काठमाडौं । पछिल्लो समय नेपाली चलचित्रको अन्तराष्ट्रिय बजारमा प्रिमियर गर्ने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘अञ्जिला’को बेलायतको एल्डरसटस्थित एम्पायर हलमा भव्य शनिबार बेलुका प्रिमियर सम्पन्न भएको छ ।
यो चलचित्र नेपालमा २९ फागुनबाट रिलिज हुँदैछ । रिलिज अघि विदेशमा यसको प्रिमियर गरिएको निर्देशक मिलन चाम्सले राजधानीलाई बताए । उनले यस अघि चलचित्र गोर्खा वारियरको पनि बेलायतमा भव्य रेड कार्पेट प्रिमियर गरेका थिए ।
‘नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा यो चलचित्र आधारित छ । प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेसहित बेलायतमा रहेका नेपाली चलचित्रकर्मीहरू, व्यवसायीहरू तथा सर्वसाधारण दर्शकहरूको उपस्थिति थियो’, प्रिमियरको जानकारी दिँदै निर्देशिक चाम्सले चलचित्र हेरेपछि धेरैले राम्रो प्रतिक्रिया दिएको राजधानीलाई बताए ।
चलचित्रको प्रिमियर समारोहमा यो चलचित्रका निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको उत्प्रेरणाको लागि राज्यबाटै धेरै काम हुनुपर्ने बताए । आफूले त नेपाली खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पु¥याउन अञ्जिला निर्माण गरेको जानकारी गराए । कार्यक्रममा उनले भने, ‘नेपालमै पहिलो पटक हामीले फुटबल खेलाडीको जीवनीमा आधारित चलचित्र बनाउने कोसिस गरेका छौँ । खेल क्षेत्रको उन्नतिका लागि यो चलचित्र बनाइएको हो र नेपाली खेल क्षेत्रमा अझै धेरै कथालाई चलचित्रमा उतार्न बाँकी छ ।’

नेपालमा जारी अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका कारण चलचित्रकी मुख्य पात्र एञ्जिला भने बेलायत प्रिमियरमा उपस्थित हुन सकिनन् । चाम्सका अनुसार उनी सहित यो चलचित्रको प्रिमियरको लागि नेपालबाट यस चलचित्रकी कलाकार सिर्जना सुब्बा, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह–निर्माता विनोद अग्रवाल, चलचित्र निर्देशक समाजका महासचिव अरुण कुमार प्रधान र उद्घोषक नरेश भट्टराई बेलायत पुगेका थिए
प्रिमियर समारोहमा राजदूत घिमिरेले चलचित्र टिमलाई बधाई दिँदै चलचित्रले नेपाली खेल जगतमा चलचित्र अञ्जिलाले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे,‘महिला खेलाडीको यस्तो राम्रो बायोपिक लिएर आउनुभएकोमा म आज साँच्चै नै गर्व गरिरहेको छु । जसले खेल जगतलाई ठुलो प्रभाव पार्न गइरहेको छ’, यति बेला उकालो लागिरहेको नेपालको खेल क्षेत्रका उदीयमान खेलाडीहरू माथि चलचित्र बन्नु सराहनीय कार्य भएको पनि राजदूत घिमिरेले बताए ।
यो चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठले यो चलचित्रलाई प्रिमियरमा बेलायतका दर्शकहरूले निकै मन पराएको जिकिर गरे । यो चलचित्रको हङकङमा पनि यस अघि प्रिमियर भएको जानकारी दिँदै निर्माता श्रेष्ठले त्यहाँ पनि अञ्जिलाले राम्रो प्रशंसा पाएको जानकारी गराए । ४ वर्ष लगाएर यो चलचित्र निर्माण गरिएको र यो चलचित्र नेपाल रिलिज अगावै अमेरिका, अस्ट्रेलिया र जापानमा समेत रिलिजको तयारी गरिएको पनि निर्माता श्रेष्ठले जानकारी गराए ।
यो चलचित्रमा फुटबल खेलाडी एञ्जिलाले घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा समेटिएको छ । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छिन् । यसमा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । यो चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइत’bout, झापा र काठमाडौँमा गरिएको छ ।
यो चलचित्रमा सुदीप बरालको छायांकन, मिलन श्रेष्ठको सम्पादन रहेको छ । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन्, भने टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया यसमा सह–निर्माता छन् ।






