मकवानपुर । आम नागरिकको समस्या सम्बोधनको लागि सत्ता पक्ष र प्रतिपक्षिबीच प्रतिष्पर्धा हुने चासो र चिन्तन हुने भैदिए सर्वसाधारण वर्गले पनि आफ्नो सरकार रहेको आभाष गर्ने थिए । तर सर्वसाधारणले सरकारको औचित्यमाथि प्रश्न गरिरहेको बेला बजेटको सवालमा द्वन्द्व हुदाँ निराशा झनै बढ्ने देखिन्छ ।
अघिल्लो सरकारको पालामा पनि बजेटमाथिको विवादकै कारण लामो समय बागमतीमा संसद चलेन । अहिले फेरी पुरानै रोग बल्झिएको छ । सदनका लागि पर्याप्त बिजनेस नभएको भन्दै विपक्षी दलले माग गरे पनि सरकारले ४ महिनासम्म बैठक राख्न सकेन । तर, चार महिनापछि भोलि शुक्रबार १८ माघको लागि बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गरिएको छ । आजै प्रदेश सभाको सातौं वार्षिक उत्सव समेत रहेकोले विशेष कार्यक्रम पनि छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले माघ १८ गते बिहान ११ः०० बजेका लागि अधिवेशन बैठक आह्वान गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख देवकोटाले प्रदेशसभाको पन्धौँ अधिवेशन आह्वान गरेका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेशसभा आह्वान भए पनि सत्ता र प्रतिपक्षबिचको अन्तद्र्वन्द्वले समस्या हुने देखिएको छ । बजेटमाथिको विवादको असर प्रदेशसभाको अधिवेशनमा समस्याका रूपमा देखिने भएको हो । सत्तापक्षले सहजै प्रदेशसभा सञ्चालनको वातावरण तयार नगरेको प्रतिपक्षको आरोप छ ।
सरकारको रणनीति कुरेर माओवादी बसेको छ भने, सरकारमा सानो दलको रुपमा रहेको राप्रपा सशक्त भूमिका देखाउने तयारीमा छ ।
प्रदेशसभा सञ्चालनमा सरकारको उपस्थितिका आधारमा अघि बढ्ने माओवादी केन्द्रले तयारी गरेको छ । अहिलेकै अवस्थामा बैठक सञ्चालन हुन नसक्ने माओवादीले केन्द्र दाबि गर्दै आएको छ । “सरकारको रणनीतिका आधारमा हामी अघि बढ्ने योजनामा छौं” माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले भने “सरकारको रणनीतिअनुसार प्रतिपक्षको भूमिका निर्धारण गगछौं,सरकारले वातावरण तयार बनाए संसद् अघि बढ्छ नत्र बढदैन ।”
सरकारले प्रदेशसभा सञ्चालनका लागि प्रतिपक्षसँगको छलफल गरी उचित निर्णय गराए मात्र बैठकका कार्यक्रम अघि बढ्ने उनको भनाइ छ । प्रतिपक्ष दलहरूसँगको सहमति कार्यान्वयनमा सरकारले उदासीन भएको उनले आरोप लगाए ।
प्रतिपक्षि दलले विषेशगरी प्रदेशस्तरमा बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयनको माग गरेको छ । सो कार्यदलको प्रतिवेदनमा समावेश भएको बजेट कार्यान्वयनका सवालमा उचित निर्णय हुनुपर्ने प्रतिपक्षिको माग छ । “प्रदेशसभाका सदस्यहरूको सिफारिसमा परेको योजनामा बजेट थप गर्ने सहमतिसमेत भएको थियो, त्यसमा पनि सरकारले निर्णय गर्नुपर्छ”ढकालले भने ।
यता गत असोजको दोस्रो साताको विपद् व्यवस्थापनका सन्दर्भमा असोजपछिका बैठकहरूको विषयमा सरकारले ठोस कदम चाल्न नसकेको आरोप पनि प्रतिपक्षिको छ । विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले मृतकलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउनेबाहेक अन्य काम गर्न सकेको छैन ।
विपद् प्रभावित नागरिकको अस्थायी आवास निर्माणका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भए पनि सरकारले त्यो काम अघि बढाएको छैन । विपदको क्षतिमा पुनर्निर्माण गर्नतर्फ सरकारले स्रोत सुनिश्चितता गर्न सकेको छैन ।
यता संसदको सबैभन्दा सानो दल राप्रपाले सबैभन्दा सशक्त भूमिका देखाउने तयारी गरेको छ । राप्रपा सरकारको अर्को प्रतिपक्ष दल हो । प्रदेशसभामा ठुला पार्टी हाबी भएको र सर्वसाधारणको सवालमा सरकार तथा विशेषगरी ठुलादलहरु संवेदनशीन नभएको आरोप राप्रपाको छ । पार्टीका संसदीय दलका नेता उद्धव थापाले प्रदेशसभा सञ्चालनको विषयमा सत्ता र प्रतिपक्षबिचको समस्या हल गरेर अघि बढ्नुपर्ने बताउँछन् । संसद सञ्चालन गरी नागरिकका समस्या हल गर्न अघि बढ्नुपर्ने उनको भनाइ छ । बजेट कार्यान्वयनको सन्दर्भमा बनेको कार्यदलको प्रतिवेदन कार्यान्वयन हुन नसकेको र सरकारले प्रतिपक्षको साझा मागलाई सम्बोधन नगरेको प्रति थापाले सरकारी उदाशिनताको पराकाष्ट नाघ्न थालेको बताए ।
“संसद्लाई सक्रिय र नागरिकका माग मुखरित हुने गरी सञ्चालन गर्नुपर्छ” उनले भने, “हिजो बजेट बनाउने दल अहिले प्रतिपक्षमा छन् । हिजो प्रतिपक्षको हिसाबले सम्झौता गर्नेहरू अहिले सरकार चलाइरहेका छन्, फेरी पनि किन के पुगेन, अझै पनि उहाँहरूलाई नै पुगेन भन्ने सुन्दैछु ।” सरकारका सत्तापक्ष र प्रतिपक्षिले साना दललाई देखाएर मौका उठाउने काम गरिरहेका आरोप छ ।
बजेटका सन्दर्भमा निरन्तर प्रतिपक्षमा बसेको राप्रपाचाहिँ वास्तविक पीडित रहेको उनले बताए । “ठुला दलहरू सत्ता र प्रतिपक्षको नाममा स्वार्थ सिद्ध गर्न केन्द्रित छन्, राप्रपा संसदबाटै आफ्ना विषयहरू सशक्त उठाउने र आवश्यक परे संसद् बन्द गर्नेसम्मको हैसियत राख्छ” थापाले भने ।
प्रदेश सरकारको अर्को प्रतिपक्षि दल नेकपा एकीकृत समाजवादीले पनि सरकारले जनताको मर्कालाई नजरअन्दाज गरेको आरोप लगाए । नेकपा एकीकृत समाजबादी बागमती प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा खनालले सरकार गलत शैलीमा चल्दा नागरिकका समस्या समस्या सम्बोधन हुन नसकेको बताउँछन् । सरकारले दुई पटक बजेट कार्यान्वयनका विषयमा सहमति गरेर पनि कार्यान्वयन नगरेको र एकलौटी चलेको उनको आरोप छ ।
शुक्रबार ११ बजेको लागि प्रदेश सभाको १५ अधिवेशन आव्हान गरिएको छ भने दिउँसो वार्षिक उत्सव कार्यक्रमको तयारी गरिएको छ ।






