१० मिनेटको दृश्य काटेपछि ताण्डवम्लाई प्रदर्शन अनुमति

काठमाडौँ । अत्यधिक हिंसात्मक दृश्य भएको भन्दै रोकिएको चलचित्र ताण्डवम्लाई अन्ततः केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले करिब ६ मिनेट लामो एउटै दृश्य काटेर प्रदर्शनको अनुमति दिएको छ । यो सहित चलचित्रमा विभिन्न ठाउँमा कुल १०मिनेटको दृश्य काटिएको छ ।

सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्काले नारीमाथि अत्यधिक यातना देखाएका कारण आफूहरूले ६ मिनट लामो एउटै दृश्य काट्न लगाउनु परेको बताएका छन् । अब यो दृश्य काटेपछि चलचित्र तान्डवम्लाई अभिभावकको साथमा बालबालिकाले पनि हेर्न पाउने सदस्य भूपेन्द्रले बताए । शुक्रवार सेन्सर बोर्डबाट पिजी प्रमाणपत्र पाएसँगै यो चलचित्र शुक्रवारबाटै रिलिज भएको छ । पहिलो पटक सेन्सर गर्न लैजाँदा २ घण्टा ६ मिनेट लामो यो चलचित्र सेन्सरबाट १० मिनट काटेर १ घण्टा ५६ मिनेटको बनाइएको छ ।

अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । यो चलचित्रका अभिनेता एवम् निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरी आफूहरूले सेन्सरको सल्लाह अनुसार १० मिनटको दृश्य काटेको स्पष्ट पारे । ‘हामीले राम्रो चलचित्र दर्शकलाई पस्किने प्रयास गरेका छौँ । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए ।

चलचित्रको शुक्रवार बेलुका प्रेस शो आयोजना गरिएको थियो । जसमा आफूहरूले राम्रो प्रतिक्रिया पाएको पनि निर्देशक गहतराजले बताए । यो चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा यो चलचित्र निर्माण गरिएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको ताण्डवम्का निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको यो चलचित्रमा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोविद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । चलचित्रको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

epaper

ताजा समाचार

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा