ज्ञानेन्द्र शाहले जिम्मेवारी लिऊन् !

गत १५ चैतका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाको संगमस्थल र हवाई नाकाका दृष्टिले नेपालको प्रवेशद्वार तीनकुने रक्तरञ्जित भयो । दुई श्रमजीवी युवाले ज्यान गुमाए भने कैयन्को जीवनको गति केही समयका लागि अवरुद्ध भएको छ । कतिपय रोजगारस्थल क्षतविक्षत भएका छन् , व्यक्तिगत सम्पत्ति नष्ट भएका छन्, सार्वजनिक स्थल कुरूप बन्न पुगेका छन्, राजनीतिक दलका कार्यालय क्षतिग्रस्त भएका छन् र सञ्चारगृहहरू आक्रमणमा परेका छन् । गुमेको जीवन फर्किने कुरै भएन । आहत मानव शरीर गतिमा फर्कन र भौतिक क्षतिका घाउ पुर्न कति साधन स्रोत र समय लाग्ने हो ? मूल्यांकन होला नै । प्रश्न उठ्छ, यस्तो किन भयो र कसका कारण भयो ?

स्वाभाविक रूपमा प्रश्नको घेराको पहिलो निसानामा राज्य अथवा शान्ति सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षा निकाय नै पर्छ । सरकारका तर्फबाट आएको पहिलो प्रतिक्रियामा भनियो, ‘यो हदको अराजक काम हुन्छ भन्ने अनुमानै भएन ।’ सरकारको सम्पूर्ण ध्यान त्यस दिन काठमाडौंमा हुन गइरहेको परस्पर विरोधी दुई प्रदर्शनलाई प्रत्यक्ष भिड्न नदिएर मुठभेड रोक्नेतर्फ रह्यो । यो लक्ष्य प्राप्तिमा सरकार सफल रह्यो । अनि, दुवै तर्फबाट अनुशासन र संयमको पालना हुन्छ र प्रदर्शनकारीहरू र सरकारबीचको ‘समझदारी’ कायम रहन्छ भन्ने विश्वास गरियो । भृकुटीमण्डपमा आयोजित तुलनात्मक रूपमा धेरै ठूलो भीड संयमित देखियो भने तीनकुनेको समूह अराजक बनिदियो । यस परिस्थितिमा गल्ती कसको ? तीनकुनेको प्रदर्शनको नेतृत्ववर्ग निश्चित रूपमा जिम्मेवार छ । तर, यत्रो ठूलो दाबीसहित प्रचारप्रसार गरिएको प्रदर्शनका सहभागी वा वातावरणका ’boutमा लुकेको सूचना संकलन गर्न नसक्ने संयन्त्रको घोर असफलता हुँदै हो । राष्ट्रिय अनुसन्धान नाम गरेको वा अन्य खुफियातन्त्र अथवा सूचना संयन्त्रको चरम लापरबाही हो र निष्पट बेकम्मापन हो । भन्नैपर्ने हुन्छ, गरिब नेपालीको रगत पसिनाको करले यस्ता नालायकलाई किन पालिराख्ने ? यस्तो संयन्त्रको व्यापक पुनर्संरचना जरुरी देखिन्छ ।

अब आयो प्रश्न यो वितण्डाका लागि खास जिम्मेवार को हो त ? कानुनका चिसा अक्षरले र विधिले यस सम्बन्धमा आवश्यक निक्र्यौल गर्ला नै । ‘चिसा अक्षर’ भन्ने पदावली प्रयोग किन गरिँदै छ भने कानुनले अक्षरले परिभाषित गरेअनुसार प्रमाणलाई मात्र आधार मान्छ । त्यस्तो परिस्थितिमा स्वयं न्यायाधीशले व्यक्तिगत तहमा दोषी भनेर चिनेका व्यक्ति पनि दोषमुक्त घोषित हुन सक्छन् । त्यसैकारणले होला भनिन्छ, ‘कानुन अन्धो हुन्छ’ । के यो प्रकरणमा कथित कमान्डरहरू नवराज सुवेदी, दुर्गा प्रसाईं, रवीन्द्र मिश्र वा धवलशमशेर राणा जिम्मेवार हुन् त ? यहाँ अन्य सहायक मानिएका पात्रहरूको नाम उल्लेख गरिएन । सडकको क्रियाकलापका कारण गिरफ्तार भएका वा अब गिरफ्तार हुने ज्ञात अज्ञात पात्रहरूका ’boutमा पनि कुरा गरिरहन परेन । कानुनको सीमा र परिधिभित्र रहेर नै उल्लिखित पात्रहरूको भूमिकाका आधारमा फैसला होला । सबैले वितण्डामा खेलेको भूमिकाअनुसार सजायको भागी हुनुपर्छ वा सफाइ पाउनुपर्छ ।

कानुनले जेसुकै भने पनि वा कानुनका चिसा अक्षरले जेजस्तो परिभाषा गरे पनि पूर्वराजा ज्ञानेन्द्र शाह यो उत्पातका लागि कुन हदसम्म जिम्मेवार छन् त भनेर प्रश्न गर्नचाहिँ पक्कै पाइन्छ । यो कथित आन्दोलनका जनक वा खास नेता को हो भन्ने राजनीतिक प्रश्न उठाउन पाइन्छ । थोरै पनि राजनीतिक समझ राख्ने जो कोहीले पनि सायद कथित ‘राजसंस्था पुनःस्थापना अभियान’को नेता को हो भन्ने प्रश्नको जवाफमा एउटै नाम लिनेछन्– ज्ञानेन्द्र शाह ! यो ठीक हो वा होइन भनेर बहस गरिरहनुको कुनै औचित्य छैन । कथित राजावादीहरू स्वयं पनि पूर्वराजालाई कथित राजसंस्था पुनःस्थापना अभियानका नेता होइनन् भन्न सक्दैनन् । समग्रमा आमजनताका नजरमा ज्ञानेन्द्र शाह नै यस आन्दोलनका नेता हुन् ।

कानुनका अक्षरहरूका दृष्टिमा ज्ञानेन्द्र शाह ‘दोषमुक्त’ पनि हुन सक्छन् । अदालतमा मुद्दा चल्दा प्रत्यक्ष चिनिएका हत्याराले आफू अस्पतालमा भर्ना रहेको ‘प्रमाण’ पेस गरेर बरी भएका अनौठा घटनाहरू सुनिन्छ नै । सानो उदाहरण लिऊँ । हिजै मात्र काठमाडौं महानगरपालिकाले ज्ञानेन्द्र शाहलाई नगरको सार्वजनिक सम्पत्ति कुरूप पारेको वा बिगारेको आरोपमा पत्र काटेको छ । राजा आयोजक हो र ? भन्दै नगरप्रमुखलाई कानुन पढाउने उपक्रम सुरु भइसकेको छ । कानुनका चिसा अक्षरका आधारमा त ज्ञानेन्द्र शाह दोषी होइनन् पनि होला ! तर, नगरप्रमुखको पत्र कानुन सम्मत नभए पनि राजनीतिक दृष्टिले एकदमै ठीक छ । अब ज्ञानेन्द्र शाहले ‘म यस घटनामा पटक्कै संलग्न नभएको र मेरो सहमति पनि नभएको हुँदा जरिवाना तिर्दिनँ’ भन्न अवश्य पाउँछन् । आगजनी, लुटपाट र तोडफोडका अन्य आरोपमा पनि यस्तैखाले रवैया अपनाउन उनी स्वतन्त्र छन् । ज्ञानेन्द्र शाहले विगतमा यस्तै प्रकारले कानुनलाई झुक्याएर आफ्ना छोरालाई ‘दोषमुक्त’ गरेकै हुन् । प्रविण गुरुङका हत्यारा ज्ञानेन्द्रपुत्र पारस थिए भन्ने कुरो निर्विवाद छ । तर, कुनै छद्मपात्र सवारीचालक खडा गरेर पारस दोषमुक्त भए । अहिले त कैयन् ‘ड्राइभर’ तयारै छन् होला ।

ज्ञानेन्द्र शाहले ‘ड्राइभर’को सहारा लिएर छुट्ने निर्णय गरे भने उनको राजनीतिक बैधता भने पुरै समाप्त हुनेछ । त्यस्तो अवस्थामा उनका ‘टुहुरा’ बन्न पुगेका भक्त अनुयायीहरूको प्रतिक्रिया कस्तो होला वा अवस्था कस्तो होला ! तर, ज्ञानेन्द्र शाह भविष्यमा राजा हुन उद्यत वा राजनीतिको मियो बन्न इच्छुक राजनीतिक व्यक्ति हुन् भने हाम्रो सल्लाहचाहिँ उनले यो तमाम वितण्डाका लागि जिम्मेवारी स्विकारून् भन्ने हो । यति गर्नसके उनको राजनीतिक भविष्य सुरक्षित हुने सम्भावना रहन्छ । वास्तविकता पनि यही हो कि यी तमाम अपराधकर्मको मूल जड उनै हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 377 times, 1 visits today)

epaper

ताजा समाचार

सुपर ओभरमा युएईसँग नेपाल पराजित, यु-१९ एसिया कपमा स्थान सुरक्षित