अस्ट्रेलियाको एडिलेडबासीलाई नचायो नेपथ्यले

काठमाडौं । तीन साता अघिबाट अस्ट्रेलिया सांगीतिक यात्रामा रहेको लोक पप ब्यान्ड नेपथ्यले शनिवार (नेपाली समय अनुसार) दिउँसो अस्ट्रेलियाका एडिलेडमा आफ्नो सांगीतिक प्रस्तुति सम्पन्न गरेको छ । आफूहरु अस्ट्रेलिया यात्राको करिब अन्तिम चरणतिर पुगेको पनि नेपथ्य समूहले जनाएको छ ।

यस वर्षको अस्ट्रेलिया यात्राको यो पाँचौँ कन्सर्ट भएको पनि नेपथ्यले जनाएको छ । यो सहरमा यसअघि दुई पटक प्रस्तुत भएकै हिन्डले स्ट्रिट म्युजिक हलमा यस पटक पनि भव्य कार्यक्रम गरिएको नेपथ्यले बताएको छ । बेलुका ८ः३० बजेबाट सुरु भएको यो कन्सर्ट ११ बजेसम्म चलेको थियो । यो क्रममा नेपथ्यले आफ्ना डेढ दर्जन भन्दा बढी चर्चित गीतहरू र गीतहरूका केही धुनहरू प्रस्तुत ग¥यो ।

दर्शकले भरिभराउ हलभित्र पहिलो गीत कोसीको पानी प्रस्तुतसँगै यो सांगीतिक कार्यक्रम सुरु भएको नेपथ्यका गायक अमृत गुरुङले जानकारी गराएका छन् । पहिलो गीतबाटै नेपथ्यले दर्शकले नाचेर साथ दिएका थिए ।

गायक अमृतले नेपथ्यको दोस्रो एल्बमबाट सर्वकालिक हिट गीत छेक्यो छेक्यो देउराली डाँडा सुनाउँदै संसारभरिका मानिसले भरिएको यस देशमा तपाईंहरू मिलनसार भई बसिदिनुहोला भनेर दर्शकलाई अनुरोध गरेका थिए । विगत झैँ यस पटक पनि नेपालीसँग विदेशी दर्शकहरूले पनि आफ्नो सांगीतिक कन्सर्टको आनन्द लिएको अमृतले जानकारी गराएका छन् । अमृतका अनुसार यो सहरमा हाल १० हजार हाराहारी नेपाली छन् । त्यसमा पनि आधाजस्तो संख्या पछिल्लो समय पुनर्वास गराइएका भुटानी शरणार्थी रहेका छन् ।

एडिलेडमा तेस्रो पटक नेपथ्यलाई निम्त्याएका स्थानीय आयोजक गगन गिरीले त्यहाँ यस पटकको कन्सर्टमा सोचेको भन्दा धेरै दर्शक आएको बताए । उनले भने,‘यस सहरमा सबैभन्दा धेरै दर्शक नेपथ्यकै लागि जम्मा हुने गरेका छन् । अघिल्लो पटक आफैँले बनाएको सर्वाधिक दर्शकको रेकर्ड पनि नेपथ्यले नै तोड्ने गरेको छ ।’

नेपथ्यको प्रस्तुतिमा अमृतलाई ड्रम सेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउँदै आएका छन् । कलाकारको यो टिमबाहेक व्यवस्थापक र प्राविधिकको १४ सदस्यीय टोली यात्रारत रहेको पनि अमृतले बताए । अबको प्रस्तुति मेलबर्नमा यही २४ मार्चमा आफूहरूको कन्सर्ट हुने पनि अमृतले जानकारी गराएका छन् । त्यसपछि नेपथ्य अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल