पोखराको पार्टी प्यालेसबाट १५ लाख चोरी

पोखरा । पोखरामा चल्तीको एक पार्टी प्यालेसबाट ३ दिनअघि झण्डै १५ लाख चोरी भयो । पोखरा–८, सिर्जनाचोकस्थित साइमन पार्टी प्यालेसको कार्यालय कक्षको -याकमा राखिएको १४ लाख ७४ हजार रुपैयाँ एक्कासि चोरी भएपछि हल्लाखल्ला भयो ।

पार्टी प्यालेस संचालकले चोरी भएको राति ११ माघको सिसि टिभी फुटेज हेरे । त्यहाँ भेटिए–आफ्नै पूर्व कर्मचारी ।

पार्टी प्यालेस संचालक विनोद पौडेलले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिए । कास्की प्रहरीले घटनाको २ दिनमै चोरीमा संलग्नलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देही जिल्लाको देवदह नगरपालिका १० घर भएका २२ वर्षीय ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका ३ की २९ वर्षीया पूजा श्रेष्ठ हुन् । उनीहरुलाई प्र्रहरीले बुटवल उपमहानगरपालिका वडा ११, कालिका नगरको एक होटलबाट नगद १२ लाख ५२ हजार ५८० रुपैयाँसहित पक्राउ गरेको हो ।

कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले उनीहरुविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको बताए । डिएसपी शर्माले प्राप्त उजुरीपछि चोरीमा संलग्नको फोन ट्रयाक आधारमा रुपन्देही प्रहरीको सहयोगमा पक्राउ गरिएको बताए ।

उता, पार्टी प्यालेस संचालक पौडेलका अनुसार आफूहरुले पार्टी प्यालेसको संरचना थप गरिरहेकोमा विवाह पार्टीबाट जम्मा भएको रकम तथा ढुंगा, बालुवा र गिट्टीको पैसा तिर्न भनी ¥याकमा राखेको उक्त परिणामको रकम पूर्व कर्मचारीबाटै चोरी भएको जानकारी दिए ।

ईश्वर र पूजा उक्त पार्टी प्यालेसमा करिब चार महिनाजति वेटर पदमा काम गरी गत ८ माघमा मात्र जागिर छाडेका थिए । पौडेलले भने, ‘लेकसाइडमा काम पायौं भनी उनीहरु दुवैले एकैपटक माघ ८ गते जागिर छाडेका थिए । त्यसको २ दिननबित्दै सिसि टिभी आधारमा उनैले चोरी गरेको पाइयो । म त छक्क परें ।’ उनीहरु पतिपत्नी नभए पनि पछिल्लो समय सँगै बस्ने गर्दै आएका थिए । केटीले पहिले अर्कैसँगै बिहे गरी छाडेकी थिइन् ।

११ माघ राति १ बजे भएको सो चोरी’bout संचालक विनोदले भोलिपल्ट ¥याक खोल्दा चोरी भएको थाहा पाएका थिए । रकम चोरी गर्नेक्रममा ¥याकको चाँबी फोडिएको थियो भने नजिकैको सिसिटिभी फुटाइएको थियो ।

घटनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले टोलीले अनुसन्धान जारी राखेको थियो । कास्की प्रहरीका अनुसार उनीहरुको साथबाट साढे १२ लाख बरामद गरे पनि बाँकी रकम खर्च गरिसकेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

फास्ट ट्र्याक अदालत गठन गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा