काठमाडौं । मौसमविद् राजन लामिछानेले आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बबढ्ने बताएका छन् ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ ।
नेपाल मौसम विज्ञान विभागका मौसमविद् राजन लामिछानेले पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको जानकारी दिए । उनले पाल्पाको अर्चले मौसम मापन केन्द्रमा १४० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको बताए ।
पछिल्ला दुई दिनदेखि विभिन्न स्थानमा लगातार वर्षा भइरहेको र कतिपय क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएकाले बाढी तथा पहिरोको जोखिम बढेको उनको भनाइ छ ।
‘हाल न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा अवस्थित रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमी भूभागतर्फ सर्दै जानेछ,’ मौसमविद् लामिछानेले भने, ‘आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि बढी हुने देखिएको छ, पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जाने र मौसममा सुधार आउने सम्भावना छ ।’
भोलि शनिबारसम्म न्यून चापीय प्रणालीको प्रभाव पश्चिमतर्फ सर्दै जाने र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका क्षेत्रमा वर्षाको गतिविधि बढ्न सक्ने पूर्वानुमान रहेको उनले बताए ।
पर्सि आइतबार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमा प्रणालीको प्रभाव कायम रहनेछ ।
सोमबारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा मंगलबारदेखि वर्षाको प्रभाव अझ कम हुने सम्भावना रहेको विभागको पूर्वानुमान छ ।
मौसमविद् लामिछानेले मौसम प्रणाली निरन्तर परिवर्तन हुनसक्ने भएकाले विभागले यसको निगरानी गरिरहेको र आवश्यकताअनुसार पूर्वानुमान तथा चेतावनी अद्यावधिक गर्दै जाने बताए ।
भारी वर्षा भइरहेका तथा चेतावनी जारी गरिएका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन उनले आग्रह गरे ।
सम्बन्धित समाचार
बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
भोटेकोशी बाढी : रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड रुपैयाँ बढीको क्षति
मन्त्रिपरिषद्को बैठक बस्दै
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
राष्ट्रपति संविधान दिवसमा आयोजित विशेष समारोहमा सरिक
रसुवा बाढीपछि मुस्ताङमा उल्लेख्य रुपमा घट्यो पर्यटक आगमन
प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिका जाँदै






