पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरामा शनिबारदेखि दोस्रो संस्करणको ‘केपी ओली कप टि–२० राष्ट्रिय खुल्ला पुरूष क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । यही ३० चैतसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा चल्ने प्रतियोगिताको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरे ।
प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । पहिलो दिन २ खेल भए । घरेलु पोखरा महानगरपालिका र स्याङ्जा क्रिकेट क्लबबीच भएको पहिलो खेल २३ रनले हराउँदै स्याङ्जाले जित्यो । १६२ रनको विजयी दिएको पोखरालाई १३८ रनमा रोक्दै स्याङ्जाले विजयी सुरुवात गरेको हो । पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रनमात्रै जोड्न सक्यो ।
दोस्रो तथा उद्घाटन खेलमा सिइसी क्रिकेट क्लब काठमाडौं विजयी भयो । उसले हेटौडा एसएलाई ११ रनले हराएको हो । १५२ रनको विजयी लक्ष्य पाएको हेटौडा २० ओभरमा १४० रनमै अलआउट हुन पुग्यो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरूङले खेलकुदको माध्यमबाट गण्डकी प्रदेशलाई पर्यटनको प्रवद्र्धन गर्न सकिने बताए ।
राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्ष एवं एकेडेमी अध्यक्ष ध्रुव आचार्यले ग्रास रुटबाटै खेलाडी उत्पादनमा सहयोग पुग्ने हिसाबले प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।
गत वर्ष प्रदेश तथा विभागीयसहित १२ टिमले भाग लिएका थिए । जसमा मधेश प्रदेशले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो । विजेताले ५ लाख र उपविजेताले साढे २ लाख प्राप्त गरेकामा यसपालि पुरस्कार राशितसमेत बढाइएको छ ।
विजेताले १० लाख र उपविजेताले ५ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । म्यान अफ दि सिरिजले ३० हजार, वेष्ट बलर, बेष्ट व्याटरले १०÷१० हजार र म्यान अफ दि म्याचले ५ हजार साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनायो । खेल लिग कम नक आउटका आधारमा खेलाइने छ । प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने एकेडेमी सचिव कृष्ण तिमिल्सिनाले बताए ।






