पोखरा । कृषि विकास बैंक कर्मचारी संघ नेपाल अध्यक्षमा छगेन्द्र आचार्य सर्वसम्मत् निर्वाचित भएका छन् । संघको १० औं केन्द्रीय परिषद्ले आचार्यको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत् चयन गरको हो ।
उपाध्यक्षमा पुष्कर कोइराला, नरहरिप्रसाद ढकाल र रामसेवक साह तथा महासचिवमा लेखराज घिमिरे, उपमहासचिवमा केशव पोखरेल, सचिवमा शोभा राना, सीता खड्का, गोकुल खत्री, मणि ढुंगाना र खगेन्द्र भण्डारी, कोषाध्यक्षमा अस्मिता पन्त, सहकोषाध्यक्षमा लोकप्रसाद गौतम र कार्यालयसचिव विजय पौडेल छन् । रिक्त वरिष्ठ उपाध्यक्ष चयन हुन बाँकी रहेको कृषि विकास बैंक कर्मचारी संघका गण्डकी प्रदेश अध्यक्ष सन्तोष थापाले बताए ।
परिषदको सोमबार नेकपा (एमाले) महासचिव शंकर पोखरेलले उद्घाटन गर्दै बैंकिङ क्षेत्र सवल बनाउन ऋणीको कागज र मनोविज्ञान दुवै पढ्न कर्मचारीलाई सुझाव दिएका थिए । उनले नेपालमा अहिले लोकतन्त्रमाथि नै हमला हुने गरेको उल्लेख गर्दै पलायन भइसकेको राजतन्त्र फर्किन्छ भन्नु दिवास्वप्नमात्र हो भने
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य दामोदर बैरागी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, कृषि विकास बैंक गण्डकी प्रदेश निर्देशक धनेन्द्र अधिकारी, संघका वरिष्ठ उपाध्यक्ष छगेन्द्र आचार्य र महासचिव लेखनाथ घिमिरे, कृषि विकास बैंक कर्मचारी युनियनका सोम गुरुङ, कृषि विकास बैंक कर्मचारी संगठनका अध्यक्ष इन्द्रमणि ढुंगानालगायत बोलेका थिए ।
सो अवसरमा संघका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा भोजराज भट्टराई, ताराखर अधिकारी, रविप्रसाद पाठक, जीवनाथ बस्याल, ध्रुवराज खनाल, कुलप्रसाद शर्मा, मोहिनी खनाल तथा बैंकका उपमहाप्रबन्धक दीर्घबहादुर अधिकारीलगायत छन् ।
संघका प्रदेश कमिटीमध्ये कार्य संचालनका हिसाबले मुख्य कार्यालय काठमाडौं पहिलो, बागमती दोस्रो र कोशी प्रदेश तेस्रो हुँदै सम्मानित भए । शाखामध्ये झापा, महोत्तरी, बारा, धादिङ, काठमाडौं, नवलपुर, रुपन्देही, बाँके, जुम्ला, कञ्चनपुर सम्मानित भए ।
यस्तै, संघमा आबद्ध २१ जना आजीवन सदस्यलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको संघ अध्यक्ष लीला जिसीले बताइन् । परिषद्मा देशभरबाट ६ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षकले भाग लिएका थिए ।






