फेरिँदो राउटे जीवनशैली : महाशत्रुसँग मित्रता !

दैलेख । कुनैबेला राउटे समुदायका व्यक्तिहरू भन्थे– ‘लेखपढ, खेतीपाती र स्थायी बसोबास हाम्रा महाशत्रु हुन् ।’ तर, पछिल्लो समय राउटे समुदायमा परिवर्तन आउन थालेको छ । राउटे युवाहरू कुनैबेला आफैंले महाशत्रु भन्ने गरेको लेखपढलाई बढावा दिन थालेका छन् ।

राउटे बूढापाकाले लेखपढलाई अस्वीकार गरे पनि पछिल्लो पुस्ताका युवा र बालबालिकाले भने सहजै स्वीकार गर्न थालेका छन् । एक निरक्षर समुदाय राउटेलाई गैरसरकारी संस्था सोसेक नेपालले जोडी शिक्षक राखेर साक्षर बनाइरहेको छ । राउटे जहाँ बसाइँ सर्छन्, त्यही पुगेर बालबालिकालाई मनोरञ्जनका खेल खेलाउने, पढाउने गरेको संस्थाका कर्मचारी लालबहादुर खत्रीले बताए । ‘सुरुसुरुमा बूढापाका राउटेले पढाउन दिएनन्,’ उनले भने, ‘लुकेर पढायौं, भिडियोमार्फत सिक्न लगायौं अनि पढ्न, लेख्न थाले, पछिल्लो पुस्ताले परिवर्तन चाहे पनि बूढापाका कुलधर्मविरुद्ध हुने भन्दै परम्पराको निरन्तरता चाहन्छन् ।’

आजभोलि पछिल्लो पुस्ताका बालबालिका सबैले नाम लेख्छन् । हस्ताक्षर गर्न सक्छन् । अक्षर पनि चिन्न सक्छन् । राउटे परियोजनाको जोडी शिक्षकले गर्दा राउटे समुदायका बालबालिकामा परिवर्तन आउनुका साथै अक्षर चिन्दा आफूलाई खुसी लागेको सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापाले बताए । ‘हाम्रो उद्देश्य भनेको राउटे समुदायलाई परिवर्तनतिर लानु हो,’ उनले भने, ‘यो सम्भव छ भनेर कार्यक्रम सञ्चालन ग¥यौं, एउटा निरक्षर समुदायलाई साक्षर बनायौं ।’

उनका अनुसार कुनैबेला सामाजिक सुरक्षा भत्ता बुझ्नेबेला, कार्यक्रममा सहभागी भएका बेला औंठा छाप लगाउने राउटे समुदाय आजभोलि हस्ताक्षर गर्छन् ।

पछिल्लोपटक अन्तक्र्रिया गर्ने, गैरराउटेका बालबालिका राउटेका ’bout ज्ञान लिने, राउटेले गैरराउटेको बालबालिका’bout ज्ञान लिने गर्दा राउटे–गैरराउटे बालबालिकाबीच ज्ञान आदान–प्रदान भएको उनले बताए ।

राउटे मुखिया सूर्यनारायण शाही भन्छन्, ‘हामी त पढ्दैनौं, त्यो त तपाईंहरूले पढ्ने हो, हामीले पढ्यौं भने त हामी राउटे हुँदैनौं, तर बालबालिका पढ्छन्, अब हाम्रा छोराछोरी परिवर्तन हुन्छन् होला, राउटे सकिन्छ होला ।’

उनले राउटे पनि बदलिन्छन् र आमसर्वसाधारण मानिस अनि यो दुनियाँजस्तै हुने भनी चिन्ता व्यक्त गरे । उनले भने, ‘अब राउटे पनि तपाईं दुनियाँजस्तै हुन्छ होला, तर पढ्ने काममा हामीले कुनै रोकावट गरेका छैनौं ।’

पढाइले आफूलाई यताउता जाँदा हिँडडुल गर्दा सजिलो भएको राउटे युवा दीपक शाहीले बताए । ‘बजारमा गयाँ बेला यो ठाउँ कहाँ भनी सोध्नुपरेन, आफूले कहाँ आयौं भनेर होटेल, पसलको बोर्डमा लेखेको हुन्छन् नि त्यही देखेर चिन्ने भयौं,’ उनले भने ।

दीपकको जस्तै बुझाइ राउटे युवती गाँजी शाहीको पनि छ । उनी भन्छिन्, ‘पहिला त हामी कार्यक्रममा गएर पनि क्या लेख्याको होला ? पढ्न जानेको भए हुने थिया भन्ने लाग्थ्यो, अरूले जे सुनायो त्यही साँचो लाग्थ्यो, आजभोलि अक्षर चिन्ने भएपछि यो कार्यक्रम रहेछ, यो गाउँपालिका पुग्यौं भनी अक्षरबाट थाहा हुन्छ ।’

यस समुदायको एउटै मात्र सीप भनेको कुकाठका भाँडाकुँडा र सामग्री बनाई अन्नसँग साटेर जीविका चलाउने हो । यिनीहरूले नरम काठका कोसी, मदुस, झुमा, खाट, पिर्का, आरीलगायतका सामग्री बनाई गाउँमा लगेर अन्नसँग साटेर जीविकोपार्जन गर्छन् ।

पछिल्लो समय राष्ट्रिय वन समुदायमा हस्तान्तरण हुँदा राउटेले चाहेअनुसारको कुकाठ काट्न पाउँदैनन् । जसले गर्दा पुख्र्यौली पेसा हट्ने हो कि भन्ने चिन्ता उनीहरूमा रहेको पाइन्छ । पहिला कुकाठका भाँडाकुँडा बनाएर अन्नसँग साट्थे । पछिल्ला दिनमा काठ काट्न नदिएकाले बाँच्न गाह्रो भइरहेको उनीहरूको दुखेसो छ ।

फरक रहनसहन, वेशभूषा, चालचलन, रीतिरिवाज र संस्कृतिले राउटे समुदायले नेपाललाई विश्वभरि चिनाएको छ । जसले गर्दा सांस्कृतिक विविधतामा एक इँटा थपेको छ । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहना भनेर चिनिने यो जाति दक्षिण एसियाको एक मात्र भ्रमणशील समुदाय हो । उनीहरू कर्णाली प्रदेशका दैलेख, सुर्खेत, जाजरकोट, सल्यान, सुदूरपश्चिम प्रदेशको अछाम र लुम्बिनी प्रदेशका दाङ, बाँके जिल्लाका आसपासका जंगलमा फिरन्ते जीवनयापन गर्दै आएका छन् ।

नदीको किनारा, पहाड, टाकुरा जंगलमा बसाइँ सरिरहने यस समुदायलाई प्राकृतिक ज्ञानको भण्डार मानिन्छ । कुन सिजनमा कहाँ जाने हो भनेर योजनाबद्ध ढंगले मात्र बसाइँ सर्छन् । स्वार्थविहीन यस समुदायले आफूलाई ‘जंगलको राजा’ भन्न औधी मन पराउँछन् ।

नेपालमै बसोबास गरे पनि नागरिकता लिन भने उनीहरूले अस्वीकार गरिरहेका छन् । नागरिकता दिन तीनै तहले प्रयास गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । नागरिकता नलिए पनि नेपाली नागरिक हौं भनेर गौरव गर्ने यस समुदायको सान उत्तिकै गौरव गर्न लायक छ । तीनै तहका सरकारले लोपोन्मुख जातिको उत्थानका लागि प्रयास गरे पनि कुल धर्मविरुद्ध हुने भन्दै अस्वीकार गर्दै आएका छन् । तर, सामाजिक सुरक्षाको भत्तालाई भने सहजै स्वीकार गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 109 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुलमानलाई हटाएको भन्दै महोत्तरीमा नागरिक समाजको खबरदारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको नगराइन नगरपालिकामा कांग्रेसका यादव निर्वाचित