इलाम । टाई ब्रेकरमा गोल किपर उसा नाथ चम्किँदा नेपाल पुलिस क्लब दोस्रो महिला गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इलामको ठुलो टुँडिखेलमा बागमती महिला फुटबल क्लब सर्लाहीलाई टाई ब्रेकरमा हराउँदै पुलिसले सेमिफाइनल प्रवेश गरेको हो ।
पुलिस क्लबले खेल अवधिभर एकलौटी दबाबमा राखे पनि निर्धारित समयमा गोलरहित बराबर भएपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो । पुलिसको तर्फबाट रेविका पाण्डे, विर्षना चौधरी, र गोल किपर उषानाथले गोल गर्दा क्याप्टेन निरु थापाले बाहिर हानेकी थिइन । यता बागमतीको तर्फबाट सलन कुमारी रानाले मात्र गोल गरिन भने अञ्जलि खवास र सेमी लिम्बुको प्रहार पुलिसकी गोल रक्षक उषानाथले सेभ गर्दा विष्णुमायाको प्रहार बाहिरिन पुगेको थियो ।
पुलिसको तर्फबाट पहिलो हाफमा पाएको २ वटा कर्नर प्रहारलाई बाग्मतीको गोल रक्षक उषा थापाले सहज बचाउ गरिन । नेपाल पुलिसको तर्फबाट सुष्मा तामाङले पाएको अर्को अवसर गोल पोस्ट माथिबाट प्रहार गरिन । नौ मिनेटमा निरु थापाको क्रसलाई अनुस्का शेर्पाको प्रहार फितलो बन्न पुग्यो । १६ मिनेटमा सुष्मा तामाङको पासलाई मिना देउवाले सदुपयोग गर्न सकिनन् । २२ मिनेटमा निरु थापाको प्रहार फितलो बन्दा पुलिसले अग्रता लिने अवसरबाट चुक्न पुगेको थियो ।

दोस्रो हाफमा पनि दबाबमा राखेको पुलिसले खेल सञ्चालन भएको १५ औ मिनेटमा बाग्मतीका खेलाडीले डी बक्स एरियामा बल हातले छुँदा पेनाल्टीको अवसर पाएको पुलिसले पेनाल्टी मिस गर्न पुग्यो । राष्ट्रिय टिमकी डिफेन्डर समेर रहेकी पूजा रानाले पेनाल्टी प्रहारलाई गोल गर्न सकिनन् । दोस्रो हाफमै पुलिसको खेलाडी पूजाको लागि अवसरहरू थुप्रै भए पनि त्यो अवसरलाई गोल पोस्टको दिशा दिन नसक्दा पुलिस पनि दबाबमै देखिन्थ्यो । खेलको थप गरेको समयमा पुलिसको तर्फबाट अमृता जैसीको प्रहार पनि बाहिरियो ।
यता बागमती फुटबल क्लबले पनि पाएको अवसर सदुपयोग गर्न सकेन । खेलको २३ मिनेटमा अन्जिलाको कर्नर प्रहारमा अञ्जलि चुक्न पुगिन । २९ मिनेटमा इश्ना रानाको प्रहार गोल्ड पोस्टमा परेन । ५१ मिनेटमा अञ्जलीको प्रहार फितलो बन्यो । ५६ मिनेटमा अञ्जलीको क्रस पास पुष्पाले नभेट्दा गोल लगाउने पाएको अवसरबाट चुक्न पुग्यो । खेलको प्रेलेयर अफ द म्याच पुलिसकी गोल रक्षक उषानाथ घोषित भईन ।
ओए सीस क्लब इलामको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोड कप फागुन २४ गते सम्पन्न हुनेछ । फाइनल जित्ने टोलीले नगद रु ४ लाख आकर्षक ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता बनेको टोलीले नगद रु २ लाखमा चित्त बुझाउने छ । त्यस्तै खेलाडीहरूलाई विधागत रूपमा समेत पुरस्कार रहेको आयोजकले जानकारी दिएको छ । सोमबार विभागीय टोली त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ बिच हुनेछ ।






