पिताम्बरमा मल्टिस्टारसँग काम गर्न प्रदीपले मोले चुनौती

काठमाडौं । प्रदीप खड्का हरेक चलचित्रमा आफ्नो फरक भूमिका निर्वाह गर्ने अभिनेताका रुपमा परिचित छन् । उनले नियमित चरित्र भन्दा पर हटेर तीन वर्ष अघि चलचित्र प्रकाशमा दुर्गम जिल्लाको अस्थायी शिक्षकको भूमिका निर्वाह गरेका थिए । यी अभिनेताले त्यसपछिबाट चलचित्रको चरित्रलाई गम्भीर रूपमा लिने गरेका रहेछन् । प्रकाशपछि आफूले निर्वाह गर्ने चरित्रलाई कम्तीमा पनि तीन महिनाको तयारी गर्न थालेको प्रदीपले बताएका छन् ।

यिनै अभिनेताको यति बेला महत्वकांक्षी चलचित्र ‘पिताम्बर’ २९ चैत शुक्रवारबाट रिलिज हुँदै छ । यो चलचित्रमा आधा दर्जन त अहिलेका चल्तीका अभिनेता छन् । तिनीहरू भन्दा राम्रो काम गर्नु पर्ने चुनौती प्रदीपलाई यो चलचित्रमा थियो । त्यसैले अन्य चलचित्रको भन्दा पिताम्बरमा काम गर्दा बढी नै मेहनत गर्नु परेको पनि उनले राजधानीलाई बताए ।

हुन पनि यो चलचित्रमा प्रदीपसँगै दयाहाङ राई, आर्यन सिग्देल, सौगात मल्ल, अनुप विक्रम शाही, दिब्यदेव पन्त, गौरव विष्ट, प्रमोद अग्रहरी, कामेश्वर चौरसिया जस्ता थुप्रै स्टार अभिनेताहरू छन् । यसरी एउटै चलचित्रमा मुख्य अभिनेताहरू नै यति धेरै हुँदा आफूलाई काम गर्न थप चुनौती भएको पनि प्रदीपले बताए ।

‘उमेर र एक्सन दुवै कुरालाई मूल्याँकन गर्दा म यो चलचित्रमा अन्तरे, जन्तरेमा पर्छु होला, किनकि यसमा जेठा माइला, साइँला श्रेणीमा अरू कलाकार भए पनि अभिनयको हिसाबले मैले अब्बल हुन कोसिस गरेको छु जस्तो लागेको छ ’, अभिनेता प्रदीपको भनाइमा उनले लामो समयपछि यो चलचित्रमा एक्सन प्रधान भूमिका निर्वाह गरेका रहेछन् । जसका लागि उनले शारीरिक रूपमा पनि आफूलाई त्यत्तिकै तयारी गर्नु परेको थियो । चलचित्र पिताम्बरको यो शिर्ष चरित्रको लागि आफूले केही समय फाईटको प्रशिक्षण समेत लिएको उनले जनाए ।

यो चलचित्रमा प्रदीपले बोलेको थुप्रै संवाद यति बेला भाइरल भई रहेका छन् । पिताम्बरमा आफ्नो चरित्र’bout अभिनेता प्रदीपले राजधानीसँग भने,‘एउटा घाइते सिंहको रूपमा म यो चलचित्रमा बिम्बित भएको छु । आफ्नो श्राद्ध आफैँले गरेर मैदानमा उत्रिएको मेरो चरित्रको उद्देश्य के होला भनेर यहाँहरूले पक्कै ट्रेलर हेरेर अनुमान लगाउन सक्नु भएको छ ।’

प्रदीपको कथनमा विगतका चलचित्रमा उनलाई चरित्रको तयारी गर्न त्यत्ति गाह्रो थिएन । किनकि प्रकाश, पुजार सार्की जस्ता चलचित्रमा स्थानीय लवजको तयारीसँगै चरित्रको शारीरिक र मानसिक स्वरूप आफैँ बन्दै गरेको थियो । तर यस पटक त्यो भन्दा बढी चुनौती भएको पनि यी अभिनेताले खुलाए । प्रदीपको भनाइमा आफैले आफ्नो श्राद्ध गरेर आएको पात्र जीवनमा कुनै पनि हदसम्म जान सक्छ । बाल्यकालदेखि बदलाको भाव बोकेर अघि बढेको चरित्रले जीवनमा त्यो कुराको बदला दिन के केसम्म गर्न सक्छ भन्ने कुरा आफ्नो चरित्रबाट यसमा देखाउन लागेको पनि प्रदीपले बताए ।

पिताम्बर चरित्रको मानसिक अवस्था’bout उनले भने,‘आफ्नो शत्रुसँग बदला लिन २० वर्ष कुरेको एउटा पात्रको धैर्यतासँगै उसमा मानसिक उतार चढाव कतिसम्म हुन्छ होला भन्ने आन्तरिक द्वन्द्व भाव मैले पिताम्बरमा प्रस्तुत गर्नु आफैँमा ठुलो चुनौती थियो । यसरी २० वर्ष कुरेर बल्ल भेटेको शत्रुमाथि आक्रमण गर्न अझै धेरै कुर्नु पर्दा कतिसम्म गाह्रो हुन्छ होला भन्ने कुरा यसमा छ’, सोही कारण पनि यो चलचित्रमा आफूले निर्वाह गरेको चरित्रलाई मानसिक रूपमा न्याय दिन आफूलाई बढी चुनौती भएको पनि उनले बताए ।

प्रदीपको कथनमा पिताम्बर भनेको भगवान् विष्णुको एउटा स्वरूप हो । विष्णुले फरक फरक अवतार लिएर अन्याय गर्नेहरूलाई विनाश गरेका छन् । जसमध्ये पिताम्बर पनि एउटा स्वरूप भएको पनि उनले प्रस्ट्याए । चलचित्रमा आफ्नो चरित्र पनि भगवान् विष्णुको स्वरूप मध्यको एउटा स्वरूप पिताम्बर भएको पनि यी अभिनेताले खुलाए । यो चलचित्रकी निर्देशक कृषा चौलागाई महिला भए पनि उनको सोच र कार्यशैली पुरुष जस्तो सशक्त भएको अनुभव पनि प्रदीपले सुनाए । एउटा महिला निर्देशकले यति धेरै स्टार कलाकारलाई समेटेर ठुलो क्यानभासमा सबैलाई न्याय दिन सक्नु प्रशंसनीय कार्य भएको पनि प्रदीपले बताए ।

यी अभिनेतालाई यो चलचित्रको कथा सुन्ने बित्तिकै सुरुमै आफ्नो चरित्र मन परेको थियो । त्यसमा पनि थुप्रै मल्टिस्टार कलाकार भएको जानकारी पाएपछि काम गर्न अझ उत्साह बढेको अनुभव उनले राजधानीलाई सुनाए । सोही कारण पिताम्बरको लागि दिन दुई गुना रात चौगुना तयारी गरेको पनि प्रदीपले जानकारी गराए । नवलपरासीमा छायांकन गरिएको यो चलचित्रको लागि प्रदीपले स्थानीय लवज पनि ग्रहण गरेका रहेछन् । यसरी हेर्दा पिताम्बरकै लागि एक्सनमा फाईटको प्रशिक्षण, अभिनयमा स्थानीय लवज र चरित्र निर्माणको लामो अभ्यास उन गर्नु परेको थियो । एउटा चरित्रको लागि बहुपक्षबाट आफूलाई तयार गर्नुले पनि धेरै कुराको अनुभव उनले लिने अवसर यो चलचित्रबाट पाएका रहेछन् ।

प्रदीप अहिले २९ चैतको तीव्र प्रतीक्षामा छन् । यसपछि उनी नयाँ चलचित्र ऐरीको छायांकनमा जोडिने भएका छन् । नेपालमै पहिलो पटक यति धेरै स्टार कलाकारहरूले काम गरेको यो चलचित्रले सफलता हासिल गर्दा धेरै कलाकार लिएर ठुलो क्यानभास र ठुलो लगानीमा चलचित्र निर्माण गर्न आउँदा दिनमा निर्माताहरुलाई थप प्रेरणा मिल्ने प्रदीप बताए ।

तपाइको प्रतिक्रिया
(Visited 77 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति