…अनि सुनीलले गरे कुवेतमा प्रेमिकाको हत्या

काठमाडौं । कुवेतमा एक नेपाली महिलाको हत्या भएको छ । मंगाफस्थित एक आवासीय भवनमा बस्दै आएकी रोजिना राईको हत्या भएको हो । करिब ५ महिनाअघि मात्र कुवेत पुगेका रोजिनाको प्रेमी भोजपुर घर भएका सुनिल राईले धारिलो हतियार प्रहार गरी उनको हत्या गरेका हुन् ।

कुवेतमा रहेका सामाजिक अभियन्ता घनश्याम थापा मगरले प्रेम सम्बन्धमा खटपट आएपछि सुनिलले रोजिनाको हत्या गरेको हुनसक्ने बताए । प्रेम सम्बन्धमा खटपट भएपछि रोजिनाले अर्कै प्रेमीसँग सम्बन्ध जोडेको रिसमा सुनिलले मादक पदार्थ सेवन गरेर चक्कु र पेचकस प्रहार गरेर हत्या गरेको अभियन्ता थापाले बताए ।

हत्या अभियुक्त सुनिल र रोजिनाबीच विगत ६ वर्षदेखि प्रेम सम्बन्ध थियो । रोजिनाकै योजनाअनुसार कुवेत पुगेका सुनिल डेलिभरी कम्पनीमा कार्यरत थिए । प्रेमिकाले समय नदिएको, फोन सम्पर्क गर्दा बाहिर छु भनेर झुक्क्याउने गरेको कारण उनी रिसले आगो बनेका थिए । त्यसपछि उनले हत्या योजना बनाएका थिए ।

बिहीबार रोजिना मंगाफस्थित साथीको कोठामा थिइन् । उनले सुनिललाई फेसबुक म्यासेन्जरमा ब्लक गरेकी थिइन् । आफ्नो प्रेमिका त्यहाँ गएको निश्चित भएपछि हत्या गर्ने योजनासहित उनी आफू बस्ने ठाउँ फाहिलबाट चक्कु र पेचकस लिई अन्य दुई साथीलाई साथ लिएर मंगफमा रोजिनको कोठामा पुगे ।

कोठामा घण्टी बजाउँदा ढोका नखोलेपछि उनले ढोकामा लात्ताले हान्न थाले । अति भएपछि रोजिनाले धोका खोलिन् र उनीहरू दुवैबीच वादविवाद बढ्दै गयो । त्यसपछि धारिलो हतियार चक्कु प्रहार गरेर रोजिनाको विदेशी भूमिमा ज्यान लिए ।

अहिले उनलाई कुवेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनले प्रेम सम्बन्धमा खटपट भएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

सामान्यतया कुवेतमा हत्या गर्नेलाई मृत्युदण्ड दिने कानुन छ । अब मृतकको परिवारले ब्लडमनी स्वीकार नगरे उनलाई पनि त्यहाँ मृत्युदण्ड दिइनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 730 times, 1 visits today)

epaper

ताजा समाचार

खैरो हेरोइनसहित चार जना पक्राउ