काठमाडौं । अभिनेता हरिवंश आचार्यको शीर्ष भूमिका रहेको चलचित्र हरिबहादुरको जुत्ताको छायांकन सुरु भएको छ । यो चलचित्रलाई छायांकन थालनी गरेसँगै रिलिज मिति पनि घोषणा गरिएको छ । चलचित्रलाई आगामी दसैँको फूलपातीमा रिलिज गर्ने निर्माता सरोज ओलीले राजधानीलाई बताए ।
चलचित्रमा निर्मातामा सरोजसँगै हरिवंशका छोरा मोहितवंश आचार्य रहेका छन् । दीपेन्द्र के खनालको निर्देशन यो चलचित्रको काठमाडौँमा अहिले छायांकन भइरहेको छ ।
यो चलचित्रमा हरिवंश आचार्यको जोडीको रूपमा प्रियंका कार्की रहेकी छिन् । चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खडका, किरण केसी, मुरलीधरलगायतका कलाकार पनि शीर्ष भूमिकामा रहेका छन् ।
यो चलचित्र ४५ दिनसम्म काभ्रे र काठमाडौँका विभिन्न स्थानमा छायांकन गरिने यसका निर्माता सरोजले बताएका छन् । यो चलचित्र हरिबहादुर (हरिवंश)को संघर्षको कथामा केन्द्रित रहने पनि ओलीले बताए । चलचित्र हास्य प्रधान जनरामा निर्माण हुँदै छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मह जोडीको चर्चित टेली चलचित्र हरिबहादुर मदनबहादुरको पात्र हरिबहादुरबाट प्रभावित रहेको पनि ओलीले बताए । चलचित्रमा हरिवंश आचार्यको कन्सेप्ट र कथा रहेको छ । तथापि यो चलचित्रमा मदनकृष्ण श्रेष्ठलाई भने अहिलेसम्म अनुबन्धित गरिएको छैन ।






