वीरेन्द्रनगर १४ मा अवस्थित गढी, गोठीकाँडा, बयलकाँडा क्षेत्र सुर्खेतको पुरानो सदरमुकाम हो । यो सुर्खेत उपत्यकाको उत्तरतर्फको डाँडामा अवस्थित छ । जतिबेला सुर्खेत उपत्यका (हालको वीरेन्द्रनगर) बसोबासयोग्य थिएन । खेतीपातीका लागि मात्र प्रयोगमा ल्याइएको थियो । उपत्यकादेखि माथिको डाँडामा मानिसहरुको बस्ती थियो । त्यहीबाट राजकाज चल्थ्यो । अड्डा प्रशासन त्यहीँ थिए । २०२३ साल अघिसम्म सुर्खेतको सदरमुकाम गोठीकाँडा थियो ।
२०१९ सालमा सुर्खेतमा औलो उन्मुलन कार्यालय स्थापना भयो । त्यसपछि उपत्यकामा त्यहाँका मानिसहरु बसाइँ सर्न थाले । बाइसे चौबिसे शासनकाल, राणाकाल र पञ्चायतको प्रारम्भमा बाक्लो बस्ती, मानिसहरुको चहलपहल रहेको यो क्षेत्र जब सुर्खेतमा औलो उन्मुलन भयो तब क्रमशः सुनसान बन्दै गयो । सुर्खेत उपत्यकामा २०२२ सालमा औलो उन्मुलन घोषणा भएको थियो । त्यस अघि उपत्यकाको तल्लो क्षेत्रमा राजी र थारु जातिको मात्र बसोबास थियो । गोठीकाँडाका केही अगुवाले उपत्यकामा गरिने खेतीबालीको सहयोगका लागि दाङबाट थारु जातिका मानिस झिकाएका थिए । २०२३ को मंसिरतिर गोठीकाँडा क्षेत्रका प्रशासनिक कार्यालयहरु पनि उपत्यकामा स्थानान्तरण भए । कट्कुवा, कपासे क्षेत्रको पुरै बस्तीलाई स्थानान्तरण गरी त्यहाँ वृक्षारोपण कार्यक्रम सञ्चालन गरियो ।
बयलकाँडा टाकुरामा ऐतिहासिक गढीको भग्नावशेष छ । यो पाँच कट्ठा १३ धुर क्षेत्रफलमा फैलिएको छ । ‘सुर्खेतको इतिवृत्त–२’ पुस्तकका लेखक सुशिलराज शर्माका अनुसार यो गढी बाइसे चौबिसे राज्यकालमा बनेको अनुमान छ । गढीको केही दुरीमा फाटफुट अक्षर देखिने ढुंगाका खम्बाहरु गाडिएका छन् । यो त्यतिबेला दैलेख बेलासपुर राज्यको अधिनस्थ थियो । गोर्खाली फौज र बेलासपुरे राजाका फौजबीच लडाइँ हुँदा गढी भत्किएको हुनसक्छ ।

गढीमा अवस्थित स्तम्भमा लेखिएको छ, ‘साके १७१२ मा फेरि कालु पाँडे, सरदार सत्रुघन शाही कम्पनी २ ली कास्कीका द्धान्या जैभत्र बोहरा थर घर उमराली सुर्षेत दैलेखका लडायी जीती दैलेख सर गरी कर्नालीमा खाडो पखाली नेपाल गया ।’ यो लेखोटले युद्धभन्दा अघि र पछि पनि युद्ध भएको अनुमान गर्न सकिन्छ । बहादुर शाहका पालामा बेलासपुर राज्य कब्जा गरिएको थियो । किनकी यो बेलासपुर राज्यको अधिनमा थियो । अन्यत्रका गढीको इतिहास हेर्दा यो गढीको पनि नेपाल एकिकरणकै क्रममा भत्काइएको अनुमान गर्न सकिन्छ ।
गढीकै नामबाट साबिक गाउँ विकास समितिको नामकरण गरिएको थियो । यहाँबाट वीरेन्द्रनगर उपत्यकासंगै बराहताल र दैलेखको गुराँस गाउँपालिकाका विभिन्न बस्तीलाई नियाल्न सकिन्छ । सूर्योदयदेखि सूर्यास्तसम्म बयलकाँडा गढीबाटै देख्न सकिन्छ । हिउँदमा पारिलो घाम ताप्न पाइने र गर्मी याममा चिसो हावा चल्ने हुँदा वीरेन्द्रनगरबाट गर्मी छल्न अधिक मानिसहरु त्यहाँ पुग्ने गर्छन् । शनिबार र बिदाका दिन गोठीकाँडा क्षेत्रमा आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दछ ।
यो क्षेत्र यो स्थान पर्यापर्यटनमा रमाउन मात्र नभई इतिहासका विद्यार्थी र अन्वेषकका लागि समेत भ्रमणयोग्य रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष समेत रहेका लेखक शर्मा बताउँछन् । उनका भनाईमा खस राजा, बेलासपुरे राजाका फौजको सेल्टरका रुपमा गढीलाई उपयोग गरेको देखिन्छ । जब बेलापुर राज्य र दुल्लु राज्यका बीच मनमुटाव भयो अनि बहादुर शाहको नेतृत्वमा त्यसलाई ध्वस्त पारिएको हुनसक्छ । गढी संरक्षणका लागि तारजाली लगाइएको छ । नेपाली सेनाले यसको संरक्षण गर्दै आएको छ । सेनाले यसको प्रवेशद्धारमा पृथ्वीनारायण शाहको प्रतिमा बनाएको छ । जसले यस क्षेत्रको शोभा बढाएको छ ।
पर्यटनका नयाँ सम्भावना
गोठीकाँडा क्षेत्र पुग्न सुर्खेत–दैलेख सडक अन्तर्गत छेडाबाट पश्चिमतर्फ मोडिनुपर्छ । दैलेख सडकको जिरोप्वाइन्ट इत्राम कपासेदेखि छेडाको दुरी ७ किमी छ । वीरेन्द्रनगर १ टेम्पो पार्क–बराहताल गाउँपालिका–१० सलेना हुँदै वैकल्पिक सडक निर्माण गरिएको छ ।
कुनै बेलाको राज्य सञ्चालनको केन्द्र, प्रशासनिक केन्द्र सुर्खेत उपत्यका (वीरेन्द्रनगर) को विकास क्रमसंगै ओझेलमा पर्दै गयो । अधिक मानिसहरु बसाइँ सर्न थालेपछि यो ठाउँ विकासका अभियानबाट बञ्चित हुन पुग्यो । कुनैबेलाको विकसित ठाउँ हाल पिछडिएको, आधुनिक विकास संरचनाबाट ठगिन पुगेको छ । सडक पुरै कालोपत्रे भइसकेको छैन् । पछिल्ला वर्ष त्यहाँको मुख्य समस्या खानेपानी बनेको छ । नजिक पानीको मुहान नहुँदा र टाढा रहेका मुहानहरु पनि दिनानुदिन बढ्दो तापक्रमका कारण सुक्दै गएका छन् । गाउँमा भएको सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा छैन् । निजी स्कूलहरु छैनन् । जसले गर्दा छोराछोरीको शिक्षादिक्षाका लागि समेत त्यहाँबाट वीरेन्द्रनगर बसाइँ सर्ने प्रचलन बढेको छ ।

सुर्खेतको पुरानो र ऐतिहासिक महत्व बोकेको गोठीकाँडा क्षेत्रले समस्या मात्र भोगेको छैन् यसका सुन्दर सम्भावना पनि उत्तिकै छन् । आन्तरिक पर्यटकका लागि यो नयाँ गन्तव्य बन्न पुगेको छ । सहज यातायात, खानेपानीको सुविधा, शिक्षा र स्वास्थ्यका गुणस्तरीय संरचना विकास गर्न सके यहाँको बसाइँसराई मात्र रोकिने छैन् । पर्यटन पूर्वाधारको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास छ । पुरानो ठाउँ भएपनि पर्यटन विकासका दृष्टिले यस क्षेत्रले नयाँ गन्तव्यका रुपमा उभ्याइरहेको छ । पर्यटकीय स्थलका रुपमा सुर्खेत उपत्यकाको चर्को गर्मी छल्न, उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न र मौलिक खानेकुराको स्वाद लिन मानिसहरुको भीडले यसको सुन्दर भविष्यलाई उजागर गरिदिएको छ ।
वीरेन्द्रनगर नगरपालिकाले यस क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । नगर प्रमुख मोहनमाया ढकाल उक्त क्षेत्रको समग्र पर्यटकीय विकासका लागि गुरुयोजना बनाउने बताउँछिन् । गढी नजिकै बटुक भैरबको मन्दिर, शहिद पार्क बनाइएको छ । सुर्खेतको पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले गढीको पश्चिमी भेगमा अवस्थित बयलकाँडाबाट प्याराग्लाइडिङको उडान हुने गर्दछ । वेलकम प्याराग्लाइडिङ प्रालिले बाबु एड्भेन्चर प्रालिसंग सहकार्य गरेर प्याराग्लाइडिङ गरिरहेको छ । वेलकम प्याराग्लाइडिङ प्रालिका सञ्चालक पदमबहादुर शाही सुर्खेत प्याराग्लाइडिङको हब बन्न सम्भव छ भन्ने सन्देश दिन र यसलाई व्यवसायिक बनाउने योजनासहित काम गरिरहेको बताउँछन् ।
कुनैबेला उपत्यका सरेका मानिसहरु अहिले बसोबास, व्यापारको सिलसिलामा पुनः फर्कन थालेका छन् । यो क्षेत्र आन्तरिक पर्यटकको राजाइँमा परेपछि र भविष्यमा राम्रो सम्भावना बोकेपछि त्यहाँ जग्गा किनबेच बढ्दो छ । नयाँ–नयाँ रेष्टुरेन्ट र होटल व्यवसाय खुलेका छन् । आन्तरिक पर्यटकको आर्कषणका लागि व्यवसायीले मौलिक शैलीमा रेष्टुरेन्टको निर्माण, अर्गानिक एवं रैथाने उत्पादनलाई महत्व दिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर काम विशेषले आउनेहरु पनि गर्मी छल्न, सुर्खेत उपत्यकाको पुरा दृश्य अवलोकन गर्न र मौलिक खानेकुराको स्वाद लिन त्यहाँ पुग्ने गर्दछन् । गोठीकाँडा–बयलकाँडा क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेपछि स्थानीय खुसी छन् ।