ठाडोभाका प्रतियोगितामा बराल पहिलो

लमजुङ । लमजुङमा सञ्चालन गरिएको लोपोन्मुख ठाडोभाकाको प्रतियोगितामा २६ वर्षीय नवीन बराल पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो नवौं स्थापना दिवसको तीन दिवसीय ठाडोभाका मेलाका अवसरमा सो प्रतियोगिता भएको हो ।

लमजुङको दोर्दी गाउँपालिका– ८ को यहाँ सञ्चालन गरिएको तीन दिने ठाडोभाका मेलामा सञ्चालित विभिन्न तीन प्रतियोगितामा लोपोन्मुख ठाडोभाका प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ९ भोटेओडार निवासी २६ वर्षीय नवीन बरालको टोली पहिलो भएर नेपाली लोकसंस्कृतिको क्षेत्रमा नयाँ कीर्तिमान कामय गरेको छ ।

उनको टोलीमा सोही नगरपालिका– ९ की देउकुमारी गुरुङले महिला टिमको नेतृत्व गरेकी थिइन् । २०७६ सालमा आयोजना गरियो उक्त पहिलो प्रतियोगिताको पहिलो चरणमै १ अंकले बाहिरिएको नवीन बरालको सो टोली २०७९ को प्रतियोगितामा दोस्रो भएको थियो । ठाडोभाकाको यो वर्ष सञ्चालित प्रतियोगिताको छैटौं शृंखला हो ।

सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ११, सिन्दूरे निवासी बमबहादुर दुराको टोलीले दोस्रो स्थान हासिल गरेको छ । सो टोलीमा महिलातर्फ सोही स्थानकी काशीमाया दुराले नेतृत्व गरेकी थिइन् । यसैगरी, बेसीशहर नगरपालिका– ८ निवासी कृष्णमान श्रेष्ठ तेस्रो हुनु भएको छ । सो टोलीमा महिलातर्फ बागलुङ शर्मिला विसीले नेतृत्व गरेको आयोजक संस्थाका वरिष्ठ उपाध्यक्ष युवराज घिमिरेले बताए ।

सान्त्वनातर्फको पहिलो स्थान रोधिं टेलिभिजन पोखराका टसबहादुर गुरुङको टोलीले हासिल गरेको छ । सो टोलीमा सुन्दरबजार नगरपालिका– ९ पैह्रे निवासी मीना गुरुङले महिलाको नेतृत्व गरी गायत गरेकी थिइन् । यसैगरी, सान्त्वनातर्फको दोस्रो स्थान दोर्दी गाउँपालिका– ८ निवासी सोममाया गुरुङले हासिल गरेकी थिइन् । सो टोलीमा पुरुषतर्फ टिकाराम विकले सोममायालाई साथ दिएका थिए ।

ठाडोभाकाको सो प्रतियोगितामा एक टोलीमा महिला र पुरुष तीन÷तीन जना हुनु पर्ने प्रावधान राखिएको थियो ।

ठाडोभाका मेलाको समापनका अवसरमा दोर्दी गाउँपालिकाकाका अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यता थियो । उहाँका साथमा आयोजक प्रतिष्ठानका सल्लाहकार एवम् पूर्वप्रशासक रमेशचन्द्र अधिकारी, प्रतिष्ठानका संरक्षक एवम् ठाडोभाका महानायक बुद्धिमान दुरा ‘धम्पु’, प्रतिष्ठानका अध्यक्ष नवराज पहाडी सहितले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।

सो प्रतियोगितामा पहिलो हुने टिमलाई नगद ४० हजार र प्रमाण पत्र, दोस्रो हुने टिमलाई नगद २५ हजार र प्रमाणपत्र, तेस्रो हुने टिमलाई नगद १५ हजार र प्रमाणपत्र, सान्त्वनातर्फ पहिलो टिमलाई १० हजार र प्रमाणपत्र तथा दोस्रो हुने टिमलाई आठ हजार रुपैया र प्रमाण पत्र प्रदान गरिएको आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार सो प्रतियोगितामा १४ टिमले भाग लिएका थिए । उनले भनिन्, ‘प्रतियोगितामा भाग लिन आउने टोली सबैलाई बाटो खर्च वापत तीन हजार रुपैयाँका दरले प्रत्साहन पुरस्कार दिइएको थियो ।’

पुरस्कार वितरण पछि प्रमुख अतिथि अधिकारीले करिब डेढ सय वर्ष अघि हिजोका दिनमा देउबहादुर दुरा र पञ्चैसुब्बाले सिर्जना गरेको यो भाका पछि भेडीखर्के साइलाबाट जीवन्त हुन पुग्यो भने ऐले त्यसको संरक्षणका लागि प्रतिष्ठान स्थापना भएपछि यो भाकाले मौलाउने मौका पाउँदै आएको बताए ।

अध्यक्ष अधिकारीले यो गीत यति लामो समयसम्म आफूलाई पहिलो पटक सुन्ने मौका मिलेको भन्दै कार्यक्रममा बसेको झण्डै पाँच घण्टाको अवधि बिताएको पत्तै भएन, यो गीत हाम्रो चिनारी र सम्पत्तीको यसको संरक्षण हुन जरुरी छ उनले भने । यस्तो कार्यमा लाग्नु हुने प्रतिष्ठानका संरक्षक, सल्लाहकार पूर्वप्रजिअ रमेशचन्द्र अधिकारी, अध्यक्ष नवराज पहाडी सहित सबैको योगदान बिर्सन नमिल्ने बताए ।

उनले यस्ता लोकसंस्कृतिको बचाउनु स्थानीय सरकारको पनि दायित्व हो भन्ने हामीले बुझेका छौं, त्यसका लागि हामीले गाउँपालिकाले वार्षिक बजेटमा पाँच लाख रुपैयाँ विनियोजन गर्ने गरेको जानकारी दिए । उनले तत्कालै प्रतिष्ठानको आजीवन सदस्यता समेत ग्रहण गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार रमेशचन्द्र अधिकारीले मनको भावना पोख्दै संस्कृतिको बचाउने गर्ने कार्यमा इटा थप गर्न यो कार्यक्रम गरिएको बताउनु भयो । उहाँले कलाकारहरूलाई अश्लिल शब्दको प्रयोग नगर्न, भेषभुषाका साथ गीतको प्रस्तुति गर्न स्झाब दिनु भएको थियो ।

प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीले ठाडोभाको मेलाले लोकसंस्कृतिको इतिहासमा नयाँ पाना थप्ने काम गरेको छ, ठाडोभाका भनेको पुराना पाका ५० वर्ष माथि उमेरकाले मात्रै गाउने भन्ने थियो । आज २६ वर्षका भाइले प्रतियोगिता पहिलो भएर रेकर्ड ब्रेक गरेका छन् । यसले नयाँ पुस्तामा यो गीत हस्तान्तरण हुँदैछ भन्ने उदाहरण हो भने ।

उक्त मेलाको उदघाटनका अवसरमा ठाडोभाकाकी जेष्ठ गायिका ८१ वर्षीया धनकुमारी रानामगरलाई सम्मान गरिएको थियो । वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलका साथै प्रतिष्ठानमा विभिन्न पुरस्कार राख्नु हुने पुरस्कारका संस्थापकहरू रमेशचन्द्र अधिकारी, बुद्धिमान दुरा ‘धम्पु’ र कृष्ण केसीलाई सम्मान गरिएको थियो । ८१ वर्षीया धनकुमारी रानामगरले सम्मान भएपछि ठाडोभाका गाएर सबैलाई चकित बनाएकी थिइन् । उनले ठाडोभाका गाएरै विवाह गरेको समेत जानकारी दिइन् ।

सामाजिक विकास कार्यालय र दोर्दी गाउँपालिकाको प्रवद्र्धनमा ठाडोभाका मेलाका साथमा सो प्रतियोगिताका अतिरिक्त बाघचाल प्रतियोगिता र पात बजाउने प्रतियोगिता समेत गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

epaper

ताजा समाचार

हेटौँडा सहिद स्मारकमा गत आवमा पाँच लाख पर्यटक