सिंहदेवी स्व.कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको सेमिफाइनलमा

इटहरी । स्व. कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनकुटा सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको अन्तिम क्वाटरफाइनल खेलमा सिंहदेवीले गाइघाट फुटबल क्लब गाइघाटलाई ३–२ गोल अन्तरल पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यससँगै सेमिफाइनल संस्करण पूरा भएको छ ।

धनकुटाका लागि खेलको ३३ मिनेटमा शिशिर लेखी, ३९ र ७२ मिनेटमा राजु लिम्बूले २ गोल गरी टिमलाई जिताए ।

उदयपुरका लागि खेलको ६ मिनेटमा अमन लामा र ५९ मिनेटमा आकाश राईले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच धनकुटाका राजु लिम्बू घोषित हुँदै नगद पाँच हजार प्राप्त गरे । अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टिमबाट पटकपटक गोल गर्ने अवसर प्राप्त भएपनि खेलाडीहरू चुकेका थिए ।

कोशी प्रदेशस्तरीय प्रतियोगिताको इटहरी ५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भइरहेको छ । अब सोमबार पहिलो सेमिफाइनल खेल लोहोरुङ फुटबल क्लब संखुवासभा र दमक एकेडेमी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आयोजक द योङ ब्रदर्श क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार प्रतियोगिताको विजेता टिमले नगद दुई लाख ५० हजार प्राप्त गर्नेछ । उपविजेता टिमले नगद एक लाख ३० हजारमा चित्त बुझाउनेछ ।

अघिल्लो वर्ष विजेतालाई दुई लाख २२ हजार प्रदान गरिएको थियो भने उपविजेताले एक लाख ११ हजार रुपैयाँ प्राप्त गरेका थिए । तर, यस वर्ष पुरस्कार राशि बढाइएको उनले बताए ।

प्रत्येक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद पाँच हजार प्रदान गरिनेछ । यसैगरी विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, उत्कृष्ट गोलरक्षकलाई नगद १० हजार, उत्कृष्ट डिफेन्डरलाई नगद १० हजार, उत्कृष्ट मिड फिल्डरलाई नगद १० हजार, उत्कृष्ट स्ट्राइकरलाई नगद १० हजार र सर्वाधिक गोलकर्ता खेलाडीलाई नगद १० हजारसहित ट्रफी र मेडलसहित प्रमाणपत्र वितरण गरिने खेल संयोजक एवम् क्लबका संरक्षक विकास केसीले जानकारी दिए ।

प्रतियोगितामा २२ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी