयको माग हो ।

त्यस्तै, ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण एवं प्रवर्धन प्रभावकारी नहुनु, पर्यटकीय क्षेत्रको पहिचान एवं सम्भावनाका लागि कुनै योजना नहुनु, व्यवस्थित रूपमा होमस्टेलगायत पर्यटकीय सुविधाहरूको उपलब्धतामा कमी, सुरक्षित पर्यटनप्रति आश्वस्त पार्न नसक्नु, शौचालयको अभाव, पर्यटन प्रवर्धनका निम्ति आवश्यक नीति नियम तथा ज्ञानको अभाव, पर्यटकीय विकासका लागि आवश्यकीय सूचना, बाटो, धारा, पथप्रदर्शकहरू आदिको अभाव प्रमुख समस्याको रूपमा रहेका छन् । जसको फलस्वरूप यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, शंखरपुर क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता छ ।

अतः यस पालिकाको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सिर्जना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । शंखरापुर नगरपालिकामा रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ । त्यस्तै, सो पालिकाको विकासका लागि व्यवस्थित बाटोघाटोको व्यवस्था, टे«किङ रुटको सम्भाव्यता अध्ययन, प्रभावकारी होमस्टेको स्थापना, पुरातात्विक अन्वेषण र संरक्षण, धार्मिक पर्यटनलाई प्रोत्साहन, पर्यटन सूचना केन्द्रको स्थापना गरी आन्तरिक तथा बाह्य पर्यटनलाई आकर्षण गर्ने अभियान गरी नमुना पर्यटन नगरपालिका निर्माण गर्नु आजको आवश्यकता हो ।

प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यक छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै यस शंखरापुर नगरपालिका क्षेत्रभित्रका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगको रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो ।
(लेखक गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन्)

तपाइको प्रतिक्रिया
(Visited 135 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ