रोगप्रतिरोधात्मक शक्ति आर्जनका लागि योग

स्थुल शरीर स्वस्थ नभएमा सूक्ष्म शरीर स्वस्थ हुन सक्दैन । सूक्ष्म शरीर स्वस्थ नभए जीवात्माले आनन्द प्राप्त गर्न सक्दैन । अतः जीवात्मा स्वस्थ हुन, कारण शरीरले उचित वातावण पाउनुपर्दछ । शरीरलाई समन्वयमा राखी संयमता कायम राख्न हाम्रो शरीरको पञ्चामहाभूत अग्नि, वायु, आकाश, पृथ्वी, र जललाई परिचालन गर्नुपर्दछ । त्यो परिचालन प्राणायाम र ध्यानले मात्रै गर्न सक्दछ । मनुस्मृतिमा भनिएको छ, ‘दहन्ते ध्यायमानानं धातुनांहि यथा मलः, तथेन्द्रीयाणाम् दहयन्ते दोषा प्राणस्य निग्रहात् ।’ यस भनाइको तात्पर्य जसरी धातुको विकारलाई अग्निको रापले नष्ट पार्छ, त्यसैगरी शरीररूपी इन्द्रियहरूको दोषलाई प्राण अर्थात् वायुले शमन गर्दछ । त्यो वायु वा प्राणलाई जीवनी शक्तिको रूपमा वशमा ल्याउनु नै प्राणायाम हो । पातञ्जल योगदर्शनमा भनिएको छ, ‘तस्मिन सति श्वासप्रश्वास योर्गतिबिच्छेदस् प्राणायामस् ।’ यसरी श्वासप्रश्वासको गतिलाई गमनागमन गर्नु नै प्राणायाम हो । अर्थात् श्वास लिनु पूरक हो, बाहिर फाल्नु रेचक हो भने त्यसलाई रोक्नु कुम्भक हो । यसरी रेचक, पूरक र कुम्भक गर्नु नै प्राणायाम हो । अर्थात्, पतञ्जलीको भाष्यमा बाह्यवृत्ति, आभ्यन्तरवृत्ति र स्तम्भवृत्ति तीन प्रकारको हुन्छन् । यो देश, काल र परिस्थितिअनुसार दीर्घ र सूक्ष्म हुन सक्दछन् ।

प्राणायामले हामीमा रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि गर्दछ । पञ्चमहाभूतमा वायुको नै सर्वोपरी स्थान छ । जसरी ब्रह्माण्डको वायुले विश्वजगत्लाई विश्वव्यापीकरण गरेर अन्तर्सम्बन्ध स्थापित गरेको छ । त्यसैगरी, हाम्रो शरीरभित्रको वायुले पनि अन्य चार तत्वलाई परिचालन गरी शरीरभित्रको प्रत्यक अंगलाई क्रियाशील बनाउने कार्य गर्दछ । हाम्रो शरीरभित्रको वायु पाँच प्रकारका छन् ः प्राण, समान, अपान, उदान र व्यान । कण्ठबाट हृदयसम्म प्राण, हृदयबाट नाभीसम्म समान, नाभीबाट पैतलाको औंलासम्म अपान, कण्ठबाट शीरको उच्च भागसम्म उदान र सम्पूर्ण शरीरभर व्यान वायुले कार्य गरेको हुन्छ । यसरी शरीरभित्रको वायुले आफ्नो कार्य सञ्चालन गरेर नै हामी स्वस्थ हुन्छौं । यदि कुनै पनि वायुले उचित कार्य नगरेमा हामीलाई रोग लाग्ने हो । त्यसमध्ये पनि प्राणवायु सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । शरीरको विषाक्तता (कार्बनडाइअक्साइड) फाल्ने र अक्सिजन लिएर रक्त शुद्ध गर्ने कार्यमा प्राण वायुको भूमिका प्रबल हुन्छ । प्राण वायुलाई विधिपूर्वक अभ्यास गर्नु नै प्राणायाम हो । सामान्यतया श्वास लिने र फाल्ने कार्य त भइरहेको नै हुन्छ । तर, जबसम्म गहिरो, लामो श्वास लिने, रोक्ने र फाल्ने कार्य विधिपूर्वक गरिन्न । हाम्रो फोक्सोले पूर्ण रूपले काम गरेको हुँदैन । जति लामो र गहिरो श्वास लिन सकिन्छ, त्यति नै फोक्सोमा अक्सिजनको मात्रा पूर्ण हुन सक्छ ।

प्राणायाम अष्टाङ्गयोगको एउटा महत्वपूर्ण पाटो हो । यसलाई हामीले दैनिक आधा घण्टा प्रातः र साम्यकालमा अभ्यास ग¥यौं भने हामीलाई सम्पूर्ण रोग निवारण गर्ने शक्ति प्राप्त हुन्छ । शरीरमा अक्सिजनको कमी भएर नै बाह्य संक्रामक रोगहरूले स्थान पाउने हो । प्राणायामले शरीरको महत्वपूर्ण अंग फोक्सो, मुटुलगायतलाई स्वस्थ बनाउने कार्य गर्दछ । पतञ्जली योगसूत्रमा दिइएको बाह्य, आभ्यन्तर र स्तम्भवृत्ति क्रमशः पूरक, कुम्भक र रेचक गरी श्वासलाई पुरै बाहिर नाकबाट फाल्ने, नाकबाट नै लामो गहिरो श्वास लिने र त्यसलाई कतिबेरसम्म रोक्न सकिन्छ रोक्ने हो । बाहिर फाल्ने ६ पटकदेखि आठ पटकसम्म, श्वास लिने ६ पटकदेखि १० पटकसम्म (लामो र गहिरो) र कुम्भक वा रोक्ने, ६ पटकदेखि १० पटकसम्म गर्नुपर्दछ भनिएको छ ।

हाल पतञ्जली योगपीठ हरिद्वारले प्रचलनमा ल्याएको प्राणायाम अभ्यासमा भस्त्रिका (नाकबाट गहिरो लामो श्वास लिने र फाल्ने पाँच मिनेट, कपालभाँती (मूलाधार, स्वादिष्ठान र मणिपुर चक्रलाई संयम गरी पेटलाई करङतर्फ खिचेर नाकबाट एक सेकेन्डमा एकपटक झड्का दिएर श्वास फाल्ने र पूरकमा ध्यान नदिने, नाकबाट गएको श्वासले पात हल्लिनुपर्छ । १० मिनेट, बाह्य (नाकबाट श्वासलाई पुरै बाहिर फालेर मूलबन्ध, उड्डीयनबन्ध र जालन्धरबन्ध गरेर श्वासलाई बाहिरै रोक्ने पाँचपटक, उज्यायी (घाँटी खुम्च्याएर श्वास घुरेको जस्तो आवाजमा पूरक गरी कतिबेर रोक्न सकिन्छ श्वास रोकी, दायाँ प्वाल बन्द गरेर बायाँबाट रेचक गर्ने, पाँचपटक, त्यसैगरी नाकको दायाँ प्वाल बन्द गरेर) इडा नाडी पिंगला नाडी अर्थात् नाकको बायाँबाट गहिरो लामो श्वास लिने र पूरा श्वास भरेपछि बायाँ प्वाल बन्द गरेर दायाँबाट छोड्ने, यसलाई सोही प्रक्रियाबाट पालैपालो गर्ने गर्नुपर्छ । यो अनुलोमविलोम भयो । अब भ्रामरीमा कान र आँखा बन्द गरेर भमराको जस्तो गुन्जन आवाज करिब पाँच मिनेट गर्नुपर्छ । दुवै हातको बुढीऔंलाले दुवै कान र चोरी र माझी औंलाले दुवै आँखा बन्द गरेर अभ्यास गरिन्छ । त्यस्तै अ, उ, म् को उच्चारण पाँच मिनेट गर्नुपर्छ । यसलाई उद्गिथ भनिन्छ । यसबाहेक सूर्य प्राणायाम, चन्द्र प्राणायाम, नाडी सोधन आफ्नो रोगको अवस्थाअनुसार गर्न सकिन्छ । यदि सर्दी भएको छ भने सूर्य प्राणायाम, यदि गरम भएको छ भने चन्द्र प्राणायाम गर्ने हो । सूर्य प्राणायाम मा दायाँ नाकको प्वालबाट श्वास लिने र बायाँबाट फाल्ने गरिन्छ । ठीकविपरीत चन्द्र प्राणायाम हो भने नाडी सोधन अनुलोम विलोमजस्तो हो । तर, यसमा कुम्भक अर्थात् स्तम्भवृत्ति पनि गरिन्छ । यी सबै कुशल गुरुको सामीप्यमा गरिनुपर्दछ ।

काम, क्रोध, लोभ, मोहबाट तनावको सिर्जना हुने हो । तनावले नै रोगसँग लड्ने क्षमतामा ह्रास आउने हो । प्राणायामले तनावलगायत श्वासप्रश्वाससम्बन्धी रोगलाई समूल नष्ट गरी मानवलाई आनन्दमयी बनाउन प्रेरित गर्दछ । प्राणायामपछि ध्यान गर्दा ध्यानले शारीरिक, मानसिक र आध्यात्मिक परिदृश्यलाई समन्वय गराई आनन्द प्राप्ति गराउँछ । आनन्द प्राप्त गरेपछि मात्र जीवात्मा वा सूक्ष्म शरीरले थप अनुभूति प्राप्त गर्दछ, त्यो अनुभूति नै जीवन र जगतलाई हेर्ने दृष्टिकोण हो । जीवन र जगतलाई दिव्य (शक्तिको आलोकमा एकाकारको रूपमा व्याख्या र विश्लेषण गर्ने सोचविचार नै ध्यानबाट प्राप्त हुन्छ । आध्यात्मिक चिन्तकको दृष्टिकोणमा पनि निरञ्जन निराकार दिव्यशक्ति अर्थात् चेत नै आनन्द हो । जसले आनन्द प्राप्त गर्दछ, उसले परमात्मा प्राप्त गर्दछ भन्ने भनाइ छ । यसबाट के प्रष्ट हुन्छ भने जो व्यक्ति ध्यानमा बस्छ उसले ब्रम्हानन्द र परमानन्द एकैसाथ प्राप्त गर्दछ । मनुस्मृतिमा भनिएअनुसार प्राणायामले शरीरको दोष, धारणाले कुकर्मको विनाश, प्रत्याहारले इन्द्रियरूपी आकांक्षाको निमन र ध्यानले अनिश्वर अर्थात् काम, क्रोध, लोभ र मोह लाई निमिट्यान्न बनाउँछ ।

ध्यानलाई विविध दृष्टिकोणबाट परिभाषित गरिएको पाइन्छ । पातञ्जली योगसूत्रानुसार जहाँ चित्तको लगाइन्छ, त्यहाँ वृत्तिको एकाकार चल्नु नै ध्यान हो । धारणाले चित्तलाई निश्चित केन्द्रमा, विषयवस्तुमा वा चक्रमा स्थापित गरेपछि वृत्तिलाई एकाकार चल्न दिनु वा यसमा जागृत गराउनु ध्यान हो । अर्थात् जुन विषयमा चित्त लगाइएको छ, त्यसमा सदाकाल सोम रस प्रवाह गर्नु नै ध्यान हो । शरीरलाई शिथिल बनाएर चित्तलाई एकै विषयमा स्थिर राख्नु ध्यान हो । यहाँ चक्र भन्नाले मूलाधार, स्वादिष्ठान, मणिपुर, अनाहक, विशुद्धि, आज्ञा र सहस्रार हुन् । हरेक चक्रमा चित्तलाई स्थापित गरेर ध्यान दिनु ध्यानका विविध प्रकारमध्ये एक हो । तर, सहस्रार चक्रमा चित्तलाई राखेर ध्यान गर्नु असम्प्रात समाधितर्फ उन्मुख हुनु हो । मनलाई कुनै विशेष वस्तु, विचार र क्रियामा सतर्कता अपनाई मानसिक रूपमा स्पष्ट र संवेगात्मक रूपमा शान्त र स्थिर रहन गरिने अभ्यास ध्यान हो ।

ध्यान पनि अष्टा्गयोगको एउटा महत्वपूर्ण अंग हो । जसले प्राणायाम गरेर धारणालाई आत्मसात् गर्दै समाधीतर्फ उन्मुख हुने कार्य गर्दछ । रजनीश ओशोको भनाइमा ध्यान एक विश्राम हो, आराम हैन र यो विचारको शून्यता हो । यो कुनै वस्तु, विचार र विषयमा एकाग्रता र केन्द्रीकरण हैन, वल्कि कार्यको एकाग्रत्ता भने हो । तात्कालिक समयमा कार्य भनेको ध्यान नै हो ।

बाबा स्वामी शिव कृपानन्दजीको भनाइमा ध्यान भनेको कुनै एक आसनमा बसेर आत्मालाई शुद्ध र पवित्र ठानेर परमात्मा प्राप्त गर्ने माध्यम हो । निर्विचार हुनु ध्यान हैन भन्ने उनको मान्यता छ । केही नगर्नु नै ध्यान हो । अल्बर्ट आइन्स्टाइनका अनुसार एकै विषय वा प्रसंगमा धेरै तरिकाले चिन्तन गर्नु ध्यान हो ।

ध्यानलाई विभिन्न ऋषिमुनिले भिन्नभिन्न शब्दमा प्रस्ट्याएका छन् । कसैको भनाइमा ध्यानको अर्थ एकाग्रता हैन, टर्चलाइट एकाग्रता हो भने बल्ब ध्यान हो । बल्बले प्रकाश दिन्छ, बल्ब जता घुमायो प्रकाश त्यतै जान्छ । त्यस कारण ध्यान दिव्यज्योति प्राप्त गर्ने अभ्यास हो । ध्यानले ब्रह्माण्डको हरेक चित्र शिवशक्ति स्वरूपको त्रिनेत्रबाट देख्न सकिन्छ । ध्यानीले आफूभित्रको र बाहिरको ब्रह्माण्ड सबै देख्न सक्दछ । हाम्रो शरीर पनि एउटा ब्रह्माण्ड नै हो ।

यसरी वस्तुभावलाई विलोप गराएर ब्रह्मभावमा लीन हुने अभ्यासलाई ध्यान भनिन्छ । त्यसैले, आँखा बन्द गरेर बस्नु मात्रै ध्यान हैन । ध्यान कुनै क्रिया पनि हैन । यो त साध्य हो, कुनै साधन हैन । अनावश्यक कल्पना र विचार हटाएर शुद्ध निर्मल मनलाई चल्न दिनु ध्यान हो । यहाँ भूत र भविष्यको ’boutमा केही पनि सोचिन्न, मात्र वर्तमानमा आफू के गरिराखेको छु र के भावमा छुु सोचिन्छ । ध्यान गर्दा इन्द्रियलाई पूर्ण वशमा पारेर मनमा लैजानुपर्दछ । त्यो मनलाई बुद्धिमा र बुद्धिलाई आत्मामा लगेर आफूलाई साक्षी भावमा मात्रै राख्नुपर्दछ ।

ध्यानमा बस्दा कस्तो आसनमा बस्ने भन्ने कुरा विचार पु¥याउनुपर्दछ । मेरुदण्ड सिधा बनाई आफूलाई मनपर्ने आसनमा बस्नुपर्दछ । श्रीमद्भागवत गीतामा पनि भनिएअनुसार आफ्नो शरीर गर्धन र शीरलाई सिधा परेर नाकको अग्र भागलाई सूक्ष्म दृष्टिले नियाल्दै स्थिर, शान्त भएर, कुनै दिशा पनि नहेरी बस्नुपर्दछ । ध्यानको सुरुवात गर्नुभन्दा पहिले प्राणायाम गर्नुपर्दछ, जसले मस्तिष्कको तरंगलाई प्रभाव पारेर अन्नमय, मनोमय, प्राणमय, विज्ञानमय र आनन्दमय कोषमा प्राण तत्वलाई सञ्चार गर्दछ । जब शरीरको यी सबै कोषमा प्राणतत्व प्राणायाम र ध्यानबाट प्रभावित हुन्छ, तब मानिसलाई प्रसन्नता, शान्ति र उत्साह प्राप्त हुन्छ । उच्च रक्तचाप, व्याकुलता र तनाव स्वतः कम भइहाल्छ । शरीरको कुनै पनि भागको दर्द कम भई प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीर हर्षमय र आनन्दित बनाउँछ । शारीरिक तथा मानसिक दुवै रूपमा मस्तिष्कको शक्तिमा बृद्धि भई परेसानी र व्यग्रत्ता हटेर भावनात्मक स्थिरता कायम गर्दै रचनात्मक र सिर्जनात्मक शक्तिको विकासले शान्तिको अनुभव हुन्छ । आध्यात्मिक रूपमा काम, क्रोध, लोभ, मोह ईष्र्या र रागको अन्त्य भएर आफूलाई अनन्तः ब्रह्माण्डको पात्र सम्झन्छ ।
(लेखक गोंगबु योग साधना केन्द्र एवं समर्पण ध्यान केन्द्र राम मन्दिर डिल्लीबजारका साधक हुन् ।)

तपाइको प्रतिक्रिया
(Visited 520 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन