काठमाडौं । नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) प्रदर्शन हल यति बेला बागमती प्रदेशको कलामय भएको छ । त्यहाँ बागमती प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन् ।
सोमवारबाट ‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ सुरु भएको हो । त्यहाँ रहेका विभिन्न कलाहरू प्रदर्शनी र बिक्री दुवै उद्देश्यले राखिएको आयोजक पक्षले जनाएको छ ।
यो प्रदर्शनीलाई सोमबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरले उद्घाटन गरे । नेपाली ललितकला क्षेत्रमा निरन्तर योगदान दिएका कलाकारहरू जुलुमलाल चित्रकार, भोला पौड्याल, शारदामान श्रेष्ठ, सुषमा राजभण्डारी, सुनिता राणा, धर्मबहादुर तामाङ, सरिता डङ्गोललगायतलाई प्रतिष्ठानका तर्फबाट मानन्धरले सम्मान प्रदान गरे । यसै गरी प्रतिष्ठानबाट प्रकाशित विज्ञसमीक्षित अनुसन्धानमूलक शोध पत्रिका ‘ललितकला प्रज्ञा’को समेत सो उद्घाटन समारोहमा पूर्व कुलपति मानन्धरले विमोचन गरे ।

मानन्धरले प्रदेश स्तरको प्रदर्शन गत वर्षबाट सुरु गरेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको अहिलेको कार्यसमितिले प्रदेशका कलाकारहरूलाई प्रोत्साहन गरेको बताए । उनले त्यहाँ प्रदर्शनीमा राखिएको विभिन्न कलाको प्रशंसा गर्दै किसानले माटाको पहिचान गरेर अन्न उत्पादन गरेझैँ कलाकारले पनि आफ्नो माटोलाई चिनेर कला र कलाकारिता अघि बढाउनु पर्छ भने ।
सो प्रदर्शनी उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सामाजिक रूपान्तरण ललितकलाको अभियानको मूल भावमा रही यो प्रदेश स्तरीय प्रदर्शनी आयोजना गरिएको बताए । उनले यस्तो प्रदर्शनीले प्रदेशको ललितकलाका उत्थानमा थप सहयोग गर्ने विश्वास व्यक्त गरे । कला र कलाकारको धनी बागमती प्रदेशमा ललितकलाको खोज तथा अनुसन्धानका थप काम गर्नुपर्ने धारणा पनि उनले सो क्रममा राखे ।
प्रतिष्ठानका उपकुलपति लालकाजी लामाको संयोजकत्वमा बागमती प्रदेश प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनी समन्वय समितिका संयोजक लामाले कलाका क्षेत्रमा प्रादेशिक प्रदर्शनीले ललितकला क्षेत्रको पुनर्जागरण गराएको बताए । उनले जरैसम्म पुगेर रैथाने कला, सिपलाई थप उजागर गराउनुपर्ने उद्देश्य सहित यो प्रदर्शन आयोजना गरेको जिकिर गरे ।

प्रदेश प्रदर्शनी उद्घाटन समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रतिष्ठानको रणनीतिक योजनामुताबिक प्रादेशिक ललितकला प्रदर्शनी गरिएको जानकारी गराए । उनले कार्यक्रममा भने,‘हाम्रा मौलिक कला, शैली, शिल्प, ज्ञानलाई उत्थान तथा प्रवर्धन गर्न यस्तो प्रदर्शनीले सहयोग गर्ने विश्वास हामीले लिएका छौँ । रैथाने सिप र कलाको पुस्तान्तरण हुनुपर्ने भन्ने प्रतिष्ठानको मान्यता रहेको छ’, उनले कला र कलाकारको रचनात्मक सृजनशील विकासमा जोड दिन पनि आग्रह गरे ।
ललितकला क्याम्पस (भोटाहिटी) का प्रमुख डा.यामप्रसाद शर्माले यस प्रदर्शनीले उत्साह थपेको र कलाकारले विविध कलालाई विभिन्न रूपमा देखाएको बताए । उनले नयाँ देखि अग्रज पुस्तासम्मका कलाहरू एकै थलोमा हुँदै यस्ता प्रदर्शनीबाट एक अर्काले सिक्ने अवसर पाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका पूर्व कुलपति के.के कर्माचार्य, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुस्मा महरा ‘प्रगति’लगायतले आफ्ना भनाई राखेका थिए ।
सोमबारबाट एक सातासम्म जारी रहेन यो प्रदर्शनीमा बागमती प्रदेशका २०७ कलाकारका २३९ कलाकृति राखिएका छन् । प्रदर्शनीको क्युरेटिङ प्रतिष्ठानका प्राज्ञ सभा सदस्य सुन्दर सिंख्वालको संयोजनमा रजनी सिंख्वाल र सविना तामाङले गर्ने छन् ।







