छाक टार्न राहत खोज्दै संगीतकर्मी

काठमाडौं । मुलुक ४२ दिनदेखि लकडाउनको अवस्थामा छ । जसका कारण सबै घरभित्र बस्न बाध्य छन् । यस्तो अवस्थामा अन्य क्षेत्रजस्तै सांगीतिक क्षेत्रमा पनि आर्थिक समस्या देखिएको छ । संगीत क्षेत्रमा काम गर्ने कतिपय प्राविधिकको अवस्था नाजुक रहेको र उनीहरूलाई राज्यका तर्फबाट कुनै प्रकारको राहत नदिइएको प्राविधिकहरूले बताएका छन् ।

नेपाल संगीतकार संघका अध्यक्ष शान्तिराम राईले संगीत क्षेत्रमा क्रियाशील वाद्यवादक, स्टुडियोमा रेकर्डिङ, मिक्सिङ गर्ने आर्टिस्ट, थोरै पारिश्रमिकमा विभिन्न स्टुडियोमा कोरस गाउँदै आएका जुनियर कलाकार तथा लोकदोहोरी रेस्टुरेन्टमा थोरै पारिश्रमिकमा काम गरेका कलाकार अहिले मारमा परेको बताएका छन् ।

यसै विषयमा राजधानीसँगको कुराकानीमा उनले भने, ‘पछिल्लो तथ्यांक संगीत क्षेत्रमा कार्यरतका अनुसार ३ सयभन्दा बढी प्राविधिक तथा जुनियर कलाकार आर्थिक संकटमा छन् । कतैबाट पनि राहत नपाएका कारण अहिले उनीहरूलाई छाक टार्न गाह्रो भएको छ ।’ सर्वसाधारणजस्तो कलाकार प्राविधिकहरूलाई वडा कार्यालयमा गएर लाइन बसेर १० किलो चामल राहत लिने गाह्रो परेको बताउँदै अध्यक्ष राईले भने, ‘त्यसैले संगीतसँग सम्बन्धित सरकारी निकाय तथा संघसंस्थाबाट राहत प्रदान गरियोस् भनेर उनीहरूले अनुरोध गरेका छन् । हामीले यसका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग अनुरोध गर्दा उनीहरू आफूहरूको अहिलेको निर्धारित बजेटबाट राहत दिन नमिल्ने भन्दै पन्छिएका छन् ।’

कलाकार तथा संगीत प्राविधिकलाई मार परेको बेला राहत दिन नमिल्ने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानबाट आफूहरूले के अपेक्षा गर्ने भनेर उनले प्रतिप्रश्न पनि गरेका छन् । संगीतकर्मीहरू भोको रहेको आफूहरूलाई सह्य नहुने अध्यक्ष राईको भनाइ छ । त्यसैले भोकै परेका संगीतकर्मीहरूलाई संगीतकार संघका तर्फबाट खाद्यान्नलगायतका राहत सहयोगको तयारी भइरहेको उनले बताएका छन् ।

त्यसो त अहिले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञपरिषद् पदाधिकारीले कानुनविपरीत नियुक्ति लिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा खेप्नुपरेको छ । नियुक्तिका लागि सिफारिस समितिका संयोजकले नै मुद्दा हालेपछि अहिलेका पदाधिकारी आफ्नो पद कहिले जाला भन्ने चिन्तामा छन् । सोही कारण पनि उनीहरूले खुलेर काम गर्न नसकेको र राहतलगायतका प्याकेज नल्याएको संगीतकर्मीहरू बताउँछन् ।

संगीतकार तथा नेपाल संगीतकार संघका वर्तमान संरक्षक लक्ष्मण शेष पनि संगीतकर्मीहरूले राहत नपाएको टिप्पणी गर्छन् । चलचित्र क्षेत्रमा कार्यरत प्राविधिकहरूलाई चलचित्रकर्मीले नै पैसा उठाएर राहत प्रदान गरिरहेको बेला संगीत क्षेत्रका प्राविधिकतर्फ अरू ध्यान नपुगेको उनले बताए । अझै केही समय संगीत रेकर्डिङ स्टुडियोलगायत सांगीतिक कार्यक्रम नहुने उनको ठहर छ । यस्तै, अवस्थामा संगीत क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने जुनियर कलाकार, कोरस कलाकार, वाद्यवादक तथा रेकर्डिङ प्राविधिकहरूलाई तत्काल राहत प्रदान गरिनुपर्ने शेषको भनाइ छ । यसतर्फ आधिकारिक संस्था नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले चासो नदेखाएको पनि शेषले बताएका छन्, ‘कलाकारलाई परेको बेला वास्ता नगर्ने संगीत नाट्य प्रज्ञा प्रतिष्ठानहरू के काम । त्यसैले, हामीले संघको कोषबाट खाद्य सामग्री किनेर राहतको रूपमा प्रदान गर्ने भएका छौं,’ उनले भने ।

यसअघि २०७२ सालको कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बाँस्कोटाले भूकम्पीडितलाई राहतसहित विभिन्न जनचेतनामूलक कार्यक्रम ठाउँठाउँमा पुगेर गरेका थिए । तर, अहिले आफूहरूसँग त्यस्तो कुनै पनि बजेट नभएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव श्याम तमोटले बताएका छन्, ‘हामीलाई निश्चित कार्यक्रम गर्न संस्कृति मन्त्रालयबाट बजेट दिइएकाले त्यो पैसाले राहत किनेर दिन मिल्दैन र अहिले हामी त्यो काम गर्न सक्दैनौं,’ उनले राजधानीसँग भने ।

यसरी भोका संगीतकर्मीहरूलाई राहत प्रदान गर्नु आफूहरूको अधिकारको कुरा नभएको भन्दै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिले पछि हटेको छ । अब लकलडाउ खुलेपछि संगीतसम्बन्धी गतिविधि अझै केही महिना नहुने भएकाले संगीतकर्मीलाई झनै आर्थिक संकट पर्ने भनाइ संगीतकार संघका अध्यक्ष शान्तिराम राईको छ । त्यसैले, संघका सदस्यहरूलाई विशेष राहत प्याकेज संघका तर्फबाट प्रदान गरिने उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम