काठमाडौं । माथिल्लो जातकी युवतीको जब तल्लो जात भनिएको विश्वकर्मा थरका युवासँग प्रेम सम्बन्ध जोडिन्छ । त्यसपछि त्यसले समाजमा द्वन्द्व निम्त्याउँछ । यही द्वन्द्वको आरोह अवरोहमा चलचित्र वसन्तको ४ मिनेट ५ सेकेन्ड लामो ट्रेलर केन्द्रित रहेको छ ।
शनिवार बेलुका काठमाडौँमा एक समारोहबिच यो चलचित्रको ट्रेलर रिलिज गरियो । आफूले समाजमा देखेका र भोगेका समस्याहरूलाई कथानक रूपमा यो चलचित्रमा प्रस्तुत गरेको यसमा अभिनेता एवम् निर्देशक, संगीतकार प्रकाश सपुतले कार्यक्रममा बताए ।
ट्रेलरमा विद्यालयमा अध्ययनरत किशोर किशोरीहरूबिच सुरु भएको अन्तरजातीय प्रेम सम्बन्धले नेपाली रूढीवादी समाजमा ल्याउने समस्या र प्रतिक्रियालाई देखाइएको छ । ट्रेलरले यो चलचित्र जनयुद्ध कालिन समयको रहेको पनि प्रस्ट्याएको छ । किनकि ट्रेलरका एक दृश्यमा जातीय विद्रोहका लागि अभिनेत्री स्वस्तिमा खड्का माओवादी छापामार बनेको देख्न पाइन्छ ।
चलचित्र वसन्त यही २२ चैतबाट देशव्यापी रूपमा रिलिज हुँदै छ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने यो चलचित्रमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिवान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय छ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यो चलचित्रको कथा, पटकथा र संगीत स्वयं निर्देशक प्रकाश सपुतले तयार पारेका छन् । चलचित्रमा विपन्न विश्वकर्मा समुदायको छोराले लेखक बन्नका लागि गरेको संघर्ष र जातीय विभेदको कथा प्रस्तुत गरिएको निर्माण पक्षको कथन छ ।
यो चलचित्रको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहरा हुन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन् ।
गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं, र तराईका विभिन्न स्थानहरूमा छायांकन गरिएको यो चलचित्रको छायांकार सुसन प्रजापति हुन् । चलचित्रलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछन् ।